तीनै तहका सरकारबीचको पर्यटन विकासका अवसर र चुनौती

Read Time = 14 mins

✍️  कृष्णप्रसाद सिग्देल

नेपाल हिमालयको काखमा अवस्थित छ । सर्वोच्च शिखर सगरमाथालगायत विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमचुचुरामध्ये आठवटा चुचुराको अवस्थितिले पनि नेपाल विश्व आकर्षणको केन्द्र मानिन्छ । विविध भौगोलिक स्वरूप तथा हावापानीले गर्दा नेपाल विभिन्न पारिस्थितिक प्रणालीको संगमस्थल बनेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म मालाझैँ बनेर रहेका, गगनचुम्बी हिमचुचुरा, पहाड, पाताल छाँगा, अविरल बगिरहने नदीनाला, कञ्चन झरना, खोच, उपत्यका, समथर मैदान, फाँट, हरियाली वनजंगललगायत आफ्नै विशेषताले भरिपूर्ण यहाँका प्राकृतिक सम्पदा नै नेपालका गहना हुन् । विभिन्न प्रजातिका वन्यजन्तु एवं चराचुरुंगीहरू, रंगीविरंगी फूलहरूले बेहुलीझैँ ढकमक्क सजिने यहाँका फरक-फरक विशेषता बोकेका वनजंगल एवं विविध पारिस्थितिक प्रणालीहरू यो तपोभूमिका लागि प्राकृतिको वरदान हुन् ।

विविधतायुक्त जैविक भण्डारले, नेपाललाई विश्वभरमा २५औं र एसियामा ११औं स्थानमा रहेको छ । भू-भागको हिसाबले विश्वको कूल भूभागको करिब ०.१ प्रतिशत मात्र ओगटेको नेपालमा विश्वको कुल वनस्पतिको २.२ प्रतिशत फूल फुल्ने र ३ प्रतिशत फूल नफुल्ने वनस्पति पाइन्छन् । यसरी विश्व मानचित्रमा नेपाल अत्यन्त सानो देश भए तापनि जैविक विविधताको दृष्टिकोणले निकै सम्पन्न मानिन्छ ।
प्रदुषणमुक्त उद्योगको रूपमा लिइने, पर्यटन उद्योग विश्वको सबैभन्दा ठूलो उद्योग मानिन्छ । हालको समयमा नेपालको पर्यटन व्यवसायले राज्यको कूल आम्दानीको करिब ३.४ प्रतिशत मात्रै योगदान पु¥याएको भए तापनि यसको भविष्य उज्ज्वल देखिन्छ । शहरी क्षेत्रको विकासमा मात्रै नभएर ग्रामीण क्षेत्रको गरिबी निवारणमा समेत यसले योगदान पुर्‍याएको छ ।

नेपाल उत्तरबाट दक्षिणतिर क्रमशः हिमाल, पहाड, तराई र मधेसतिर फैलिएर सामूहिक पहिचान बोकेको देश हो । क्षेत्रफलका दृष्टिकोणले सानो मुलुक भए तापनि यहाँ जे जति भौगोलिक विविधता छ, त्यत्ति नै जातीय, सांस्कृतिक विविधताले पनि धनी छ ।

नेपालको पर्यटन विकासमा यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुको योगदान महत्वपूर्ण रहेको छ । नेपाल पर्या–पर्यटन अर्थात् इकोटुरिज्म विकासको सम्भावनाले एसिया महादेशमै अग्रस्थानमा छ । नेपालमा भ्रमण गर्ने पर्यटकहरूमध्ये करिब ६० प्रतिशत पर्यटकहरूले यहाँको संरक्षित क्षेत्रहरूको भ्रमण गर्ने गर्दछन् । यसरी हेर्दा नेपालको पर्यटन उद्योगमा पर्यापर्यटनले ठूलो हिस्सा ओगटेको छ । जसमा यहाँका प्राकृतिक स्रोतको भूमिका महत्वपूर्ण मानिन्छ । जैविक विविधताले धनी देश नेपालमा पर्यापर्यटन विकासको प्रशस्त सम्भावना रहेको छ तर राज्यको पूनर्संरचनाको प्रसंगसँगै देशको प्राकृतिक स्रोत र पर्यटन उद्योगको भविष्य कस्तो रहला, त्यो नै आज सबै नेपालीको प्रमुख सरोकारको विषय बनेको छ ।

प्राकृतिक स्रोत भन्नाले पर्यटन, राष्ट्रिय पार्क तथा संरक्षण क्षेत्र, पहाड, हिमाल, पदयात्रा, वनजंगल, नदीनाला, ताल, तलैया, खनिज, ढुंगा, बालुवा जस्ता बस्तु पर्दछन् । कैलाली जिल्ला नेपालको प्राकृतिक सम्पदा उपलब्धताको दृष्टिकोणले सबैभन्दा धनी जिल्ला मानिन्छ । प्रतिव्यक्ति प्राकृतिक स्रोतको सम्भाव्यताबाट प्राप्त हुनसक्ने आम्दानीको विश्लेषण गर्दा मनाङ जिल्ला एक नम्बरमा रहेको पाइन्छ । त्यसैगरी प्राकृतिक स्रोत सम्पदाको सम्भावनाको विश्लेषण गर्दा बाजुरा, रौतहट, सिरहा, धनुषा जिल्लाहरू सबैभन्दा गरिबमध्येका जिल्लामा पर्दछन् ।

नेपाल उत्तरबाट दक्षिणतिर क्रमशः हिमाल, पहाड, तराई र मधेसतिर फैलिएर सामूहिक पहिचान बोकेको देश हो । क्षेत्रफलका दृष्टिकोणले सानो मुलुक भए तापनि यहाँ जे जति भौगोलिक विविधता छ, त्यत्ति नै जातीय, सांस्कृतिक विविधताले पनि धनी छ । विकास जुन गतिमा अगाडि बढ्द, त्यही गतिमा विनाश पनि बढिरहेको हुन्छ । प्रकृतिको कुनै भौगालिक सीमा हुँदैन् । देशका नदीनालाहरू राज्यको, प्रदेशको भौगालिक सीमाभित्र बाँधिएका हुँदैनन् तर विकासका लागि त्यस्ता स्रोतको जरुरी हुन्छ । जुन भावी संघीय गणतान्त्रिक देश नेपालको विकासका लागि पनि अपरिहार्य छ ।

पर्यटकीय दृष्टिकोणले हेर्दा सर्वोच्च शिखर सगरमाथाको अवस्थितिले सोलुखुम्बु जिल्ला रहेको क्षेत्र, अन्नपूर्ण हिमशृंखला रहेको क्षेत्रलगायत विश्वका उच्च पर्वत रहेका क्षेत्रहरू, विश्वकै दुर्लभ वन्य जन्तु एक सिंगे गैँडा पाइने भएकोले चितवन राष्ट्रिय निकुञ्ज र सोको आसपासको क्षेत्र सबैको तारो बन्न सक्छन् । तथापि नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्र आ–आफ्नै विशेषताले धनी रहेका छन् र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छन् ।

प्राकृतिक स्रोतले धनी भएर पनि नेपाल विश्वको गरिब राष्ट्रमध्येको एक हो । नेपालमा रहेका यस्ता कैयौं हिमताल, हिमनदीहरू स्वच्छ जलभण्डारका स्रोत हुन् । यहाँ रहेका करिब ६ हजार नदीनालाको उद्गमस्थल मुख्यतः हिमशिखर र हिमताल नै हुन् । यस्ता नदीनालालाई जीवनोपयोगी प्राकृतिक स्रोतका अतिरिक्त अनन्य सम्पत्तिका भण्डार मान्न सकिन्छ । खानेपानी, सिँचाइ, विद्युत् उत्पादन, पर्यटन जस्ता कार्यमा यस्ता स्रोतहरूको भरपूर उपयोग गर्नु नै यस भेगका बासिन्दालगायत समग्र देशको विकासका लागि निर्विकल्प आधार हो । तर, त्यस्ता स्रोतको उपयोग हुन सकिरहेको छैन र यो क्षेत्र विकासका दृष्टकोणले सबैभन्दा पछाडि परेको छ ।

हिजोका दिनसम्म निकै महत्वका साथ लिइने तराईको उर्वर भूमिको भन्दा आज हिमाली र पहाडी भेगका पर्यटकीय क्षेत्रहरू, जलविद्युत् तथा गैह्रकाष्ठ वन पैदावार र औषधिजन्य वस्तुहरू रहेका क्षेत्रहरूको महत्व बढ्दै जान थालेको छ । अझ हालसम्म पत्ता नलागेका अथवा परिभाषित हुन बाँकी रहेका प्राकृतिक स्रोत, शाधनको समतामूलक वितरण संघीयतामा गइसकेपछि कसरी गराउन सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिनु जरुरी देखिन्छ । अहिलेको अवस्थामा उर्वर भूमिको मात्र अधिपत्य भएका प्रदेशहरू मात्र नभएर जंगलै, जंगलको अधिपत्य भएका प्रदेशहरू र पहाडै, पहाडको चुचुराहरू भएको प्रदेशहरू पनि बनाउन सकिन्छ ।

देशको आर्थिक विकासका लागि प्रमुख संवाहक मानिने, प्रकृतिको र पर्यटनबीचको सम्बन्धलाई जीवन्त राख्न नेपालको संघीय, प्रदेश र स्थानीय तहबीचमा समन्वय हुनु जरुरी रहेको छ । तीनै तहका सरकारले प्रकृति र पर्यटनलाई विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

त्यसरी सीमांकन गरिएका प्रदेशभित्र विविध सम्भावनाहरू छन् र देख्न सकिन्छ तथापि त्यस्ता ठाउँमा रहेका स्रोतको दिगो उपयोग गर्दै भोलि आत्मनिर्भर बन्न सक्छौं कि सक्दैनौं त्यसको आकलन गर्नु जरुरी रहेको छ । तसर्थ नेपालको संघीयताको सवाल, वर्तमानका लागि जटिल, भविष्यका लागि चुनौतीपूर्ण र सञ्चालन गर्न सक्दा सामान्य तर नसक्दा निकै भयावह हुने देखिन्छ । हामी प्राकृतिक स्रोतमा धनी भएता पनि यसको सही सदुपयोग हुन नसक्दा हामी गरिबीको चपेटामा परेका छौं । यहाँका कतिपय स्रोत त्यसै खेर गइरहेका छन् ।

प्राकृतिक स्रोतको उपलब्धतालाई ख्याल नगरी प्रदेशको सीमांकनतर्फ लागियो भने भविष्यमा ठूला ठूला द्वन्द्वको स्थिति सिर्जना गर्न सक्दछ । धर्म, संस्कृति र जातिगत संरक्षण, संबद्र्धन र त्यसबाट व्यक्ति या समूहको पहिचान एक प्रमुख मुद्दा हो तर पहिचानले मात्र मान समुदायको विकास सम्भव देखिँदैन । विकासको मुख्य आधार प्राकृतिक स्रोतसाधनको उचित व्यवस्थापनबाट हुने आम्दानीलाई बनाउनुपर्छ । यहाँ बहुपहिचानसहित प्राकृतिक स्रोत सम्पन्न राज्यमात्र भविष्यमा सफल हुन सक्छ । पिछडिएका जाति, दलित र गरिबका लागि विकासमा, जागिरमा र स्रोतलगायतका पहुँचमा विशेषाधिकार दिनुपर्छ । त्यसको केन्द्रबिन्दुमा जातिगतभन्दा गरिब, विपन्न र सीमान्तकृत वर्गलाई राखी नीति तथा कार्यक्रम निर्माण गरिनु आवश्यक हुन्छ ।

विश्वको सुन्दर भूगोल नेपाल प्राकृतिक स्रोतसाधनले सम्पन्न छ । विश्वका आठ हजारभन्दा अग्ला १० वटा हिमचुचुरामध्ये आठवटा नेपालमै रहनुमात्र नभएर बीसवटा संरक्षित क्षेत्रले देशको करिब २३ प्रतिशत भूभाग ओगटेका छन् । रामसार सूचीमा सूचीकृत नौवटा रामसार क्षेत्रहरू पनि यहीँ रहेका छन् । विश्वका १३ देशमा मात्र पाइने पाटेबाघ, विश्वकै दुर्लभ मानिने एकसिंगे गँैडा, काँडे भ्याकुर, रेड पाण्डा पनि यहाँ पाइन्छन् । यसै गरी विभिन्न दुर्लभ एवं महत्वपूर्ण जडिबुटीको भण्डार पनि मानिन्छ, नेपालको हिमाली क्षेत्र । यसरी स्रोतसाधनले समृद्ध भएर पनि समृद्ध बन्न सकेको छैन, नेपाल । प्रकृति र पर्यटन एक सिक्काको दुई पाटाजस्तै हुन् ।

देशको आर्थिक विकासका लागि प्रमुख संवाहक मानिने, प्रकृतिको र पर्यटनबीचको सम्बन्धलाई जीवन्त राख्न नेपालको संघीय, प्रदेश र स्थानीय तहबीचमा समन्वय हुनु जरुरी रहेको छ । तीनै तहका सरकारले प्रकृति र पर्यटनलाई विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

विधानसभाको निर्वाचनको लागि आफ्नो घोषणापत्र निर्माण गर्न तल्लीन रहेका राजनीतिक दलहरूले प्राकृति र पर्यटनका ससाना मुद्दालाई समेट्नेभन्दा पनि सैद्धान्तिक र रणनीतिक विषयमाथि जोड दिनुका साथै नीति तथा कार्यक्रमलाई पूर्णरूपमा कार्यान्वयन गर्ने आधारसमेत तय गर्नु जरुरी रहेको छ । यसो गरिएको खण्डमा मात्रै प्रकृतिको उपहार, यो सुन्दर भूगोलमा पर्यटन उद्योगले फड्को मार्नेछ र त्यो नै हुनेछ समृद्ध नेपालको बलियो आधारशीला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?