काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले पार्टी विभाजनअघि वर्तमान गठबन्धन फेर्ने गतिविधि भित्री रूपमा चलिरहेको स्वीकार गर्नुभएको छ । बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले सो कुरा बनाउनुभएको हो । गठबन्धनको अंकगणित कायम राख्न पार्टी विभाजन गरेको आरोपबारे प्रष्टीकरण दिँदै राईले आफूहरू राजनीतिक स्थायित्वको पक्षमा रहेको जिकिर गर्नुभयो । ‘अंकगणित त मिलेकै थियो । तर, अलिकति फेरफार गर्न केही गतिविधि अण्डरकरेण्ट चलिरहेका थिए । यो संवेदनशील थियो । हामी सतर्क हुनुपर्ने अवस्था थियो । हामी देश अस्थिरताको शिकार हुने अवस्था रहनु हुँदैन भन्नेमा सचेत थियौँ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष राईले विभाजनपछि पनि आफ्नो पार्टी अपवाद बनेर स्थापित हुने जिकिर गर्नुभयो । काम गर्ने तरिका शैली परिवर्तन गर्नुका साथै गतिविधि पारदर्शी र जनमुखी बनाएर जाँदा दललाई स्थापित गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजसम्म जसपा नेपालले जसरी नेतृत्व प्रदान गर्ने काम भयो, त्यसले उन्नति गर्न सकेन । मधेश प्रदेशमा मत घट्दै गयो । चुनाव जित्न पनि चार-पाँचवटा दलले साझा उम्मेदवार बनाउनुपर्ने स्थिति पैदा भएको छ । पार्टीको घट्दो शाख र जनताको आकर्षणलाई पुनःस्थापना गर्न सकिन्छ र गर्नुपर्छ भन्ने अठोटका साथ आएका छौँ ।’
अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानुनी ढंगले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताउनुभयो । उहाँले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको दाबी गर्नुभयो । उपेन्द्र यादवसँग सैद्धान्तिक, राजनीतिक, शैलीगत र नीतिगत कुरामा मत भिन्नता रहेकैले नयाँ दल गठन भएको अध्यक्ष राईको भनाइ छ ।
मधेशमा पनि हाम्रै पक्षका सांसदको बहुमत हुन्छ : महासचिव राई
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेश प्रदेश सभामा आफूहरू नेतृत्वकै पार्टीका सांसदहरू धेरै हुने दाबी गरेको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै जनता समाजवादीले मधेशमा पनि आफूहरूकै सांसदको बहुमत पुग्ने दाबी गरेको हो । महासचिव मोहम्मद इस्तियाक राईले केन्द्रमा जस्तै मधेशमा पनि आफूहरू पक्षकै सांसदको बहुमत हुने बताउनुभयो । ‘मधेशको सवाल राख्नुभएको छ, २१ दिने सूचना जारी भएको छ । कतिले हाम्रो विचार र पार्टीलाई सकारात्मक रूपमा लिएर आउनुहुन्छ भन्ने कुरा छिट्टै थाहा पाउनुहुने छ,’ उहाँले भन्नुभयो, ‘मधेश प्रदेशमा हामी उहाँहरू भन्दा बढी नै हुन्छौँ ।’ मधेशमा जसपा नेपालका १९ जना सांसद छन् । महासचिव राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारीको सहअस्तित्व स्वीकार नगरेकोले नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभयो ।
उपेन्द्र यादव नेतृत्वको जसपा फेरि फुट्यो
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । जसपा नेपालबाट विभाजित भई महेन्द्र लावती नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको छ । उनीहरूले केही वर्षअघि संघीय लिम्बुवानलाई जसपा नेपालमा मिसाएका थिए । गत आइतबार जसपा नेपालबाट अशोक राईसहित सातजना प्रतिनिधिसभा सांसद छुट्टिएर जनता समाजवादी गठन भएको थियो । गत सोमबार निर्वाचन आयोगले जनता समाजवादीलाई मान्यता दिएको थियो । पार्टी विभाजनबाट असन्तुष्ट रहेको लावती लगायतले बिहीबार पहिचानवादी मोर्चा घोषणा गरेका छन् । सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएको निष्कर्षसमेत उनीहरूको छ ।
आगामी दिनमा विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई समृद्धि पथतर्फ लैजाने मोर्चाको भनाइ छ । उनीहरूले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर जसपा नेपालबाट अलगिएर पहिचानवादी मोर्चा घोषणा गरिएको बताउनुभयो । पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग-अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियान्ता तथा व्यक्तित्व सबैलाई नयाँ शिराबाट एकताबद्ध बनाउने प्रयास गरिने मोर्चाले बताएको छ ।
जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरूको कुनै हात नरहेको बताउनुभयो । उहाँले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताउनुभयो । पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीले नेपालमा सदियौँदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको बताउनुभयो । नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उहाँको भनाइ छ । जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरू पहिला उक्त पार्टीमा लागेको उहाँले बताउनुभयो । पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उहाँको भनाइ छ ।
यादवद्वारा केन्द्रीय समिति बैठक आहृवान
उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । पार्टी विभाजनपछि यादवले केन्द्रीय समितिको बैठक बोलाइएको हो । जसपा प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार जसपा, नेपालको केन्द्रीय समिति बैठक वैशाख ३१ र जेठ १ गते बस्नेछ । बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले केन्द्रीय समिति बैठक आहृवानको निर्णय लिएको थियोे । बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताउनुभयो । अशोक राईले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रीय समिति बैठक बोलाउनुभएको हो । बहुमत सांसद लिएर राईले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराइसक्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच