एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई साई हस्पिटलको साथ

हिमालय टाइम्स
Read Time = 5 mins

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई भारतको हल्द्धानीमा रहेको साई हस्पिटलले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा साई हस्पिटल हल्द्धानीले साथ दिएको हो । साई हस्पिटल हल्द्धानी भारतका प्रबन्ध निर्देशक क्याप्टेन डाक्टर मोहन सती र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

साई हस्पिटल हल्द्धानी भारतले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ । धनगढीमा उपलब्ध नभएका विशेषज्ञ स्वास्थ्य सेवाहरू अस्पतालले दिँदै आएको छ । ब्रेन हृयामरेज, प्यारालाइसिस, मुटुको समस्या, एनजिओग्राफी एवं एनजिओपाष्ट्रीलगायतका आधुनिक स्वास्थ्य सेवाहरू अस्पतालले दिँदै आएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरूको मनोनयन सार्वजनिक गरेको छ । वर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी, कबड्डीका प्रकाश गिरी, वर्षको उत्कृष्ट खेलाडी महिलामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी वर्षा ओली मनोनयनमा पर्नुभएको छ ।

वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतम मनोनयनमा पर्नुभएको छ । वर्ष युवा खेलाडीमा भारोत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा पर्नुभएको छ । सुदूरपश्चिम आइकन पुरुष विधामा फेस्निंगका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदूरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा पर्नुभएको छ ।

६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रममै सम्मान गर्ने जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्डमा मनोनयन नहुने भएकाले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको हो ।

चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘चौथो एसपिए सुदूरपश्चिम स्पोटर््स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?