पश्चिम नवलपरासीका छ वटा पालिकामा पूर्ण खोप घोषणा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीका छ वटा पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन । मंगलबार नगरपालिकाको सभाहलमा एक समारोहको बिच जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले रामग्राम नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गर्नु भएको हो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणामा यादवले नगरले भौतिक पूर्वाधारको मात्र विकास मात्र नभई सामाजिक विकास क्षेत्रलाई उत्तिकै महत्वको साथ र प्राथमिकता राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य क्षेत्र मानिसको जीवनसँग जोडिएको एक महत्त्वपूर्ण अङ्ग भएकोले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम गर्नु पर्ने उहाँले बताउनु भयो । उहाँले पुर्ण खोप अभियानलाई सफल बनाउनको लागि खट्नु भएको स्वास्थ्य स्वयंसेबीका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि निरन्तर लाग्नु पर्ने बताउनुभयाे ।

रामग्राम नगरपालिकाभित्र रहेका १६ महिनादेखि ५९ महिनाको बालबालिकालाई सम्पूर्ण खोप मात्रा पूरा लगाई सकेकोले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनु भयो । उहाँका अनुसार रामग्राम नगरपालिकामा १८ वडामा रहेका १६ महिनादेखि ५९ महिनाको बालबालिका तीन हजार चार सय १७ जना मध्ये चैतमा गरिएको सर्वेक्षणमा ४ जना छुटेकोमा उनीहरूलाई खोज र खोप अभियानमार्फत् १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई बिसीजी, डिपिडी-हेप, बि-हिब, पोलियो-दादुरा रुबेला जेईलगायतको १३ किसिमको खोपको मात्रा पूरा गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको बताउनु भयो ।

कार्यक्रममा नगरप्रमुख धनपत यादवले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अगाडी बढाइएको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रको सेक्टरमा गर्भवती महिलाहरूको गर्भको अवस्था थाहा पाउनको लागि प्रत्येक वडामा र गाउँमा हप्ताको एक पटक भिडियो एक्स-रे सञ्चालन गरिएको बताउँदै सुत्केरी महिलाहरूलाई पौष्टिक आहार बितरण गदै आएको बताउनु भयो ।

नवलपरासी जिल्ला २०७० सालमै नेपालकै पहिलो पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा घोषणा भैसकेको छ । रामग्राम नगरपालिकासहित जिल्लाका ६ वटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेको जिल्ला स्वास्थ्य कार्यालय परासी प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनु भयो ।

रामग्राम नगरपालिकाको नगरप्रमुख धनपत यादवको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा नगरका उपप्रमुख सम्झना चौधरी प्रमुख जिल्ला अधिकारी, विश्वप्रकाश आर्याल रामग्राम वडा नं. १५ वडाअध्यक्ष धनपत यादव, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष हरि शर्मालगायतले यो अभियान सफल बनाउन योगदान गरेकालाई धन्यावाद व्यक्त गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?