इपानद्वारा शान्तिसुरक्षा माग

Read Time = 6 mins

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)ले व्यावसायिक र आयोजनास्थलको सुरक्षा माग गरेको छ । पछिल्लो समय आयोजनास्थलमा स्थानीय आक्रमण बढेपछि बुधबार पत्रकार सम्मेलन गरी फागुन १५ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ स्थित सीता हाइड्रोपावर प्रालिद्वारा निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत् आयोजनामा तोडफोड र कर्मचारीमाथि भएको आक्रमणको निन्दाका साथै सुरक्षाको माग गरेको हो ।

इपानले उक्त आयोजनास्थलमा एक समूहले आगजनी, तोडफोड तथा कर्मचारीमाथि सांघातिक आक्रमण गरेको घटनाको छानबिन गरी आयोजनालाई उचित क्षतिपूर्तिका साथै घाइते कर्मचारीको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्नसमेत माग गरेको छ । पत्रकार सम्मेलनमा इपानका उपाध्यक्ष आशिष गर्गले विगतदेखि नै जलविद्युत् आयोजनाले यस्ता थुप्रै अप्रिय घटना सामना गरिरहनुपरेको बताउनुभयो । विभिन्न बहानालाई आधार बनाएर आयोजनालाई गम्भीर क्षति पुर्‍याउने तथा प्रवद्र्धक एवं कर्मचारीलाई मानसिक र भौतिकरूपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले आपराधिक, उच्शृंखल, अराजक र उद्दण्ड गतिविधि हुने गरेको उहाँको भनाइ छ । उल्लेखित आपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा गम्भीर नकारात्मक सन्देश प्रवाह हुनुका साथै समग्र यो क्षेत्र निरुत्साहित हुने उहाँले बताउनुभयो ।

जलविद्युत् प्रवद्र्धक भरत पराजुलीले सिन्धुपाल्चोकको न्यासिम खोला जलविद्युत् आयोजनामाथि भएको आक्रमण सबै जलविद्युत्माथिको आक्रमण भएको बताउनुभयो । सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनामा पटक-पटक आक्रमण हुने गरेको भन्दै उहाँले आक्रमणका शृंखला रोक्न नसके भविष्यमा अझ असुरक्षित वातावरण निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सीता हाइड्रोमाथिको आक्रमणमात्र होइन, यो समग्र जलविद्युत्माथिको आक्रमण हो, यसले लगानी धेरै असुरक्षित देखाएको छ, आक्रमण र तोडफोडको सत्य, तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।’ हाल सो क्षेत्रको पाङतानमा दुई सय ५९ मेगावाट विद्युत्का लागि सबस्टेसन बनिरहेकोमा पछिल्लो घटनाले उक्त सबस्टेसन र निर्माणाधीन सबै आयोजना निर्माणमा चुनौती थपिएको उहाँको भनाइ थियो ।

इपानले परियोजनाहरूको कार्यस्थलमा हुने गरेका यस्ता घटना निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकताप्राप्त जलविद्युत् आयोजनामा यस्ता कार्य निरुत्साहित गरी सुरक्षा प्रत्याभूति गराउनुका साथै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न एवं क्षतिपूर्तिको माग गरेको छ । साथै करेन्ट लागेर निधन भएकी बालिकाप्रति इपानले दुःख व्यक्त गर्र्दै पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिने पनि इपानले जनाएको छ ।

उक्त कम्पनीका कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाका अनुसार फागुन १५ गते बिहान ११ बजे गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत् प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानीय एक बालिकाको दुखद निधन भएको थियो । सोही घटनालाई आधार बनाएर करिब ६० जनाको समूहले योजनाबद्धरूपमा हाइड्रोपावर निर्माणस्थलमा आएर तोडफोड, आगजनी र कर्मचारीमाथि आक्रमण गरेका थिए ।

प्राधिकरणको वितरण लाइनसँग आयोजनाको कुनै सम्बन्ध नरहेको बारेमा आक्रमणमा संलग्न बडाध्यक्ष र वडा सदस्यसहितको समूहलाई जानकारी हुँदाहुँदै पनि सुनियोजितरूपमा आक्रमण गरिएको हो । आक्रमणबाट आयोजनाको आवासीय भवन, विद्युत् गृह, सुरुङलगायतमा ठूलो क्षति हुनुका साथै इञ्जिनियरसहित सातजना घाइते भएको पनि उहाँले बताउनुभएको छ ।

उक्त समूहले क्रसरमा आगजनीका साथै ट्रिपर, स्काइभेटरसमेत तोडफोड गरेको छ । आक्रमणबाट करिब १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिका कारण उत्पादनको वर्ष कम्तीमा एक वर्ष धकेलिने अवस्था सिर्जना भएको अध्यक्ष अधिकारीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?