कालीकोट । निलो जस्तापाता एकनासका घर । हेर्दै चिटिक्कको सुन्दर बस्ती । कालीकोटको रास्कोट नगरपालिका-७ पोखरीकोटको एकीकृत नमुना बस्ती देख्दा जो कोहीको मन लोभिन्छ । विकट ठाउँमा पनि ‘चिटिक्कको सुन्दर बस्ती’ देख्दा, जो कोही तस्बिर खिच्न लालायित हुन्छन् । तर, बाहिरबाट हेर्दा यो बस्ती जति सुन्दर र मनमोहक छ, भित्री कथा भने अर्कै छ ।
दुई वर्षअघि नै बस्ती बने पनि अधिकांश घर खाली छन् । प्रदेश सरकारको सहयोगमा बस्ती बनाउने भनिए पनि रकम अपुग भएपछि स्थानीयले ऋण काडेर घर बनाए । अब न घर बेच्न मिल्छ, न त त्यसको उपभोग नै छ । अर्कोतिर बस्तीमा खानेपानी, विद्यालय, बिजुलीजस्ता अत्यावश्यक पूर्वाधारको कमी छ । यसै त कर्णाली विकट । त्यसमाथि बर्सेनि पहिरोको पीर । पहिरोबाट पूर्ण रूपमा घर ध्वस्त भएका रास्कोटवासीका लागि सुरक्षित एकीकृत बस्ती बनाइयो । कर्णाली प्रदेश सरकारले प्रत्येक घर निर्माणका लागि चार लाख सहयोग गर्यो । एक सय घर निर्माणका लागि एकमुष्ट पाँच करोड सहयोग गर्यो । तर, ७३ घरमात्रै बने । तीमध्ये चारवटा दलित समुदायका लागि बनाइए ।
७३ घरमध्ये १६ परिवार मात्रै बस्ने गरेको वडाध्यक्ष कपुर महतारा बताउनुहुन्छ । बाँकी घरहरू रित्तै छन् । अर्थात् जसका लागि घर बने, उनीहरू नै बसेनन् । लामो समयदेखि रित्तै हुँदा घरका काठमा किराले असर गर्न थालेका छन् । एकीकृत बस्तीमा घर बनाउन चार लाख खर्च लाग्ने अनुमान थियो । प्रदेश सरकारकै सहयोगबाट घर निर्माण हुने प्रचार पनि गरियो । तर, त्यस्तो भएन । एउटा घर निर्माण गर्न लगभग आठ लाख खर्च लागेको स्थानीयको भनाइ छ । ‘सुरुमा पाँच लाखमा घर बन्छन् भनियो । तर, आठ लाख रुपैयाँभन्दा बढी खर्च भयो,’ स्थानीय प्रकाश महताराले भन्नुभयो, ‘बस्तीमा घर बनाउँदा स्थानीयहरू थप ऋणमा डुबे ।
छाना मात्रै छाएको घरमा कसरी बस्न सकिन्छ ?’ घर बेचबिखन गर्न नपाउने सर्तमा एकीकृत बस्ती बनाइएको थियो । चार लाख बढी ऋण लागेपछि स्थानीयले बिक्रीसमेत गर्न पाएका छैनन् । अर्कोेतिर घर बने पनि, अरू अत्यावश्यक पूर्वाधार नहुँदा स्थानीयहरू एकीकृत बस्तीमा सर्न नचाहेको महताराले बताउनुभयो । पहिरोले घर भत्केपछि स्थानीयहरू बर्खामा त्रिपालको सहारामा बास बस्दै आएका छन् । त्रिपालमा बस्न बाध्य बासिन्दालाई एकीकृत बस्तीमा ल्याउने सरकारको उद्देश्य थियो । तर, पहिरो पीडितहरू बस्दैनन् । उनीहरू पुरानै चिरिएको जोखिमयुक्त थातथलोमा बसिरहेका छन् ।
एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ । घर-घरले बस्ती भरिभराउ छ । तर, भित्र एकजना पनि मानिस बस्दैनन्, रित्तै छ । ‘जो जो यहाँ बस्ने गरेका छन्, उनीहरू पनि राति सुत्न मात्र बस्तीमा आउँछन्,’ महताराले भन्नुभयो, ‘ठूलो पानी प¥यो भने राति बास बस्न आउने गरेका छन् । रोजगारी छैन । भएको खेतीपाती वस्तुभाउ सबै उतै छ । यहाँ एकीकृत नमुना बस्तीका नामका घर मात्र बने ।’
दैनिक गुजारा चलाउन यहाँका मानिसलाई खेतीपाती गर्नै पर्छ । त्यसै खेतीपातीका लागि मानिस जोखिमयुक्त बस्तीमा नै बस्ने गरेका छन् । यो बस्तीमा पढ्नका लागि विद्यालय छैन । खानेपानी र बत्ती पनि छैन । अहिले समुदाय आफैँले बस्तीसम्म पैसा उठाएर बाटो बनाएका छन् । खानेपानीको लागि एक संस्थाले डिपिआर बनाएको छ । तर, पानी कहिले आउने हो थाहा छैन ।
रास्कोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले एकीकृत बस्तीको काम सकिएको बताउनुभयो । अधिकांश स्थानीयलाई थातथलो नै प्यारो लागेकाले बस्तीमा नआएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले बस्तीका सबै संरचना तयार पारिदिएका छौँ । रोजगारी र खेतीपातीकै लागि थातथलोमै बस्ने गर्दा बस्ती सुनसान छ । नमुना बस्तीमा सडक, विद्युत्, खानेपानी, बालउद्यान लगायतका पूर्वाधार बनेका छैनन् । नजिकै विद्यालय र स्वास्थ्य चौकीसमेत छैन् । जसकारण बस्तीमा मान्छे नबसेका हुन् । केही मान्छे मात्रै बस्तीमा बसेका छन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच