किन लोकप्रियता बढ्दैछ बालेन र हर्क साङ्पाङको ?

Read Time = 15 mins

देशमा यति ठूला राजनीतिक दलहरू छन् र त्यत्तिकै ठूला नेताहरू पनि छन् । तर, आज किन काठमाडौं मनपाका र धरान उप-मनपाका प्रमुख क्रमशः बालेन साह र हर्क साङ्पाङमात्रै नेपालीहरूको यति धेरै आशा र विश्वासको केन्द्र बनेका छन् ? बालेन साह र हर्क साङ्पाङको सामु अन्य दल र नेताहरू सबै फिक्का देखिनु राजनीतिमा आएको वितृष्णा र घृणा नै हो । त्यसैले आजभोलि दलहरू र तिनका नेताभन्दा बालेन र हर्क साङ्पाङ आदिहरू विशेष चर्चामा रहेका छन् । एउटा सामान्य स्थानीय सरकार प्रमुखहरू जो दलहरूको सहयोग र समर्थनविनै आज चुनाव जितेर आमनेपालीको आकर्षण बढ्दै जानुले दलीय राजनीतिप्रतिको विकर्षण पनि हो ।

यसभित्र विशेष केही रहस्य लुकेको छ या यो स्वाभाविक परिणाम हो यसको गम्भीर अध्ययन अनुसन्धान गर्नुपर्ने पनि देखिन्छ । मूलतः गणतन्त्रवादी राजनीतिक शक्तिहरूले बालेन, हर्क आदिको बढ्दो लोकप्रियताको वास्तविकता पत्ता लगाउन आवश्यक छ । पत्ता लगाउनेमात्रै होइन त्यसबाट आफूले पाठ पनि सिक्नुपर्ने देखिन्छ । अन्यथा विभिन्न कालखण्डमा भए/गरेका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि जोगाइराख्न हम्मेहम्मे देखिँदै छ । दलहरूको साख खस्कदै जाँदा नवोदित राजनीतिक शक्तिहरूप्रतिको आकर्षण बढ्दै गरेको प्रष्टै छ ।

अहिले जसले जेसुकै भन्नुहोस् तर एउटा राप्रपाको सांसद ज्ञानबहादुर शाहीले तहल्का पिटिरहेका छन् । यद्यपि उनको स्तर र चरित्र संसदीय मर्यादा र आचरण अनुरूप नभए पनि उनले स्याबासी पाइराखेका छन् । सामान्यतः नेपाली नागरिकका लागि संसदीय मर्यादा र आचरणसँग कुनै चासो हुनुपर्ने देखिँदैन । माओवादी जनयुद्धको त्रासदीबाट आक्रान्त र पीडितहरू ज्ञानबहादुर शाहीको आक्रमक हमला (माओवादीप्रतिको)ले जनसमर्थन जुट्दै गएको छ । उता भ्रष्टाचारको घिनलाग्दो परिदृश्यबाट भरपूर राजनीतिक लाभ लिन रास्वपा पनि त्यत्तिकै लागिपरेको छ । यस्तो स्थितिमा पुराना राजनीतिक दलहरू अस्तित्व रक्षार्थ संघर्षरत छन् ।

धेरै नेपालीहरूको ध्यान अब हुने २०८४ को आमनिर्वाचनतिर आकर्षित भएको अनुभव गरिँदै छ । कतिपयले गद्दीच्युत राजा राजनीतिमा प्रत्यक्ष आइदिए हुन्थ्यो भन्ने गरेको पनि देखिन्छ भने उता बालेन साहले दल खोलिदिए हुन्थ्यो भन्नेहरूको पनि कमी छैन । रास्वपा, राप्रपा आदिमा विश्वास नराख्नेहरूले बालेन साह दल दर्ता गरेर आऊन् भन्ने आशा राखेको पाइन्छ । बालेनको नेतृत्वमा हर्क साङ्पाङ र गोपाल हमाल जस्ता स्वतन्त्र मेयरहरू एकै ठाउँमा भएको हेर्न चाहेका छन् । अहिले यस्तै स्थितिबाट देशको राजनीति गुज्रिराखेको छ । उता पुराना दलहरू पनि आफ्नो वर्चश्व जोगाउन हरप्रयाश जारी राखेकै छन् । खास गरेर सत्तारुढ दलहरूमा अहिलेको ताजा परिस्थिति अत्यन्तै पेचिलो देखिन्छ ।

धेरै नेपालीहरूको ध्यान अब हुने २०८४ को आमनिर्वाचनतिर आकर्षित भएको अनुभव गरिँदै छ । कतिपयले गद्दीच्युत राजा राजनीतिमा प्रत्यक्ष आइदिए हुन्थ्यो भन्ने गरेको पनि देखिन्छ भने उता बालेन साहले दल खोलिदिए हुन्थ्यो भन्नेहरूको पनि कमी छैन ।

माओवादी अबको चुनावबाट सकिने हो कि भन्ने चिन्ताले ग्रसित भएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । किन पनि अनुमान गर्न सकिन्छ भने उनीहरूले सशस्त्र युद्धताका उठाएका मुद्दाहरू सबै विसर्जन गरेर संसदीय भासमा भासिन पुगे । अब उनीहरूप्रति जनताले विश्वास गर्ने आधारहरू सबै सकिइसकेका छन् । यसर्थ माओवादीको अबको राजनीतिक भविष्य निष्पट अन्धकारतिर ओरालो लागेको छ तर कुनै त्यस्तो चामत्कारिक काम गरेछन् भने भन्न सकिँदैन । कांग्रेस आफैं आन्तरिक विवादले ग्रसित छ भने एमाले पनि भ्रष्टाचारका मुद्दाले त्रसित छ । यी प्रमुख तीन दलहरूले आफ्नो गुमेको जनविश्वास फर्काउन सक्लान् भन्ने कमैले पत्याएका छैनन् ।

यस सन्दर्भमा दलहरूप्रति जनविश्वास नहुँदा स्वतन्त्रमा मानिसहरूको आकर्षण बढेको पाइएको छ । यद्यपि त्यो स्वतन्त्रताप्रतिको आकर्षण कुनै भावनामा हो कि साँच्चै हो यसै भन्न नसकिए पनि ताजा अवस्था त्यस्तै छ । यी सबै परिस्थितिमा नेपाली जनताको चाहना र भावना बालेन र हर्कतिर आकर्षित भएको छ । त्यसैले आजभोलि जताततै उनीहरूकै सकारात्मक चर्चा छ । संघीय सरकारको असहयोगका बाबजुद पनि बालेन र हर्कहरूले हरेक दिनजस्तो केही न केही गरिरहेको अवस्था छ । काममा विश्वास राख्नेहरूले अरूले के भन्छन् भन्ने चिन्ता गर्दैनन् बरू आफूले के गर्नुपर्ने हो र आफ्नो नगरको प्राथमिकता के हो भन्नेमा जनताको प्रतिनिधिको हैसियतले बढी चिन्तित देखिन्छन् ।

आज त्यहीँ चिन्ताले सार्वजनिक चासोको विषयलाई सम्बोधन गर्दैछन् बालेन र हर्क साङ्पाङ । धराने जनताको खानेपानीको समस्यालाई उच्च-प्राथमिकतामा राखेर झण्डै ४२ किलोमिटर टाढाबाट पानी ल्याएर आफ्ना नागरिकलाई खानेपानीको व्यवस्था गर्नु एउटा दृढ इच्छाशक्ति र जनताप्रति जवाफदेहिताको एक अनुपम उदाहरण हो । यस्ता कार्यको अन्य पालिका प्रमुखहरूले पनि सिको गर्न सिक्नुपर्छ । यद्यपि पालिकैपिच्छे आवश्यकता आआफ्नै हुन्छ्न, सोही अनुसार काम गर्ने दृढ इच्छाशक्ति देखाऊन् भन्ने आमनेपालीको व्यक्त वा अव्यक्त चाहना छ ।

यसर्थ यो यथार्थतालाई स्थानीय सरकारहरूले आत्मसात गर्दै अघि बढ्दै गए भने सम्भवतः प्रदेश सरकारहरूको औचित्य र आवश्यकता स्वतहः हटेर जान सक्नेछ । अहिले बाहिर सडक र सञ्चारमाध्यामा हाल्ला गर्दैमा प्रदेश सरकारको खारेजी वा औचित्य सकिँदैन । त्यसका लागि त स्थानीय सरकार जसरी बालेन र हर्क साङ्पाङले खटेर काम गरेका छन् त्यसरी नै अरू ७५१ पालिकाहरू पनि एक्सनमा आउनुपर्छ । आज देशका दुई पालिका प्रमुखको सकारात्मक कदमहरूले संघीय सरकारलाई निरीह बनाइदिएका छन् । त्यसैले काठमाडौंका बालेन साह र धरानका हर्क साङपाङको लोकप्रियता हृवात्तै बढेर गएको छ ।

यस क्रमलाई बाँकी पालिकाहरूले पनि पछ्याउँदै जानेको हो भने निसन्देह त्यसभन्दा माथिका सरकारहरू अवश्य पनि सच्चिन बाध्य हुनेछन् । देशको विद्यमान अवस्था अत्यन्तै भयावह छ । आर्थिक र नैतिक रूपले नेपाल असफल राष्ट्रको स्थितिमा पुगिसकेको छ । मूलतः कुनै शासन प्रणालीलाई सबल र सक्षम राष्ट्रको रूपमा स्थापित गराउन मुख्य दुई कुरालाई ध्यान दिनुपर्छ । पहिलो शर्त हो सुशासन र दोस्रो उच्च–नैतिकता । तसर्थ राजनीतिलाइ जवाफदेही बनाउन आर्थिक पारदर्शिता र नैतिकताको प्रश्न अहं बनेको छ । आज यत्रतत्र आर्थिक अपचलन भएका घटनाले सिंगो मुलुकको अस्तित्वमाथि नै प्रश्नचिहृन लागेको छ ।

त्यसैले नेपालको स्वाभिमान अहिले कमजोर देखिँदैआएको छ । यही सन्दर्भमा बालेन र हर्क साङपाङको महत्व बढेर गएको छ । यदि दृढ इच्छाशक्ति भए दुई नगरप्रमुखले त जनताको मन जित्न सके भने अरूले नसक्ने भन्ने हुँदैन, खाँचो इच्छाशक्तिको मात्र हो । अहिले काठमाडौंका मेयर बालेन साह नेपालको सांस्कृतिक नक्साका कारण अदालतमा तारेख बोक्न बाध्य छन् । तथापि उनमा किंचित पश्चाताप देखिँदैन र नेपालीहरूबाट सहयोग र साथ पाइराखेका छन् । त्यही नै उनको पुँजी र शक्ति हो । यद्यपि उनी अर्थात् बालेन साह त्यो विषयमा प्रवेश नगरेको भए पनि हुनेथियो कि भन्नेहरू पनि छन् ।

जे होस् ठूला दलहरूको आपसी असमझदारी, अकर्मण्यता र असक्षमताले उनीहरू आफू त बर्बाद भए भए देशको अस्तित्व नै समाप्त पर्न उध्यत हुँदा आज विभिन्न कालखण्डमा जनआन्दोलनमार्फत रछ्यानमा पुर्‍याइएका घुर्‍यानले मुन्टो उठाएका छन् । रास्वपा जस्तो पार्टी देशकै चौथो शक्तिको रूपमा संसदमा देखापरेको छ । उता आज देशव्यापी रूपमा बालेन र हर्कले स्याबासी पाइरहेका छन्, आखिर कसका कारणले ? जता गए पनि यसको सम्पूर्ण जिम्मेवारी यिनै तीन दलहरू कांग्रेस, एमाले र माओवादीमै जान्छ । यद्यपि उनीहरूले त्यो जिम्मेवारीबोध अझै गरेका छैनन् ।

यसर्थ यी ठूला भनिएका दल र तिनका नेताहरूप्रति ठड्याइएका प्रश्नको जबाफ नदिएसम्म जनताको मन फर्कन सक्ने अवस्था देखिँदैन । जति भ्रष्टाचारका केसहरू छन् एक-एक गरेर खोलिनुपर्छ र निष्पक्ष छानविन हुनुपर्छ । आज त्यही भ्रष्टाचारका कारणले प्रतिक्रियावादी शक्तिले समेत टाउकोमा टेक्न पुगेका छन् भने नवोदित शक्तिको त कुरै छाडौं । सामाजिक सञ्जाललाई आधार मानेर विश्लेषण गर्ने हो भने अहिले काठमाडौंका मेयर बालेन, धरानका हर्क र धनगढीका गोपालहरू पार्टी खोलून् भन्ने तीव्र चाहना व्यक्त गरेको पाइन्छ । यद्यपि यो कति व्यावहारिक र सान्दर्भिक हुन्छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन । किनकि यस्तै अस्थिरताबीच खेल्ने तप्काहरू मौकाको पर्खाइमा रहेका हुन्छन् र विभिन्न कोणबाट अनर्गल हल्ला चलाइराखेका हुन्छन् ।

यस यथार्थतालाई पनि सम्बन्धित पक्षहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने देखिन्छ । धमिलो पानीमा माछा मार्नेहरूका लागि अहिलेको अवस्था अत्यन्तै अनुकूल छ र उनीहरू सल्बलाइरहेका छन् । त्यस्ता तत्वबाट होसियार रहनुपर्ने हुन्छ । प्रतिगामी र षड्यन्त्रकारीका लागि अहिलेको राजनीतिक अस्थिरता सर्वाधिक लाभ उठाउने अवसर हो भन्ने निष्कर्ष ठीक हुन सक्छ । तसर्थ अहिले जतातिर जनलहर देखिएको छ उनीहरूले पनि उच्च–सतर्कता अपनाउनुपर्ने देखिन्छ । बहकाउमा लागेर वा भावनामा कुदेर हल्लाको पछाडि लाग्नुपूर्व परिस्थितिको गम्भीर अध्ययन र विश्लेषण गर्नु बुद्धिमानी ठहरिन्छ ।

जसरी बालेन र हर्कका पछाडि जनमत देखिँदै छ त्यस्तो जनमत ज्ञानेन्द्र शाहले सत्ता हातमा लिँदा पनि जयजयकार गरेकै थिए तर गद्दी छोडेर नागार्जुन जाँदा कुनै एकजना राजावादी जो आज चर्को स्वरमा उफ्रनेहरू शीतकालका कोइली जस्ता भएर अलप भएको घटनाको इतिहास साक्षी छ । सञ्चारमाध्याम र सामाजिक सञ्जाललाई आधार मानेर आफ्नो धारणा बनाउनुभन्दा देशको औचित्य र आवश्यकताको खाका तयारीतिर लाग्नु आजको आवश्यकता हो । यसो गर्दै गएमा बालेन, हर्क आदिको लोकप्रियता थप बढ्दैजाने निश्चित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?