‘भ्रष्टाचारको अर्थराजनीति’ विषयक विमर्श सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रको सर्वोच्च निकाय नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान कार्यसमितिले बृहत् रूपमा प्राज्ञिक कार्यसम्पादन गरिरहेको छ ।

त्यसैअनुरूप नेपाल वैकल्पिक अध्ययन समाजसँगको सहकार्यमा ‘भ्रष्टाचारको अर्थ राजनीति’ विषयक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक आयामको विश्लेषण नगरी भ्रष्टाचारलाई बुझ्न सकिँदैन । भ्रष्टाचार न्यायिक, प्राज्ञिक, नीतिगत, वैचारिक र संस्थागत लगायतका अनेकौं रूप र स्वरूपमा प्रकट हुने गर्ने भएकोले तिनको निर्मुल पार्न सके मात्रै देशको समुन्नति हुने छ भन्नुभयो ।

सो विषयमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूले अनुचित ढङ्गबाट आर्जन गरेको सम्पत्ति नै भ्रष्टाचार हो । नेपालमा भ्रष्टाचार अम्मल जस्तै बनेको छ । यसको नियन्त्रण र नियमन कडाइका साथ गरिनुपर्नेमा जोड दिनुभयोे । कार्यपत्रमा भ्रष्टाचारको परिभाषा, स्वरूप, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका संस्थागत भ्रष्टाचारहरूबारे उल्लेख गरिएको छ ।

यसैक्रममा न्यायाधीश बलराम केसीले नीतिगत भ्रष्टाचार तीव्र रहेको छ । यसको खारेजी र भ्रष्टाचारीको सामाजिक बहिष्कार अनिवार्य छ भन्नुभयो । वरिष्ठ पत्रकार गुणराज लुइँटेलले नेपालमा भ्रष्टाचारको इकोसिस्टम चलिरहेको र नीतिगत भ्रष्टाचार पनि त्यतिकै मौलाइरहेको छ भन्ने धारणा राख्नुभयो । त्यस्तै महिलाअधिकारकर्मी नितु पोखरेलले भ्रष्टाचारको कुनै लिङ्ग र भूगोल हुँदैन । राज्य असफल हुनुमा भ्रष्टाचार प्रमुख कारण रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरूको जिज्ञासाबारे कार्यपत्र प्रस्तोता क्षेत्रीले जवाफ दिनुभयो । राजनीतिक विश्लेषक तथा संविधानसभा सदस्य हरि रोकाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?