नेपाल फिलिपिन्ससँग पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली फिलिपिन्ससँग एक-शून्यको हार व्यहोरेको छ । बिहीबार राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले गोल व्यहोर्‍यो । फिलिपिन्सको जितमा जार्भे गायोसोले ४९औं मिनेटमा निर्णायक गोल गर्नुभयो ।

फिलिपिन्सविरुद्ध नेपाली टोलीमा डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बूले राष्ट्रिय टोलीमा डेब्यु गर्नुभयो । भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपको तयारीअन्तर्गत नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो ।

भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यसपटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा साफ खेल्ने छन् । साफमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग र तेस्रो खेल १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?