कानुनी र प्रक्रियागत सुधारमा जोड

Read Time = 4 mins

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपालमा लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानुनी र प्रक्रियागत सुधार विषयमा नीतिगत संवाद आयोजना गरेको छ । युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभेनसको प्राविधिक सहयोगमा नेपालमा लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानुनी तथा प्रक्रियागत सुधारसम्बन्धी नीतिगत संवादको आयोजना गरेको हो । संवाद मुख्यतया नीतिगत र प्रक्रियागत बाधाका तीन विशेष क्षेत्रमा केन्द्रित थियो, जस्तै व्यवसायका लागि वन-स्टप सर्भिस सेन्टर, नेपाली उत्पादनका लागि अनलाइन प्रदर्शनी केन्द्र र सार्वजनिक खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता ।

पहिलो सत्र उद्यमका लागि झन्झट र सञ्चालन लागत उल्लेखनीयरूपमा घटाउन एक झ्याल सेवा केन्द्रको प्रावधानमा केन्द्रित थियो । जसमा दर्ता, नवीकरण, कर भुक्तानी र अन्य वैधानिक आवश्यकता समावेश थिए । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले विभिन्न तहका सरकारलाई दिइएको संवैधानिक भूमिका र कार्यादेशअनुसार एक झ्याल सेवा केन्द्रको छातामुनि कस्ता सेवा समेट्ने, परिकल्पना गरेका सेवा के-के हुन् भनेर पहिले परिभाषित गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।

दोस्रो सत्रमा नेपाली उद्यमको बजार पहुँच अभिवृद्धि गर्न अनलाइन प्रदर्शनी केन्द्र प्रवद्र्धनका विषयमा केन्द्रित थियो । महासंघसँगको सहकार्य र संयुक्त प्रयासलाई नेतृत्वदायी भूमिकामा नेपाली उत्पादनको बजारमा पहुँच बढाउने सम्भावित उपायमध्ये एकका रूपमा पहिचान गरिएको थियो ।

पूर्वअर्थसचिव शिशिर ढुंगानाले स्थानीय उत्पादनमा समर्पित अनलाइन प्रदर्शनी केन्द्रको प्रावधानले उपभोक्तालाई नेपालमा बनेका उत्पादन र सेवा स्पष्टरूपमा खोज्न सक्षम बनाउने बताउनुभयो । तेस्रो सत्र सार्वजनिक खरिदमा स्वदेशी वस्तुको वृद्धि गर्ने व्यवस्था कार्यान्वयन गर्न केन्द्रित थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक खरिदमा १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने विद्यमान निर्देशिका र स्पष्टतामा थप परिमार्जन गर्नुपर्ने बताउनुभयो । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले कार्यक्रम नीति निर्माता, नीति कार्यान्वयनकर्ता र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याउने सबैभन्दा अन्तरदृष्टिपूर्ण र प्रभावकारी भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?