प्रदेश १ को नाम अब कोशी, दुई तिहाईभन्दा बढी मतले पारित

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रदेश १ को नाम ‘कोशी’ प्रदेश प्रदेशसभाबाट पारित भएको छ । सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भएको हो । सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनुपर्छ भन्ने प्रस्तावका पक्षमा ८२ मत परेको र विपक्षमा चार जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहनुभएको थियो ।

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारले उक्त संशोधन प्रस्ताव टेबल गरेपछि बहुमत ध्वनिमतले अस्वीकृत भएको थियो । कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिनुभएको थियो । प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको चार र जसपाको एक जना सांसद छन् ।

प्रदेश सभाले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ ख १ बमोजिम प्रस्ताव आह्वान गरेको थियो । प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव गर्दै नेकपा एमालेले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो । प्रदेशसभा सचिवालयले प्रस्ताव दर्ताका लागि दिएको १२ बजेदेखि १ बजेसम्मको समयमा एमालेको प्रस्ताव सांसद रामबहादुर राना मगरले कोशी नाम राख्न प्रस्ताव दर्ता गराउनुभएको थियो ।

‘प्रदेशले आफ्नो नामकरण प्रदेश सभाबाट आफैंले गर्नुपर्नै दायित्व पूरा गर्न यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बूवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारका रूपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ,’ रानाको प्रस्तावमा भनिएको थियो ।

प्रस्तावमा एमालेका सांसदहरू निरन राई र विदूर लिङथेप र कांग्रेसका भूमिप्रसाद राजवंशीले समर्थन गर्नुभएको थियो । यद्यपि कांग्रेसका राजवंशीले भने समर्थकबाट आफ्नो नाम फिर्ता लिनुभएको थियो । अन्ततः यही प्रस्ताव पारित भएर प्रदेशले नाम पाएको हो ।
प्रदेश सभामा नेकपा एकीकृत समाजवादी र जसपाको तर्फबाट ‘किरात-लिम्बूवान-सगरमाथा’ प्रदेश नामकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको थियो । नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बू र नेकपा एकीकृत समाजवादीका सांसद कमल जवेगूले समर्थन गर्नुभएको थियो । सो प्रस्ताव भने छलफलमा जानै सकेन । बहुमतले अस्वीकृत गरेपछि राम रानाको प्रस्ताव मात्रै छलफलमा गएको थियो ।

प्रस्ताव पेस गरेको दल एमालेले दुइटा संविधान सभा र एउटा प्रदेश सभाले टुंगो लगाउन नसकेको प्रदेश १ को नाम दोस्रो प्रदेश सभा र चौथो मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पालामा टुंगो लागेको भन्दै खुसी प्रकट गरेको छ । प्रदेशसभाका सांसदहरूले शपथ ग्रहण गरेको ६२ दिन पुगेको छ भने मुख्यमन्त्रीले शपथ ग्रहण गरेको दुई महिना पनि पुगेको छैन । मुख्यमन्त्री हिक्मत कार्की प्रदेशको नामकरण गर्न सफल भएको जस पाउने मुख्यमन्त्री बन्नुभएको छ । यद्यपि नामकरण मुख्य रूपमा संसदको दायित्वका रूपमा संविधानमा उल्लेख छ । यसअघि एमालेका शेरधन राई, भीम आचार्य र एसका राजेन्द्र राई मुख्यमन्त्री हुँदा नामकरण सम्भव भएको थिएन । केन्द्रीय गठबन्धनमा राष्ट्रपति चुनावले खटपट ल्याएकै बेला माओवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर नाम राख्न सफल भएको जस मुख्यमन्त्री कार्कीले पाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?