७४ वर्षको उमेरसम्म नागरिकताविहीन तामाङ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । धादिङको धुनीबेंसी नगरपालिका-७ स्थित चिसापानीका मोटे तामाङ नेपाली नागरिकताको पखाईमा हुनुहुन्छ । नागरिकताकै पखाईमा बाटो कुरेर बस्नुभएका तामाङ ७४ वर्ष पुग्नुभयो । तर, उहाँले हालसम्म नागरिकता पाउनुभएको छैन । सानो उमेरमै आमाबुबा गुमाउनुभएका तामाङ नेपाली नागरिकता नै पाउनबाट वञ्चित भएको हो । नागरिकताकै कारण अहिले तामाङले नेपाल सरकारले दिने वृद्धा भत्तासमेत पाउन सक्नुभएको छैन । तामाङ भन्नुहुन्छ, ‘उमेर बढ्दै गएको छ । पिण्ड खाने बेला भइसक्यो नागरिकता छैन । म एक्लै छु मेरो कोही छैन । बुढेसकालमा साहारा दिने कोही छैन । म त घरको न घाटको भए । म अनागरिक भए । साहारा कसको लिने । म डाँडामाथिको घाम हुँ कहिले संसारबाट बिदा हुन्छु थाहा छैन । जतिञ्जेल यस धर्तीमा रहन्छु त्यतिन्जेलसम्म नेपाली नागरिकताको आशामा नै रहन्छु गहभरी आँसु पार्दै तामाङले गुनासो व्यक्त गर्नुभयो । सतीले सरापेको देशमा गरिबको पीडा सुन्न को आउँछन्, निर्वाचनको समयमा भएको भए भोटको लागि नेताहरू आउने थियो होला अहिले मेरो पीडा कसले सुन्छ उहाँको भनाइ छ ।’

बुढेसकाल लागेपछि तामाङले विगत आठ वर्षदेखि आँखासमेत देख्दैनन् । घरमा को आयो के गर्‍यो त्योसमेत थाहा पाउन सक्दैन । त्यति मात्र होइन एक मुठी गाँस खान छिमेकीसमक्ष माग्न जानसमेत सक्दैन, कमाउने कुरा त सपना मात्र हो । कागलाई बेल पाक्यो हर्ष र विस्मात भनेझैँ, तामाङलाई पनि त्यस्तै भएको छ । तामाङको यस्तो समस्या देखेर धुनीबेंसी नगरपालिकाले केही खाद्यान्न सहयोग गर्दै आएको छ । बाल्यकालमै आमाबुबा गुमाउनुभएका तामाङले विवाहसमेत गर्नुभएको छैन । परिवारमा कोही छैन आफ्नो दिदी बहिनीसमेत बितिसकेको तामाङले बताउनुभयो । अब मेरो अन्तिम चाहना भनेको नै नेपाली नागरिकता बनाउने र देशको नागरिक बन्ने हो अनि आफूलाई बाँच्ने आधार मिल्ने उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय धादिङले विगतका वर्षहरूमा गाउँगाउँमा पुगी नेपाली नागरिकता बनाउने अभियान नै सञ्चालन गरेको थियो । तर, यो अभियान दीर्घकालीन रूपमा हुन सकेन । जसले गर्दा वृद्धा, अपांगता भएका व्यक्तिहरूले नागरिकता पाउनबाट वञ्चित भएका छन् । प्रशासन देखावटी रूपमा मात्र यो अभियान सुरु गरेको स्थानीयहरूको भनाइ छ ।

तामाङको घरमा न प्रशासन कार्यालय पुग्यो न त अन्य निकायहरू नै । अरूकै जग्गामा अस्थायी टहरा र अरूकै भरमा बाँचेका तामाङसँग समस्यामाथिको समस्या नै छन् । यस विषयमा धुनीबेंसी नगरपालिकाका नगर प्रमुखसमक्ष बस्दा हामीले तामाङको नेपाली नागरिकता बनाउने प्रयास गरिरहेका छौँ । अब केही समयमै नागरिकता बन्न सक्ने बताउनुभयो । तर, उहाँले नागरिकता कहिले बन्छ भन्ने मिति नै तोकेर चाँहि भन्न सक्नुभएन । ‘उहाँको नागरिकता पहिले बनेको छ कि छैन त्यो छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘उहाँले कहिले एउटा नाम भन्नुहुन्छ कहिले अर्काे । नाम यही हो भन्ने पक्का नहुँदा यसभन्दा पहिले नागरिकता बनेको हेर्न पनि गाह्रो भएको छ । प्रशासनमा उहाँको नागरिकता बनाइदिने एक चरण सल्लाह भइसकेको छ ।’ त्यस्तै, वृद्धवृद्धा तथा अपांगता भएकाहरूका लागि गाउँमै पुगेर नागरिकता दिन सकिने धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?