जन्म शताब्दीमा गिरिजाबाबुको सम्झना

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर मानिने कोइरालाको जन्म शताब्दी सोमबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको हो । विसं १९८१ असार १८ गते जन्मिनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्वलनलगायत कार्यक्रम गरेका छन् ।

जन्मजयन्तीका अवसरमा नेपाली राजनीतिमा उहाँको योगदानबारे चर्चा गर्ने गरिन्छ । उहाँ पाँचपटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति हुनुभएको थियो । स्व. कोइरालालाई प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष मानिने गरेको छ । स्व. कोइरालाकै अगुवाइमा नेपालमा २२६ वर्षको राजतन्त्र विस्थापन भई गणतन्त्र स्थापना भएको थियो । पूर्वसभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

५ मंसिर २०६३ मा कोइरालाले नेकपा माओवादीसँग विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी हिंसा र आतंकको राजनीति समाप्त भएको घोषणा गर्नुभएको थियो । उहाँ ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा सक्रिय रहनुभयो । कोइरालाले आफ्नो राजनीतिक जीवनको सुरुवात गृहनगर विराटनगरको जुटमिलका श्रमिक नेताको रूपमा गर्नुभएको थियो ।

गिरिजा प्रसादलाई पहिलो राष्ट्रपति प्रस्ताव गर्न नसकेकोमा मलाई पश्चात्ताप छ : प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति प्रस्ताव नगरेकोमा पश्चात्ताप गर्नुभएको छ । सोमबार कोइरालाको सयौँ जन्म जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने प्रस्ताव नगरेर आफूले गल्ती गरेको बताउनुभयो । आफूले गिरिजाको चाहनाविपरीत पनि कतिपय काम गरेको उहाँको भनाइ थियो । ‘गिरिजाप्रसाद कोइरालामा कुनै दुविधा, अविश्वास या आशंका थिएन । बरु मैले गल्ती गरेँ उहाँले गर्नुभएन । मैले उहाँसँगको पहिलो भेटमा भनेको कतिपय कुरा र गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ,’ प्रचण्डले भन्नुभयो, ‘मैले उहाँको चाहनाविपरीत पनि कतिपय निर्णय गरेँ । म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई मैले पहिलो राष्ट्रपतिको प्रस्ताव गर्न सकिनँ । मलाई पश्चात्ताप छ ।’ प्रचण्डले कोइराला आफ्नो प्रेरणाको स्रोत रहेको समेत बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो : कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने दाबी गर्नुभएको छ । स्व. गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीका अवसरमा बिपी कोइराला युवा नेतृत्व मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा नेता कोइरालाले गिरिजाबाबुमा अदम्य साहस र निर्णय क्षमता भएको स्मरण गर्नुभयो । उहाँकै कारण दोस्रो जनआन्दोलन सफल भएको कोइरालाको भनाइ थियो । ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन, उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गर्नुहुन्थ्यो । उहाँकै कारण दोस्रो जनआन्दोलन सफल भएको हो,’ कोइरालाले भन्नुभयो, ‘दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो ।’

राष्ट्रपति बन्नु/नबन्नु गिरिजाबाबुका लागि मुख्य थिएन : रिजाल
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले स्व. गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु/नबन्नुको कुरा प्रमुख विषय नरहेको स्पष्ट पार्नुभएको छ । सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता रिजालले स्व. कोइरालालाई प्रधानमन्त्री दाहालले जति तिल लिएर श्रद्धाञ्जलि व्यक्त गरे पनि नपुग्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहाललाई स्व. गिरिजाप्रसाद कोइरालालाई धेरै तिल हालेर श्रद्धाञ्जलि दिएर पुग्छ भन्ने नठान्न आग्रह गर्नुभयो । उहाँले कांग्रेससँगको प्रधानमन्त्रीको अहिलेको यात्रा १२ बुँदे समझदारीको निरन्तरता भएको बताउनुभयो । उहाँले नेपालको वर्तमान राजनीति स्व. कोइरालाको दिशा निर्देशअनुसार चलेको दाबी गर्नुभयो । नेता रिजालले प्रधानमन्त्री दाहालले १२ बुँदे सम्झौताको हरेक मसीको गहिराइलाई गम्भीरतापूर्वक बुझेर अघि बढे दाहालको राजनीतिक जीवन नेपाली जनताको सेवा गर्ने अवसर हुने जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?