मानबहादुर भलिबल टोलीको नयाँ कप्तान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान चुनिनुभएको छ । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आउनुभएका मानबहादुर आठ वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आउनुभएको छ । २६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय विच भलिबलमा कप्तानको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

गत साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलमा भएको विवादमा मुछिएपछि संघले हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गर्ने निर्णय लिएको थियो । कप्तानीको जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमता नदेखिएका कारण उहाँलाई कप्तानीबाट पदमुक्त गरिएको हो ।
सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्धको खेलका क्रममा हरिहजुर दर्शकमाथि आक्रोशित हुनुभएको थियो । उक्त घटनाको अनुसन्धानपश्चात् संघले थापालाई कप्तानीबाट हटाउने निर्णय लिएको हो ।

हरिहजुर गत महिना इम रानाको स्थानमा राष्ट्रिय टोलीको कप्तान नियुक्त हुनुभएको थियो । हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो । जसमा नेपालले सबै ६ खेल गुमाएको थियो ।

लिगमा गण्डकी प्रदेशको खेलविरुद्ध आर्मीले खेलिरहँदा केही दर्शकले अपशब्द बोलेको भन्दै आर्मीका खेलाडीहरू दर्शकदीर्घामा गई हातपात गर्न पुगेका थिए । त्यसमा हातपातमै उत्रिने स्पाइकर धनबहादुर भट्टलाई संघले ६ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

सोही घटनामा आक्रोशित व्यवहार देखाएका राष्ट्रिय टोलीका सदस्यसमेत रहेका आर्मीका राजेन्द्र विष्ट र अर्का खेलाडी धनपति कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । त्यस्तै, अर्का खेलाडी दुर्गाबहादुर खड्कालाई सचेत गराइएको छ ।

नेपालले अब नयाँ कप्तान मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ । नेपालको पुरुष टोलीले लगातार दोस्रोपटक एसियाली खेलकुद खेल्न लागेको हो । सन् २०१८ मा इण्डोनेसियामा खेल्दा पनि मानबहादुर टोलीका सदस्य हुनुहुन्थ्यो ।

सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएका मानबहादुर त्यसयता निरन्तर टोलीमा हुनुहुन्छ । सन् २०१७ मा माल्दिभ्समा सम्पन्न सेन्ट्रल जोन भलिबलको कांस्य पदक जित्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय पदक जित्दा मानबहादुर त्यसको सदस्य हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?