बेनी–रत्नेचौर सडकखण्डमा कालोपत्रेको काम शुरू

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि रत्नेचौर हुँदै छिमेकी बागलुङ जिल्ला जोड्ने बेनी–बागलुङ सडकको बेनी–रत्नेचौर सडकखण्डमा कालोपत्रेको काम शुरु भएको छ ।

ठेकदारको लापरवाहीको कारणले रोकिएको बेनी–रत्नेचौर सडकखण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रेको काम शुरु भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

१४ किमि बेनी–बागलुङ सडक खण्डमध्ये नौ किलोमिटर सडक म्याग्दी र साढे चार किमि सडक बागलुङ जिल्ला भित्र पर्छ । वागलुङ क्षेत्रमा पर्ने सडक कालोपत्रे भइसकेको छ भने म्याग्दी क्षेत्रको सडकमध्ये साढे तीन किमि सडक कालोपत्रे गर्न बाँकी थियो ।

रत्नेचौरबाट बेनीको खबरासम्मको उक्त सडक कालोपत्र गर्ने काम बि.स २०७४ मा रु १३ करोड १५ लाखको लागतमा कालोपत्रको ठेक्का देव एण्ड सायर बिएन जेभीले लिएको थियो ।

कोरोना भाइरस, कामदारको अभाव र विभिन्न समस्या देखाउँदै ठेकेदारले काम रोकेपछि कालोपत्रेको तयारी गरिएको सडक अन्तिम समयमा रोकिएपछि अलपत्र परेको थियो । लगातारको ताकेतापछि काम सुरु भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

“बैशाख महिना भित्रै कालोपत्रेको काम सम्पन्न हुन्छ,जिल्लाभित्र रोकिएका सबै काम धमाधम भइरहेको छ” प्रमुख अधिकारीले भन्नुभयो । उहाँका अनुसार साढे तीन किलोमिटरको सडकमा विगतमा काम गरेकाले समेत काम गर्न सहज भएको प्रमुख अधिकारीको भनाई छ ।

सडकखण्डमा कालोपत्रे नहुदाँ जताततै खाल्डाखुल्डी थिए । कालोपत्रे गरिएको सडक समेत उप्किएको छ भने धुलाम्मे सडकका कारण यात्रुलाई सास्ती हुने गरेको थियो । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको बाँकी कालोपत्रे गरिएको छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेशसभा सदस्य हरि भण्डारी र रेशम जुग्जालीले अलपत्र योजनाहरु सुचारु गर्न पटकपटक दवाव समेत दिनुभएको थियो । त्यस्तै बेनी नगरपालिका सहित गाउँपालिकाले समेत आफ्नो क्षेत्रमा रहेका प्रदेश र संघका अलपत्र योजनालाई पूर्णता दिन ताकेता गरेपछि अहिले जिल्लाका अलपत्र ठूला योजनाले गति लिन थालेका छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?