सामाजिक सुरक्षाको दायरा विस्तार गरिँदै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने भएको छ । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी स्वरोजगार र अनौपचारिक क्षेत्रका व्यक्तिहरूलाई पनि समेट्ने तयारी गरेको हो ।

उनीहरूलाई कोषमा आबद्धता गराउने प्रक्रिया औपचारिक रूपमा छिट्टै सुरु गरिने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताउनुभयो । स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने कार्यको बुधबार नै औपचारिक शुभारम्भ गर्ने कोषको तयारी थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएपछि शुभारम्भ गर्ने कार्य तत्कालका लागि रोकिएको छ । अब छिट्टै औपचारिक कार्यक्रम सुरु गर्ने उहाँले बताउनुभयो ।

उनीहरूलाई कोषमा आबद्ध गराउन योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरेको उहाँले बताउनुभयो । सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर योगदान गर्ने, स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने र तीन गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो

नयाँ व्यवस्थाअन्तर्गत श्रमिकलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता, आश्रित परिवार सुरक्षा योजनालगायत ६० वर्षपछि बाँचुञ्जेल पेन्सनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । अनौपचारिक क्षेत्रमा श्रमिकको लागि न्यूनतम आधारभूत पारिश्रमिक २०.३७ प्रतिशत हुन आउने गरी मासिक कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिकसरह सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक ज्ञवालीले बताउनुभयो । सुरुवाती अवस्थामा घरेलु श्रमिक, कृषि क्षेत्रमा काम गर्ने श्रमिक, निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषमा आबद्ध गराउने योजना रहेको उहाँको भनाइ छ ।

कोषले पालिकाहरूसँग सम्झौता गरेर त्योभित्र आबद्ध विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक श्रमिकहरू र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पहिचानको आधार, परिचय दिने र सम्भव भएसम्म स–योगदान गरेर त्यसको व्यवस्थापन पनि पालिकास्तरबाटै गर्ने योजना रहेको बताउनुभयो । कोषले बुधबार स्याङ्जाको फिदिमखोला गाउँपालिकासँग सम्झौता गरेको उहाँले बताउनुभयो ।

२०७६ सालदेखि पालिकाअन्तर्गत कार्यरत अनौपचारिक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरू उपलब्ध गराइरहेको समेत जानकारी दिनुभयो । ललितपुरको वागमती गाउँपालिका दुग्ध उत्पादक किसानहरू सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । कोषले सबै काम प्रविधिमैत्री बनाएको बताउनुभयो । औपचारिक क्षेत्रका श्रमिकको अनिवार्य आबद्धताअनुसार अनिवार्य कानुनी प्रक्रिया र श्रमिकलाई दिनुपर्ने सेवा सुविधा दिन कोष प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कोषमा अहिलेसम्म ६ लाख २५ हजारभन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएको उहाँले बताउनुभयो । २०७६ सालदेखि औपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको थियो । कोषमा हालसम्म योगदानबापतको ३६ अर्ब १९ करोड रकम संकलन भइसकेको कोषले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?