बुढीगण्डकी आयोजनाको शिलान्यास असारभित्रै : प्रधानमन्त्री प्रचण्ड

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास असार महिना भित्रै गर्ने बताउनुभएको छ । आज धादिङको गजुरी स्थित आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।

आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको र आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको बताउनु भएको हो । उहाँले भन्नुभयो, “हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।” उहाँले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्नेलगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो ।

आगामी पाँच वर्षसम्म यही गठबन्धन रहने दाबी समेत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले १८औँ शताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोचि तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि आफ्नो ध्यान राम्रो गर्दै जानेतर्फ रहेको स्पष्ट पार्नुभयो । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ छ । आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउनुहुँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ ।

सोहि समारोहमा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अनुसन्धान र खोजलाई केन्द्रित गर्ने गरी नयाँ विश्वविद्यालय स्थापनाका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले धादिङ जिल्लाको शैक्षिक प्रगतिका लागि यो संरचनाले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले सामुदायिक क्याम्पसका लागि सरकारको अनुदान कम भएकाले सञ्चालनका लागि समस्या भएको बताउनुभएको थियो । सो भवन भारत सरकारको अनुदान सहयोगमा निर्माणमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?