प्रविधि आएपछि हराए खेतीमा परम्परागत शैली

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । आज भोलि गाउँघरमा हलगोरु देखिन छाडेका छन् । प्रविधिको बढ्दो प्रयोगसँगै गाउँघरमा गोरु पाल्नै छाडिएको छ । घण्टौ लाग्ने काम प्रविधिको प्रयोगले मिनेटमै हुने हुँदा म्याग्दीका कृषकको आकर्षण आधुनिक प्रविधिमा बढेको छ ।

प्रविधिको बढ्दो प्रयोगँंगै परम्परागत शैली हराउन थालेको छ । असार लागे लगतै खेतैभरि हल गोरुले जोत्ने कृषक अहिले देखिन छाडेका छन् । गाउँका प्रत्येक घरमा २÷३ हल गोरु हुने गोठ अहिले रित्तै छन् ।

खेत जोत्न गोरुको प्रयोग गर्न छाडेको वर्षौ भइसक्यो, अहिले ट्याक्टरको प्रयोग गर्ने गरिएको छ । महिनौ लगाएर खेत जोत्ने र रोपाइँ गर्ने कृषकले अहिले एक सातामै सक्ने गरेका छन् । पहिलेपहिले गोरुले खेत जोत्ने गरेको तर, अहिले भने ट्याक्टरबाट खेत जोत्ने गरेको बेनी नगरपालिका २ बगरफाँटका अगुवा कृषक क्षेत्रबहादुर कटुवाल बताउनु हुन्छ ।
विगतका वर्षमा जस्तो असार महिना भित्रमा नै खेत जोत्ने चटारो अहिले कृषकमा छैन । हलगोरुको ठाउँमा विभिन्न मेशिनरी प्रविधि आएपछि पछिल्ला वर्षहरुमा जस्तो चटारो हुन छाडेको छ । युवा जनशक्ति अध्ययन, रोजगारी, विभिन्न पेशा–व्यवसाय तथा विविध कामका शिलशिलामा गाउँदेखि बाहिर शहर, बजार तथा विदेशमा हुँदा मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा प्रविधिले टेवा पुगेको कृषक कृति सिउथानीले बताउनुभयो ।

परम्परागत तवरले गोरुका माध्यमबाट रोपिने धान अहिले कृषि यान्त्रिकीकरणको सहायताबाट रोपिन थालिएपछि कृषकले गोरु पाल्न छाडेका छन् । आकाशबाट पानी परेको मौका छोपेर धान रोप्नुपर्ने भएकाले एक दशकयता गोरुले खेत जोत्न छाडेको कृषक दीपक घिमिरे बताउनुहुन्छ ।
अहिले गाउँमा धेरैजसो कृषि यन्त्रको प्रयोग गरेर खेतीपाती गर्ने गरिएको छ । प्रविधिको प्रयोगले समयको बचतसँगै उत्पादन पनि बढ्ने गरेको कृषक बताउँछन् ।

साथसाथै प्रविधिले परम्परागत शैलीलाई विस्थापित गरेको छ भने ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने मजदुर विस्थापित हुन पुगेका छन् ।

जिल्लामा कूल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा तीमध्ये जम्मा १९ हजार ४सय ९८ हेक्टरको जमिनमा खेती हुँदै आइरहेको छ । जिल्लामा कूल तीन हजार ८सय ८५ हेक्टरको जमिनमा धानखेती हुँदै आएको छ ।

गत वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा एक हजार ६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार ३३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

गाउँमा वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा गाउँ युवाविहीन बन्दा असारको हिलोमा धान रोपाइँ गर्न महिला, बालबालिका र वृद्धवृद्धा जानुपर्ने बाध्यता रहेको बेनी नगरपालिका २ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीका ६ वटै पालिकामा खेतमा यतिखेर किसान धान रोप्न व्यस्त छन्। मंगला गाउँपालिका वडा नं ५ छिसवाङ गाउँका अधिकांश युवा रोजगारीको लागि विदेश जाने र बुहारी सहर बजारमा डेरा गरेर बस्ने गरेकोले काम गर्नेको अभाव भएको छिसवाङका ४९ वर्षिय वीरबहादुर पुनले बताउनुभयो ।

गाउँघरमा अमपर्म चल्न छोडेको छ । महंगो ज्याला दिएर कामदार लगाइ खेती गर्दा उत्पादनले खर्च पनि नउठ्ने भएकोले पनि किसानहरु कृषिप्रति निरुत्साहित हुँदै गएका मालिका गाउँपालिका ६ का तीर्थबहादुर सिउथानीले बताउनुभयो ।
केही समय अघिसम्म आलोपालो रोपाइँ गर्ने गरिएकोमा पर्म लगाउने नहुँदा समस्या परेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘गाउँमा बुढाबुढी मात्रै छन् युवा नै छैनन् ज्यामी नपाइँदा समस्या परेको छ । खेतै भरी बनमारा झारको झाडी फैलिएका छन् ।’’

जनशक्तिको अभावले बर्सेनि खेत बाँझो हुनेक्रम बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।केन्द्रका अनुसार स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा युवा विदेश पलायन हुन बाध्य छन्। राजनीतिक अस्थिरताले गर्दा देशभित्र रोजगारीका अवसर सहज नहुँदा जिल्लाबाट हरेक वर्ष बिदेसिनेको सङ्ख्या बढिरहेको छ ।

युवाशक्ति विदेश पलायन हुँदा करिव ५ हजार हेक्टर खेतमा वर्षेधान हुने गरेकोमा हाल घटेर ३ हजार ८ सय ९० हेक्टरमा मात्रै रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?