![त्रिशुली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Inauguration-of-Trishuli-3B-Hub-and-Valche-Substation-Hita-artha.jpg)
काठमाडौं । सहकारी ठगीबारे छानविन गर्न संसदीय छानविन समितिको विषय सत्ता र प्रतिपक्षको प्रतिष्ठाको विषय बनेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन गठनको विषयलाई बटमलाइन बनाएको छ । उता, सरकार र सत्तापक्ष कांगे्रेसको मागअनुसार गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति गठन गर्ने पक्षमा छैनन् । बिहीबार सत्ता र विपक्षी संसदीय छानविन समिति गठनमा सहमतिनजिक पुगेको दाबी गरिएको थियो । तर, उक्त सहमतिले सत्तारूढ दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असहमतिका कारण मूर्तरूप लिन नसकेको विपक्षी दल कांग्रेसका नेताहरूको दाबी छ ।
सत्तापक्ष गृहमन्त्री लामिछानेमाथि छानविन नहुनेगरी समिति गठन गर्न तयार रहेको छ । तर, विपक्षी दल कांग्रेस भने गृहमन्त्रीलाई बाहिर राखेर छानविन समिति गठनको औचित्य नहुने अडानमा छ । कांग्रेसले संसद्को हिउँदे अधिवेशनदेखि नै उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाम पनि जोडिएको सहकारी ठगीका विषयमा संसदीय छानविनको माग गर्दै सदनमा अवरोध गरिरहेको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सत्ताधारी सांसदहरूसँग धकेलाधकेलको अवस्था बनेपछि परिस्थिति झन् जटिल बनेको छ ।
बिहीबारको घटनापछि विपक्षी दलहरूले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले सभामुख नेकपा एमालेको आदेश पालक बनेको आरोप लगाएका छन् । संसदीय परम्परा र मान्यतामा विपक्षी दल उभिएको अवस्थामा पनि संसद् अवरोध मानिन्छ । नेपालमा एक विपक्षी सांसद उभिएको अवस्थामा पनि संसद् अवरोध मानिएको उदाहरण रहेको छ । शुक्रबार पनि संसद्को गतिरोध अन्त्यका लागि भएका प्रयत्नहरूले सार्थकता पाउन सकेन ।
प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे सम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सभामुख देवराज घिमिरेले अन्तिम समयमा दिउँसो २ बजेका लागि स्थगित गर्नुभएको थियो । तर, २ बजेसमेत बैठक बस्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने शुक्रबारको बैठक स्थगित गर्न माग गरेको थियो । बैठक सञ्चालनबारे शुक्रबार मध्याहृन सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएपछि दलहरूबीच सहमति जुटाउने र त्यसपछि मात्रै बैठक सञ्चालन गर्ने भन्दै बैठक स्थगित गरिएको हो । कांग्रेसले सहकारीको रकम अपचलन गरेको विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने भन्दै संसद्मा अवरोध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले आगामी आइतबार बस्ने संसद् बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभाको बैठक पाँच मिनेट पनि बसेन
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार पनि राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक सुरु गरेलगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् । बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रूपमा सञ्चालन गर्न व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको थियो । उहाँले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गर्नुभयो । तर, कांग्रेसका सांसदहरूले अवरोध जारी राखेपछि पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरू बीचको छलफल स्थगित
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको बैठक स्थगित भएको हो । स्थगित बैठक आज (शनिबार) बिहान साढे ८ बजे बालुवाटारमा बस्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच धकेलाधकेलको स्थिति भएपछि शुक्रबार बिहानैदेखि दुवै पक्ष आ-आफ्ना रणनीति बनाइरहेका छन् । कांग्रेसले संसद् भवन नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलको बैठकले छानविन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । यता, सत्ता पक्षको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले संसद् खुलाउने विषयमा छलफल गरेका थिए ।
कांग्रेस इगो राखेर प्रस्तुत भयो : सरकार
सरकारले प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनेबारे भएको छलफलमा एउटै कुरामा अडिन नसक्दा सहमतिको वातावरण बिथोलिएको टिप्पणी गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारकी प्रवक्ता रेखा शर्माले सहकारीको समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै भन्नुभयो, ‘समग्र सहकारीको विषयमा छानविन पनि गर्ने र दोषी प्रमाणित हुनेहरूलाई कारबाहीको सिफारिश पनि गर्ने समिति बनाउने भन्नेमा छलफल भएको थियो त्यो छलफलमा अहिले प्रमुख प्रतिपक्ष अडिन सकेन, सहमति बन्छ भन्ने नै थियो तर संसद्मा गतिरोध राख्ने ढंगले नै प्रस्तुत भयो । त्यस कारणले सहमति हुन सकेन । कांग्रेसले इगो राखेर सरकारसँग टसल गर्न खोजिराखेको छ ।’
प्रचण्ड र ओलीले षड्यन्त्र गरे रास्वपा शिकार बन्नसक्छ : थापा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्रमा सामेल भएको आरोप लगाउँदै त्यसको मारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्ने बताएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले षड्यन्त्रमा साथ दिएको भन्दै जानेर नजानेर रास्वपा त्यसको शिकार बन्ने दाबी गर्नुभएको हो । महामन्त्री थापाले भन्नुभयो, ‘यो षड्यन्त्रमा रास्वपालाई फसाउने काम भइरहेको छ । बाहिर जे देखिए पनि एमाले अध्यक्षले एउटा कुरा चाहिराख्नु भएको छ । प्रधानमन्त्रीको आफ्नो चाहना छ । यसमा बलिको बोका राष्ट्रिय स्वतन्त्र पार्टी बनिराखेको छ । उहाँ (रास्वपाका नेता)हरूले कसरी लिनुभएको छ थाहा छैन ।’ संसद्को गतिरोध अन्त्यका लागि आफू तयार रहेको बताइरहेका प्रधानमन्त्री प्रचण्डको भूमिकाले नियतमा प्रश्न उठेको महामन्त्री थापाको जिकिर छ ।
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा कांग्रेसले असभ्य व्यवहार देखाएको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको ओलीको टिप्पणी छ । कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’
संसद् सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन : कांग्रेस
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संसदीय दलको शुक्रबारको बैठकले बिहीबार सभामुखले विपक्षीको अवरोधबीच सदन सञ्चालन गर्न खोजेकोमा आपत्ति जनाएको हो । बैठकले सरकार र सत्ता पक्षलाई जनहितविरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय गरेको जानकारी दिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, ‘सभामुख सिंगो सदनको सभामुख हुनुपर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।’
एकपछि अर्को सर्त राखेर कांग्रेसले दोहोरो चरित्र देखायो : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसका नेताहरूले एकपछि अर्को सर्त राखेर सहमतिको प्रक्रिया गिजोलेको आरोप लगाएको छ । रास्वपा सांसद मनीष झाले बिहीबार नै समझदारीको टिओआर बनिसकेको अवस्थामा पछि कांग्रेसले कुरा फेरेको दाबी गर्दै भन्नुभयो, ‘हामीलाई बोल्न दिनुहोस् । जहाँ प्रश्न उठेको छ । त्यहीँ जवाफ दिन्छौँ भनेका छौँ । तीनवटा सहकारीको नाम उल्लेख गर्न चाहिरहनु भएको छ । त्यो समस्या होइन समस्या भएका सबैमा गरौँ न भन्ने हो । कसैको नाम तोकेर समाचार आयो भन्दैमा समिति बनाउने हो ?’
ओली संसद् विघटनको लाइनमा छन् : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली संसद् विघटनको लाइनमा रहेको टिप्पणी गर्नुभएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने लचिलो भए पनि ओलीले संसद् विघटन गर्ने लाइनमा भूमिका खेलेको आरोप लगाउँदै शाहीले भन्नुभयो, ‘विशेषगरी एमालेका अध्यक्ष ओली संसद् विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिला आफूले विघटन गरेको संसद् त्यही सही हो भन्ने लाइनमा जान चाहनुहुन्छ । उहाँलाई स्पष्ट थाहा छ, अहिले संसद् अवरुद्ध भएर बजेट आएन भने विघटन हुन्छ भन्ने थाहा छ त्यसैको भूमिका खेल्नुभएको छ । गृहमन्त्री लचिलो देखिनुभएको छ ।’
ठगी भएका सहकारी उल्लेख गरेर संसदीय छानविन गठन हुनुपर्छ : पाण्डे
सत्तारूढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन गरिनुपर्ने बताउनुभएको छ । गृहमन्त्री रवि लामिछानेको नाम नलेख्ने हो भने ठगी भएका सूर्यदर्शनलगायत सहकारीका नाम उल्लेख गरेर छानविन समिति गठन गर्न सकिने सुझाव दिँदै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘संसदीय समिति नबनाई सुखै छैन, मध्यमार्गी कहीँ ठाउँ छैन । एउटा कुरा के हुनसक्छ भने फलानो व्यक्तिका नाममा भनेर नाम किट्ने वा नकिट्ने भन्नेचाहिँ हुनसक्छ । सुप्रिम, सूर्यदर्शन के–के सहकारीका नाम लेखेर छानविन गरेचाहिँ हुन्छ । सहकारीको पनि नाम नराख्ने हो भने के चाहिँ छानविन गर्ने त ? गृहमन्त्रीको नाम तोक्नै परेन नि ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच