म्याग्दीमा मल र पानीको अभावले रोपाइँमा समस्या

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । मध्य असार हुनै लाग्दा पनि मल र पानीको अभावले म्याग्दीका किसानले धान रोपाइँ गर्न सकेका छैनन् । धान रोप्ने बेलासम्म पनि पर्याप्त पानी नपरेको र रासायनिक मल नपाइएकोले किसानहरु समस्यामा परेका हुन् ।

व्याडमा बिऊ हुर्केर छिप्पिन लागेको छ, रोपाइँका लागि पर्याप्त पानी पनि परेको छैन,रासायनिक मल पनि बजारमा अझै पाइएको छैन, विमिराबोटका किसान नारायण सापकोटाले भन्नुभयो “मल पनि पाइँदैन,पानी पनि आउँदैन, के गरेर रोपाइँ गर्ने हो ?”

यस्तै अर्को किसान सुरेन्द्र थापा पनि मल र पानी पर्खेर बसेको बताउनुहुन्छ । “हामी किसानले वर्षैपिच्छे मल अभाव झेल्नुपरे पनि अहिलेसम्म सरकारका जिम्मेवार पदमा रहेकाहरुले दीर्घकालीन समाधान खोजेका छैनन् । सरकारले मल दिँदैन,समयमा पानी पनि पर्दैन, जताततैबाट किसान मारमा परेका छौं ।”

जिल्लामा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब २५ हजार मेट्रिक टन मल आवश्यक पर्ने कृषि प्राविधिकहरुले बताएका छन् । धान बालीका लागि कम्तिमा १२ हजार मेट्रिकटन मल चाहिने भए पनि धान रोपाइँकै समयमा जिल्लामा मल अभाव भएको किसानहरुले बताएका छन् ।
जिल्लाका माथिल्लो भेगका केही फाँटमा असारको पहिलोहप्तादेखि नै बिना मल रोपाइँ सुरु भएको भए पनि अहिले पानीको समस्याका कारण अरु ठाउँमा रोपाइँ हुन सकेको छैन । ‘‘रोपाइँका लागि खेत तयारी अवस्थामा राखेका छैं, बीउ, बढेर काम नलाग्ने हुन लागिसक्यो,मल पनि पाइँदैन,पानी पनि आउँदैन, आकाश हेर्दै बस्नु बाहेक हामीसंग अर्को विकल्प रहेन” बगरफाँटका कृषक मनबहादुर रेग्मीले बताउनुभयो ।
जिल्लाका उपल्लो क्षेत्रमा फाट्टफुट्ट रोपाइँ भएको छ तर,तल्लो भेगमा पानी र मलको अभावका कारण रोपाइँ हुन नसक्दा यस वर्ष धान उत्पादनमा कमी आउनसक्ने किसानहरुको भनाइरहेको छ ।

मलको अभावमा यस वर्ष मकै खेती पनि राम्रो नभएको र धान रोप्ने समयमा पनि पानी नपरेकोले विना मल धान रोप्न खोज्दा पनि पानीको अभावमा किसानहरुले रोपाइँ गर्न नपाएका कृषक भीमबहादुर रिजालले बताउनुभयो ।

म्याग्दीमा कुल खेतीयोग्य जमिनको ६३ प्रतिशत जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँको उत्पादनले मुस्किलले ६ महिना खान पुग्छ भने बाँकी ६ महिना बाहिरबाट आयातित खाद्यान्नको भरपर्नु पर्ने बाध्यता रहेको छ ।

“नेताहरुले सधैं कृषिलाई औद्योगिकीकरणतिर लैजाने बताउँछन् तर किसान मल र सिँचाइको समस्यामा अल्झिन बाध्य छन्”कृषक रिजालले भन्नुभयो ।

“देशमा ११७ प्रतिशतसम्म महंगी बढेको छ,किसानले उब्जाउ गरेको तरकारी,फलफूल र खाद्यान्नमा विचौलियाहरुले फाइदा लिएका छन्” दरवाङका व्यवसायी हिरा सिउथानीले भन्नुभयो “न किसानले समयमा नै मल बीऊ पााउँछन्, न आकासबाट सिजनमा पानी नै पर्छ यस्तो अवस्था कहिलेसम्म रहनेहोला ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?