बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका विरुवा लिएर लगाउनु भयो । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा विरुवा लगाउनु भएको छ । सुरुमा लगाएका बाइस विरुवा मध्ये दुई वटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन् । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् । दुर्गाबहादुरले स्याउका विरुवा लगाएपछि अर्नाकोटका अन्य १२ जना कृषकले पनि विरुवा लिएर लगाएका छन् ।
विरुवा सप्रिदै गएपछि धेरैको ध्यान स्याउ लगाउने तर्फ जान थालेको छ । वर्षौंदेखि गाईभैँसी र खेती किसानी गर्दै आउनु भएका ओलीले अहिले गाउँका अन्य स्थानीयलाई पनि स्याउ लगाउनु पर्छ भन्ने योजनामा पुर्याउनु भएको छ । हाल उहाँको बगानमा २७ नयाँ विरुवा र २० पोहोर साल लगाएका गरि ४७ स्याउका बोट छन् । दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन हुन्छ भन्ने पत्रिकामा पढेको भरमा ओलीले परीक्षण्का लागि स्याउ लगाउनु भएको हो । अर्नाकोट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्छ ।
ओलीले कृषि निर्देशनालय गण्डकी प्रदेशबाट ७५ प्रतिशत अनुदानमा विरुवा लिएर खेती सुरुवात गर्नु भएको हो । बागलुङमा अहिलेसम्म ढोरपाटन र निसेलढोरमा मात्रै व्यवसायिक रुपमा स्याउ उत्पादन हुने गरेको छ । निसीखोला, ताराखोलालगायतका केही ठाउँमा स्याउ लगाए पनि राम्रो उत्पादन हुन सकेको छैन । अर्नाकोटमा परीक्षणका लागि लगाएका विरुवाले फल दिन थालेपछि धेरै स्थानीय आकर्षित हुन थालेको दुर्गाबहादुर बताउनुहुन्छ । उहाँले अर्नाकोटमा सिंचाइको निकै ठूलो समस्या रहेको भन्दै यसको व्यवस्थापन हुन सके राम्रो स्याउ उत्पादन गर्न सक्ने बताउनुभयो ।
“यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिएन, यो ठाउँमा के कस्तो हुन्छ एक पटक विचार गरौँ न भन्ने हिसाबले विरुवा लिएर लगाएको, पोहोर जेठमा लगाएको अहिलेनै फल दियो, यसले हामीहरुलाई धेरै हर्षित बनाएको छ,” ओलीले भन्नुभयो - “सिंचाइको समस्याले गर्दा विरुवा बचाउन निकै गाह्राे भयो, खानेपानीको हाहाकार भएको ठाउँमा स्याउ लगायौँ, त्यही पनि विरुवा बचाउन सफल भयौँ, सरकारले यहाँ सिंचाइको राम्रो व्यवस्था मिलाइ दिने हो भने व्यवसायिक रुपमा धेरै स्याउ उत्पादन गर्न सकिने थियो ।”
स्थानीय चेतबहादुर कुँवरले पनि अघिल्लो वर्ष २७ वटा विरुवा लगाउनु भएको थियो । अहिले सबैले फल दिएको उहाँले बताउनुभयो । कुँवरले लगाएकै सालमा फूल फूल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको बताउनुभयो । स्याउका पोथी भन्दा भाले जातका विरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उहाँ बताउनुहुन्छ । गाउँमा अहिलेसम्म कसैले पनि स्याउ लगाउने सोँच नबनाएको सुनाउँदै अहिले धेरैले विरुवा खोज्न थालेको कुँवरले बताउनुभयो ।
कुँवर भन्नुहुन्छ - “यहाँ यसरी स्याउ फल्ला भन्ने पत्याएका थिएनौँ, तर अहिले चकित पार्ने गरि मसिनै बोटमा फल्यो, यसले हामीहरुलाई हर्षित बनाएको छ, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरुलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आश पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउ लगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ ।”
निसीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख तारा परियारले स्याउ फल्न थालेपछि कृषिकलाई आवश्यक प्राबिधिक तथा अन्य सहयोग गाउँपालिकाले गरि रहेको बताउनुभयो । अहिले यहाँका कृषकले तीन रोपनीमा एक सय पचास विरुवा लगाएकोमा अधिकांशले फल दिन सुरु गरेको बताउनुभयो । परीक्षण सफल हुँदै गएको भन्दै अब अन्य कृषकले पनि स्याउ खेती गर्न चाहेमा गाउँपालिकाले सहयोग गर्ने उहाँको भनाइ छ ।
“फुजी जातको स्याउ यहाँको हावापानी, वातावरण र ‘हाइट’का लागि एकदम राम्रो हुन्छ, कृषकहरुले पनि हावापानी सुहाउँदो स्याउको जात छनोट गर्नु भयो, अहिलेनै राम्रो फल देखिएको छ, यसको परीक्षण सफल हुन्छ भन्नेमा हामीहरु ढुक्क छौँ” परियारले भन्नुभयो - “यही अनुसार स्याउ राम्रो हुँदै गयो भने भविष्यमा यो ठाउँ स्याउ उत्पादनका लागि प्रख्यात हुने देखिन्छ ।”
निसीखोला गाउँपालिका-५ मा पर्ने निसेलढोरमा वर्षौँ अगाडिदेखि नै व्यवसायिक स्याउ उत्पादन हुँदै आएको थियो । अहिले गाउँपालिकाले निसेलढोरसँगै वडा नम्बर ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ । चालु आर्थिक वर्षमा भौगोलिक बनावट, हावापानी र स्थानीयको माग अनुसार वडा नम्बर ५ र ६ मा ४५० स्याउका विरुवा लगाइएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको सात लाख रुपैयाँबाट स्याउ खेती बिस्तार गर्न थालिएको हो । यस वर्ष निसेलढोर बाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाउन थालेको गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच