लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँदै

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिनुभयो ।

“यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौँ, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौँ”, मुख्यमन्त्री चौधरीले भन्नुभयो । उहाँले प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुई लाखलाई रोजगारी दिने र त्यसका लागि रु एक अर्ब छुट्याएको र सङ्घबाट पनि सो अपेक्षा राखेको बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले बाँके र बर्दियाको विकासमा खास जोड दिइएको उल्लेख गर्दै बाँकेमा स्थापना भएको लुम्बिनी विश्वविद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढवा दिएको र विभिन्न जिल्लाको विशेषताअनुसार ‘हब’का रूपमा विकासमा जोड दिइएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री चौधरीले थारू सङ्ग्रहालयका लागि बर्दिया जिल्लालाई छनोट गरेको उल्लेख गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि स्काई ब्रिज बनाउन लागेको बताउनुभयो । उहाँले थारू भिलेज होम दाङ र बाँकेमा स्थापना गर्न लागेको जानकारी दिँदै दुई जिल्लालाई थारू ‘हब’का रूपमा विकास गर्ने उल्लेख गर्नुभयो ।

युनियनका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा सो पत्रकार भेटघाट भएको थियो । यसअघि मुख्यमन्त्री चौधरीले कोहलपुरस्थित नयाँ बसपार्कको उदघाटन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?