अब बागलुङ नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङ नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरुवातसँगै निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिका भित्र सडक पुगेका सबै बस्तीमा पुगेर बिरामीको उद्धार गर्ने गरि एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो ।

एम्बुलेन्सका साथै नगरपालिकाले आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरेको छ । आपतकालीन केन्द्रमा दमकल, शव बहान, डोजर, व्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्री र फायर सिलिण्डहरु तयारी अवस्थामा राखेको छ ।

आर्थिक वर्ष २०७९/८० मा विनियोजित बजेटबाट नगरपालिकाले वडा नम्बर २ स्थित ट्रस भवन निर्माण गरेको आवश्यक उपकरण र कर्मचारी बस्ने आवसको बनाएको छ ।

नगर क्षेत्रमा हुने विपद् व्यवस्थापनका लागि नगरपालिकाले पूर्व तयारीका लागि संरचना निर्माण आवश्यक सामग्री तयारी अवस्थामा राखेको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

अब कोही नागरिक एम्बुलेन्स नपाउँदा अस्पताल नपुग्दै बाटोमै ज्यान गुमाउनु नपर्ने भन्दै अन्य विपद्मा परेको पनि तत्काल उद्धार हुने श्रेष्ठ बताउनुहुन्छ ।

दमकलका लागि १२ हजार लिटरसम्मको पानी १२ मिनेटमै भर्ने व्यवस्था गरेको भन्दै आगलागी, बाढी पहिरो र अन्य विपद्बाट क्षति हुनबाट रोक्न नगरपालिकाले यो प्रयास गरेको श्रेष्ठको भनाइ छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरि व्यवस्थापन गरेको उहाँ बताउनुहुन्छ ।

‘बजार क्षेत्र हो या ग्रामीण क्षेत्र जुनसुकै ठाउँमा विपद् आइ लाग्न सक्छ, त्यसबाट बच्नका लागि पूर्व तयारी त गर्नुै प¥यो, यदी सचेत हुँदाहुँदै पनि कहिले काहीँ अप्रत्यासित विपद् पनि आइ लाग्ने हुँदा हामीहरुले अहिले आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरेका छौँ’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘अहिले फ्रि एम्बुलेन्स संचालन गरेका छौँ, दमकल र शव बहान पनि हामीसँगै छ, शव बहान प्रयोग गरे बापत केही शुल्क उठाइने छ, तर अति विपन्न र गरिबलाई भने यो सेवा पनि निःशुल्क हुने छ ।’

उपप्रमुख राजु खड्काले आपतकालीन कार्य संचालन केन्द्रबाट चौबिसै घण्टा सेवा प्रदान हुने बताउनुभयो । आवश्यक साधान र कर्मचारीलाई नवनिर्मित भवनमै व्यवस्थापन गरेको भन्दै नगर क्षेत्र भित्र जहाँ समस्या आइपर्छ, त्यहाँबाट तत्काल टोल फ्रि नम्बर १८१०५०००१७० मा सम्पर्क गरेर सेवा लिन सकिने उहाँको भनाइ छ । आपतकालीन कार्य संचालन केन्द्र संचालनका लागि करिब ४० लाख बढी खर्च भएको खड्काले बताउनुभयो ।

बाढी पहिरोले सडक अवरुद्ध हुँदा डोजर, बिरामीका लागि एम्बुलेन्स र आगलागी हुँदा दमकल आवश्यक पर्ने हुँदा नगरपालिकाले कर्मचारीसहित तयारी अवस्थामा राखेको उहाँको भनाइ छ । यो सेवाको अहिले सुरुवाति चरण रहेको भन्दै यसलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि बनाएको उपप्रमुख खड्का बताउनुहुन्छ ।

आपतकालीन कार्य संचालन केन्द्रको सोमबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले उद्घाटन गर्नु भएको थियो । उद्घाटनपछि बोल्दै बागलुङ नगरपालिकाले जिल्लामा उत्कृष्ट कामको सुरुवात गरेको बताउनुभयो । आपतकालीन कार्य संचालन केन्द्रले पहुँच पुग्नेवाला मात्रै नभर सामान्य नागरिकको समेत उद्धार गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नगरपालिकाका अधिकृत भीमशेन पन्तको संचालनमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?