तीन अवतार पुरुष र नेपाली जनता

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 15 mins

म बासँग झगडा गरेर नै भ्युँथानको प्राथमिक विद्यालयमा पढ्न जान थालेको थिएँ । सँगै जाने साथीहरूको नाम लेखाइएको भए पनि मेरो लेखिएको थिएन । नर्मल तालिम लिएका एकजना हेड मास्टर थिए । चउरमा हामीलाई लाम लाएर (ट्यान् छ्यान्ए/टेन्सन/ठण्डे ईच/स्ट्याण्ड इच) भनेर दाहिने र देब्रे गोडा वर पर सार्न लाउँथे । कसैले पाटीमा कसैले सिलेट भन्थे ढुंगाको पाटीमा लेख्थे । चउरमा बस्नुपर्दथ्यो । दुई जना अरू मास्टर थिए तिनीहरू चाहिँ सेतो धोती र कुर्था लाएर आउँथे । आफूलाई निकै सुग्घरी हौं भन्ने प्रदर्शन गर्दथे । एक दिन हामी सबै विद्यार्थीलाई विद्यालयको परिधि (कम्पाउण्ड) सफा गराउन लाइएको थियो ।

म चउरका पत्कर कुचाले सोहोर्दै थिएँ । बाले मलाई भित्रबाट बोलाएपछि मात्रै मैले बा आउनुभएछ भन्ने थाहा पाएँ । भित्र पस्ने बित्तिकै मलाई लु हिँड भनेर घर लिएर आउनुभयो । बाटाभरि केही कुरा भएनन् । त्यहाँदेखि दुई तीन वर्ष म घरमा बसेर लघुकौमुदी र अमरकोष घोक्न र गाईभैंसीको काममा लागेँ । सँगै गएका साथीहरू कक्षा टपेर ५ कक्षामा पढ्नेसम्म भए । स्वस्थानी वाचन चाहिँ मेरा जति गर्न सक्दैनथे । मसँग प्रमाणपत्र थिएन । मुटु पोल्थो अरू चार पास गरेर पाँच कक्षामा जान लागेको कुरा सुन्दा पनि रातभरि निद्रा नलागेर आँखा राता पनि बनाएँ कति रात त ।

एक दिन हिम्मत गरेर मैले बालाई भने बा म गोठालो र हली नै बनेर, श्रद्धे, रुद्री पूजा लाएर नै बस्नु ? भनेपछि बाले भन्नुभयो तँभन्दा धेरै पढेका को छन् ? सबै बाख्रागोठाला त हुन् । तँ चिन्ता नगर तँलाई म ब्रहृमविद्या पढाएर ठूलो मान्छे बनाउँछु । अब केही दिनमात्रै घाँस–दाउरा आदि घरको काम कसले गर्छ त ? आमा एक्ली, म भ्याउँदिन, भाइबहिनी सानै छन् । तैँले नगरे तेरा घरको काम कल्ले गरिदिन्छ त ?

अहिले नेतृत्वको उच्च तहमा पुगेका नेपालका ठूला दलका नेताको बाल्य र कैशोर वय अति नै दर्दनाक अभाव, भोकोपेट, नांगो आङ बिताउनु परेको र अर्काका घरमा केही काम गरेर या अर्काले लाए अराएको काम गरेर बिहानबेलुका पेटमा चारो पर्ने अवस्थाबाट आएका व्यक्ति छन् ।

‘माता शत्रु पिता बैरी येनबालो नपाठित’ भन्ने हितोपदेशको श्लोक पनि कण्ठ गराएको बाले नै हो । के यो शिक्षा पनि सुगाको गोपीकृष्ण कहो जस्तै हो ? ‘अनभ्यासे विषं विद्या’ त दिनको तीन/चार पटक बा मलाई सोध्नुहुन्थ्यो । शिवस्वले सर्वस्व गराउँछ । ब्रहृमस्व आगो हो, यसले भस्म खरानी बनाउँछ । देवस्वमा कहिल्यै आँखा नलाउनु, यसले सात जन्म पिरोल्छ । राजस्वले तत्काल कारागारमा पठाएर घरजग्गामा नै राजा लाग्छ । बिहान बेलुका बासँग बसेका बेला यस्ता धेरै संस्कृत नीतिका श्लोक घोकाउनुहुन्थ्यो । अमरकोश तीन काण्ड र लघुकौमुदी सकेर अब मध्य होइन सिद्धान्त कौमुदी नै पढ्नुपर्छ भन्नुहुन्थ्यो पुस्तक थिएन ।

कताबाट एउटा पुरानो ‘वैयाकरण सिद्धान्त कौमुदी’ नाम भएको पुस्तक ल्याउनुभयो बाले । भ्वादिसम्म एक वर्ष बासँग मैले सिद्धान्त कौमुदी पढेँ । शास्त्र जान्नुपर्छ, त्यो कागजको खोस्टाले के गर्छ भनेर बाले मलाई केही गर्न अभिप्रेरित गर्नुभएको जस्तो जुन दिन लाग्यो मलाई त्यसका पाँच दिनमा म जनकपुर पुगेथेँ । ज्ञानका भोकले मलाई घरको दूध र भात छुटाएर उसिनाको चामल र पोखरीका गन्धे पानीमा पकाएको दाल खुवाएको थियो । यसरी मैले आफूलाई उचालेको थिएँ भने नेपाली राजनीतिकर्मीले पनि देश उचाल्नका लागि आचरण अवलम्बन गरिदिएका भए ? बाटो बीपी र सुवर्णशमशेरले राम्ररी देखाएका थिए ।

त्यत्ति पनि धैर्य गर्न अहिलेका ठूलाबडा भनाउँदा राष्ट्रको ढिकुटीमा डुँडुलो डुबाउने तयार भएनन् । तातै खाऊँ जली मरूँ गर्न लागे । अचेल म सुन्छु नैतिकता भनेको वैयक्तिक कुरो हो पालन गर्नु नगर्नु व्यक्तिको कुरो हो । आज प्रचण्डमाथि अनेकौं आरोप किन त ? नागरिकलाई अनागरिक बनाउने गृहमन्त्री र उपप्रधानमन्त्रीलाई ल्याएर महान् नैतिक व्यक्तित्व भनेर अब ती पार्टीका सभापतिले पूजा गरेको देख्न पाइन्छ त ? स्वार्थका लागि गठबन्धनमा समेत जान रुचाउने महान् अवतार पुरुषको के कुरा गर्नु र ? सोखमा सोख नरकमा पनि ठेलमठेल ।

अहिले नैतिक देखिने होडबाजीमा प्रचण्ड र ओली अग्र पंक्तिमा देखिन्छन् । अधोवस्त्र तानातान गर्न लागेका छन् । कत्रा नैतिकवान् हाम्रा प्रधानमन्त्रीहरू । यिनको अनुकरण नगर्ने ग्वाँच हामी नेपाली जनताको अनि कसरी उन्नति हुन्छ ? हीरा जवाहरात दाइजोमा ल्याउनेको पनि असलियत भरत जंगमले राम्ररी देखाइदिइहाले । सर्वस्व देशलाई दान गर्ने ताईं अब नेपाली जनताले चौराहमा देख्ने दिन पनि टाढा छन् जस्तो लाग्दैन मलाई त । रिसारिसमा जे पनि हुन्छ । मान्छेको जातै रिसमा विष खाने हुँदोरहेछ । अहिले विश्वमा ‘नेपाल भ्रष्टाचारीको बैकुण्ठ हो’ भन्ने परिचय बन्न लागेको छ ।

‘यन्नवे भाजने लग्न संस्कारो नान्यथा भवेत्’ जसरी कुमालले बनाएका भाँडामा मुङ्ग्राको डाम त्यो भाँडो रहुन्जेल रहज्ञन्छ त्यसैगरी मान्छेको पनि बाल्यकालमा प्रदान गरिएका संस्कारले जीवनभरि प्रभाव पार्दछ । आज हाम्रा देशमा अनाचार, व्यभिचार, आर्थिक र आचरणगत् भ्रष्टाचार बढ्नुमा पनि प्राथमिक तहदेखि स्नातक तहसम्मको पाठ्यक्रमको ठूलो हात रहेको देखिन्छ । अहिले नेतृत्वको उच्च तहमा पुगेका नेपालका ठूला दलका नेताको बाल्य र कैशोर वय अति नै दर्दनाक अभाव, भोकोपेट, नांगो आङ बिताउनु परेको र अर्काका घरमा केही काम गरेर या अर्काले लाए अराएको काम गरेर बिहानबेलुका पेटमा चारो पर्ने अवस्थाबाट आएका व्यक्ति छन् ।

मनोविज्ञान भन्छ : ‘यस्तो अवस्थामा इष्र्या, द्वेष र बदलाको भावना उत्पत्ति हुन्छ र त्यसले मान्छेलाई करुणाविहीन, जिद्दीवाल, अहंवादी, झन्काहा र सन्काहा बनाउँछ’ । यसलाई मनोविज्ञानले अभिघात सिद्धान्त भन्ने नाम दिएको छ । यस्तो प्रवृत्ति भएको मान्छे जब कुनै संस्था या अफिस या राज्य सञ्चालन गर्ने दायित्वमा पुग्दछ अनि बरवादीका शृंखला सुरु हुन्छन् । विजयबहादुर मल्लको ‘कोही किन बरवाद होस्’ भन्ने नाटकको बालपात्र ध्रुव यही अभिघातको प्रहार खप्न विवश भएको हुनाले ऊ विद्यालयमा उपद्रो गर्दछ र सुन्दरलाल भन्ने त्यो विद्यालयका प्रअले कुरो बुझेर मनोवैज्ञानिक उपचार त गरे तर पनि विद्यालयबाट बिदा हुने बेलामा भएको रहस्योद्घाटनले ऊ नसुध्रने सम्भावना देखाएको छ ।

कांग्रेस ध्रुवीकृत भएर विभाजित भएका बेला पनि किसुनजीले र गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस फुट्न, टुट्न होइन जुट्न तथा नवनेपाल निर्माण गर्न गठन भएको हो भनेर दुई बुढाले हात मिलाउँदा तमाम कांग्रेसका आँखा हर्षका आँसुले डबडब भएका थिए ।

दुई–दुई पटक आफैंले गरेका गल्तीबाट सत्ता र शक्ति गुमाउनु पर्दा पनि एकजना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको दम्भ र जिद्दीमा अलिकति पनि कमी आएको छैन । अर्का सभापति टुलुटुलु हेरेर बकुल्लाले माछो ढुके झैँ सन्कीलाई गोप्य मन्त्रणा दिएर बस्न विवश भएका छन् । आफ्नै महामन्त्रीले अब पूर्वप्रधानमन्त्री नै फेरि पनि प्रधानमन्त्री नेपाली कांग्रेसबाट बन्न दिनुहुँदैन भनेर भाषण गर्न थालेपछि माछो उम्कँने अड्कल मनमस्तिष्कमा परेको हुनाले विचरा उनी अभिघातमाथि अभिघात सहनविवश देखिन्छन् ।

मैथली समाजमा एउटा उखान छ : कयल निधयल निहीरा, आमाडपसौलनिजीरा । अर्थात् सारा काम हीराले गरिन्, माड काड्ने बेलामा देखा परिन् जीरा र सबै यश आफैंले लिइन् भन्ने यसको सूच्यार्थ हो । यो एक पुरुषले एकभन्दा बढी पत्नी ल्याउने चलन समाजमा भएका बेलाको सापत्न करनी र कथनीलाई समाजले औंल्याउने गर्दा बनेको उखान हो । नेपालीमा पनि कान्छीले पकाको पस्केको मात्रै जेठीले भनेपछि ए, त्यसै भएर पो भात गिलो भए पनि मीठो रहेछ भन्दै लोग्नेले ठूल्ठूला गाँस हालेको प्रसंग उखानले भनेको छ । अहिले नेपाली कांग्रेस हुँ भन्न पनि असल कांग्रेसलाई लाज लाग्ने अवस्थामा वर्तमान सभापतिले पुर्याउनुभयो ।

पार्टीप्रतिको ममता, पार्टी निर्माण गर्दा पसिना बगेका भए यसैगरी ९–१० वर्ष भ्रातृ तथा शुभेच्छुक र पेशा व्यावसायिक संगठनलाई टीके या बेवास्ताका अवस्थामा राख्न सक्थे ? यसैगरी ध्रुवीकृत भएर तँनाई कि म नाईं भएर विभाजित भएका बेला पनि किसुनजीले र गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस फुट्न, टुट्न होइन जुट्न तथा नवनेपाल निर्माण गर्न गठन भएको हो भनेर दुई बुढाले हात मिलाउँदा तमाम कांग्रेसका आँखा हर्षका आँसुले डबडब भएका थिए । आज मतलबै छैन । देशका कुनाकन्दराबाट जिल्ला सभापति आएर आफ्ना कुरा राखेका छन् तर सभापतिलाई अत्तोपत्तो नभएजस्तो भएको छ । छिद्रान्वेषीले अब उनलाई कुत्कुत्याएर पार्टीलाई, प्रजातन्त्रवादीलाई अभिघात गर्ने कदम चाल्न लाउन पनि सक्छन् ।

कांग्रेस सिध्याउने शपथ खाएर पार्टी सभापति बनेका हुन् कि ? भनेर सर्वत्र शंका गरिएका बेला यस्ता क्रियाकलापले फेरि पनि साउनमा उम्रेका च्याउसरहका पार्टीलाई फाइदा पु¥याउन उहाँले संकल्प गरेको देखियो । अब तमाम कांग्रेस ब्युँझेर मनमा एक, व्यवहारमा एक र आचरणमा अर्को व्यवहार देखाउने नेतृत्वलाई ससम्मान घरमा सीमित नगराउने हो भने अर्को पार्टीका अध्यक्षलाई अरिंगालका गोलाले घेरे झैँ हामी पनि बच्छ्युँ हौं भनेर उहाँलाई बीचमा राखेर भुन्भुनाउन सक्नुप¥यो । अब पनि नैतिकताका कुरालाई प्राथमिकता नदिने हो भने २०८४ का चुनावमा कांग्रेसलाई वनारसको मणिकर्णिका घाटमा लगेर विसर्जन गरेको हेर्न तयार भए हुन्छ ।

रूपान्तरणले अलि–अलि आश जगाएको छ तर त्यसलाई पनि नेका सभापतिले आफैंमाथिको प्रहार ठानेर त्यस अभियानको विरुद्ध अभियान चलाएका छन् । उनका वरपर बसेर उनको आरतीगायकहरू रूपान्तरण अभियानका विरुद्ध आगो ओकल्दै हिँडेका भेटिन्छन् । यी कांग्रेस नै हुन् या अरू नै ? माटो जहाँको मुटुले छुँदैन, माया हरियो त्यसमा हुँदैन भन्ने माधव घिमिरे कति सत्य रहेछन् ? पाँच या सात पल्टै प्रधानमन्त्री भए पनि न पार्टीलाई माया गरेको देखियो न देशलाई न त जनतालाई नै । यस्ता मान्छे सय पटक नै प्रधानमन्त्री बने पनि कागलाई बेल पाक्यो हर्ष न बिस्मात ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?