काठमाडौं । शिवरात्रिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गर्नुभएको छ ।
नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ । सोही अनुसार उहाँले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गर्नुभएको हो ।
उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गर्नुभएको थियो ।
त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजुकुमार खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, स्थानीय नियकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो ।
महाशिवरात्रिका अवसरमा आज लाखौं भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् ।
बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिएको थियो ।
दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए ।
शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्दछन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनहरुले उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच