शालिग्राम संग्राहलय : धार्मिक पर्यटक आकर्षित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । एक दशक अगाडिसम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङ बजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ । तीन वर्ष यता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भिडभाड हुने गरेको छ ।

सुरुङ निर्माण गरि संग्रह गरेको सवा लाख शालिग्राम र रंगवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटक आउने गरेका छन् । मानवनिर्मित मन्दिर तथा शालिग्राम संग्राहलयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । बागलुङ कालिका मुस्ताङको मुक्तिनाथ आउने हजारौँ पर्यटक अहिले संग्राहलयमा पुग्न थालेका छन् ।

धार्मिक महत्वका संरचनाको प्रचारप्रसारसँगै यहाँ आउने पर्यटको संख्या हरेक वर्ष बढ्दो छ । सुरुङ भित्र कालिगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणी धामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ । जसले धेरैलाई आकर्षित गर्ने गर्छ । अझ बढी त शालिग्राम वरपर बनेका मन्दिर र त्यहाँ बनेका अनेक प्रकारका आकृतिले लोभ्याउने गर्छ । बागलुङ–बेनी सडक खण्डको केही माथि पट्टी रहेको संग्राहलय बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा पर्छ । पैदल यात्रामार्फत १५ मिनेट र गाडीमा पाँच मिनेटमा पुग्न सकिन्छ । मन्दिर, संग्राहलय लगायतका संरचना निर्माण गर्ला १० करोड बढी लगानी भएको छ । चाडपर्व र बिदाको बेलामा अझ बढी पर्यटक आउने गरेका छन् ।
खास गरि दक्षिण भारतका पर्यटक बढी आउने गरेको शालिग्राम संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । हरेक वर्ष यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको उहाँको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा एक लाख बढी पर्यटकले शालिग्रामको अवलोकन गरेका थिए भने चालु आर्थिक वर्षको हालसम्म २५ हजार बढी पर्यटक यहाँ आउने ऋषि प्रपन्नचार्य बताउनुहुनछ । धर्मप्रति बढी आस्था राख्ने पर्यटक शालिग्रामको दर्शन गर्न आउने उहाँको भनाइ छ । तीव्र प्रचारप्रसारको कारण पर्यटक आउने क्रम बढेको प्रपन्नचार्य बताउनुहुन्छ ।

“परारभन्दा पोहोर धेरै पर्यटक आउनुभयो, पोहोरभन्दा यस वर्ष बढी आउने संभावना देखिएको छ, साउनदेखि यता पच्चिस हजार बढी पर्यटकले यहाँको अवलोकन गर्नु भएको छ, मुक्तिनाथ, कालीगण्डकी र बागलुङ कालिकाको सेरोफेरोमा शालिग्राम संग्रालय रहेको हुँदा आगन्तुकलाई पाइक पर्ने गरेको छ,” ऋषि प्रपन्नचार्यले भन्नुभयो – “अझै बढी पर्यटक भित्राउने उद्देश्य राखेका छौँ, यहाँ अझै धेरै संरचना बन्दै छन्, धेरै दाताहरुले सहयोग गरेरै अहिले हामीहरु यो ठाउँमा छौँ, यो साल पोहोर सालकोभन्दा दोब्बर बढी पर्यटक ल्याउने सकिने अपेक्षा गरेका छौँ ।”

भारतबाट दर्शनका लागि आउनु भएका मुक्तिदेव हरिदासले शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने हुँदा चार दिन लगाएर यहाँ आएको बताउनुभयो । मुक्तिनाथ पुग्ने मुख्य सडकमै शालिग्रामको दर्शन गर्न पाउँदा खुसी लागेको हुँदा बताउनुहुन्छ । हरिदासले अहिलेसम्म आफूले एउटा पनि शालिग्राम दर्शन गर्न नपाएको सुनाउँदै एकै पटक सवा लाख देख्दा दंग परेको बताउनुभयो । संग्राहलय भित्र बनाइएको आकृति अझ बढी उकृष्ट लागेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “संसारमा कतै पनि एकै ठाउँमा यति धेरै शालिग्राम पाइँदैन होला, हाम्रो मुख्य गन्तव्य मुक्तिनाथ थियो, पोखरा आउने बेला यहाँको बारेमा सुन्यौँ र मुक्तिनाथभन्दा पहिला शालिग्रामको दर्शन गर्न आयौँ, हाम्रो २६ जनाको टिम छ, गाडीमै सिधै आउन सकिने रहेछ, तल कालिका मन्दिर, माथि पञ्चकोट र यहाँ शालिग्राम कस्तो रमाइलो रहेछ, एकै ठाउँमा आउँदा धेरैको दर्शन गर्न पायौँ, फेरि अर्को पटक पनि आउने छौँ, यस्तो पवित्र स्थानको प्रचार अलिक कम भएको जस्तो लाग्यो, इन्डियामा हामीहरुलाई थाहा थिएन, बाटोमा आउँदा बल्ल जानकारी पायौँ, उतै हुँदा थाहा हुन्थ्यो भने उहीँ ‘प्लान’ बनाएर आउथ्यौँ ।”

शालिग्राम वरपर रंगविंंकटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशालासमेत संचालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउँछन् । पछिल्लो समय पशुपति, जनकपुृर, लुम्बिनी र मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन र पर्यटकले शालिग्राम संग्रहालयलाई प्राथमिकतामा पारेका हुन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यहाँको बारेमा संचार माध्यम र समाजिक सञ्जालमार्फत प्रचारप्रसारमा ध्यान दिनु पर्ने बताउनुभयो । धार्मिक पर्यटकलाई लक्षित गरि सूचना बोर्डहरु राख्ने, पर्यटक सहायता कक्षा स्थापना गर्नका लागि पर्यटन विकास समितिले तयारी थालेको अध्यक्ष खड्का बताउनुहुन्छ ।

“हामीहरुसँग स्रोत साधान निकै कम हुन्छ, हामीहरुले एक्लै गर्न सकिदैन, यद्यपी हाम्रो क्षमताले भ्यायसम्म पर्यटन प्रवद्र्धनका लागि जुटि राखेका छौँ, पर्यटन बोर्डसँग पनि सहकार्य गर्ने छौँ,” उहाँले भन्नुभयो – “मुक्तिनाथ जाने सबै पर्यटकलाई यहाँ ल्याउनका लागि केही प्रयासहरु गरि रहेका छौँ, सबै पालिका, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर पर्यटकको आगमनलाई बढाउँछौँ, पहिलेको तुलनामा शालिग्राम संग्रालयसहित अन्य पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको संख्या बढेको छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?