‘जी-२० सम्मेलन नेपालका लागि उपलब्धिपूर्ण’

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी-२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा उहाँले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । मूलतः तीनवटा महत्वपूर्ण विषयमा छलफल भएको मन्त्री डा. महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जुन नेपालको आर्थिक विकासका लागि उपलब्धि हुन् । पहिलो, जी-२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीसँग महत्वपूर्ण भेटघाट र छलफल भयो । दुईपक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो, गुजरातमा रहेका उद्योगी व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्वका रूपमा लिनुपर्छ ।’

मन्त्री महतले नेपाल जी-२० को सदस्य नभए पनि आमन्त्रण गरेको हुनाले कम विकसित देशको समस्या जी-२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भएको उहाँको भनाइ थियो । सोमबार र मंगलबार लगातार झण्डै आधा दर्जन विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘कम विकसित मुलुकले भोग्नुपरेका समस्या, जलवायु परिवर्तनका समस्या, डिजिटाजेसनले निम्त्यिाएको चुनौती देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको छ, डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरू ठाउँबाट पनि सञ्चालन हुन्छ । त्यो अवस्थामा हाम्रो क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो ।’

जलवायु परिवर्तनका कारण नेपालले क्षति बेहोरिरहेको सन्दर्भमा विकसित देशले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो दिगो विकासमा अन्तर्राष्ट्रिय सहयोगको दायरा कसरी बढाउने, मूल्य वृद्धि र विकासका अनेकन् समस्याबाट जनमानसमा परेको असर कसरी कम गर्ने भन्ने विषयहरू नेपालले जी-२० को फोरममा राख्यो ।’ जी-२० का देशहरूले संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको छ, क्रय शक्तिमा समस्या आएकोमा कसरी विस्तार गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस सिलसिलामा विश्व बैंक, एसियाली विकास बैंकलगायत विभिन्न बहुपक्षीय संस्थाको पनि त्यहाँ सहभागिता थियो । त्यहाँ पनि हामीले अनौपचारिकरूपमा आफ्ना कुरा राख्यौँ । भारत र चीनका अर्थमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट गरी छलफल गरियो ।’

मन्त्री महतका अनुसार गुजरात चेम्बर अफ कमर्स इण्ड्रस्टिजको कार्यालयमा अन्तरक्रिया भएकोमा त्यहाँ नेपालमा लगानीको सम्भावनाबारे नेपालले प्रस्तुति दिएको थियो । गुजरातमा पनि नेपाली समुदायको संख्या ठूलो छ, उनीहरूसँग पनि अन्तरक्रिया भएको थियो ।

नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलका लागि उर्वर रहेकाले निर्धक्कसँग लगानी गर्न भारतीय लगानीकर्तालाई आहृवान गर्नुभएको छ । भारतको गुजरात चेम्बर अफ कमर्सले मंगलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आहृवान गर्नुभएको हो । भर्खरैमात्र भारतसँग १० हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएकाले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उहाँको भनाइ थियो ।

नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतले बताउनुभयो । नेपालमा विद्युत्मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको तथा प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या पनि नरहेको उहाँले बताउनुभयो ।

नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्ति उपलब्धताका कारण लगानीकर्ता झनै आकर्षित गर्न सक्ने र भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धी क्षमतासमेत बढ्न सक्ने सम्भावना रहेको मन्त्री महतको भनाइ थियो ।

गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्दीप इञ्जिनियरले गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको भन्दै त्यसका लागि प्रक्रियागत सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?