अध्यक्ष ओली र चिनियाँ नेता युआनबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा नेपालका प्रतिपक्ष दलका नेता ओलीसँग चिनियाँ नेता युआनले भेट गर्नु भएको हो । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल भएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिनु भयो ।

त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल अहिले विकासको प्रयासमा रहेकाले चीन सरकारको अपेक्षित सहयोग महत्वपूर्ण हुने धारणा राख्नु भएको थियो भने नेता युआनले नेपाल र नेपाली जनताको विकासको सन्दर्भमा सक्दो सहयोग गर्न चीन सरकार तत्पर रहेको बताउनु भएको थियो ।

यता, अध्यक्ष ओलीले चीनले नेपाललाई सधैं प्राथमिकता दिने गरेको भन्दै चीन सरकार र चिनियाँ नेताहरुको प्रशंशा गर्नु भएको थियो । त्यस अवसरमा ओली नेतृत्वको सरकारका बेला दुई मुलुकबीचको सम्बन्ध विस्तारबारे भएको प्रगतिको पनि स्मरण गरिएको एमाले विदेश विभाग सदस्य खनालले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘एउटा चाँही नेपाल सरकार र चीन सरकार, नेपाली जनता र चिनियाँ जनताको बीचमा शुभकामना आदानप्रदान भयो । उहाँले चाँही चीन सरकारको तर्फबाट, चिनियाँ जनताको तर्फबाट खासगरी नेपाल र नेपाली जनताका निम्ति खासगरी विकासको सन्दर्भमा सहयोग गर्न हामी इच्छुक छौैं भन्नु भयो । र, नेपालको तर्फबाट हाम्रो अध्यक्षज्यूले पनि नेपाल अहिले विकासको प्रयासमा छ । यो विकासमा चिनिया सरकार र चिनियाँ जनताको सहयोग महत्वपूर्ण छ । त्यो सकारात्मक कुरा हो भन्नु भयो । त्यसपछि उहाँले नेपाल भ्रमणमा सन्दर्भमा राष्ट्रपति, त्यसपछि उहाँले अरु जोजोसँग भेटघाट गर्नु भयो । त्यो भेटबारे जानकारी गराउनु भयो । र, हाम्रो अध्यक्षज्यूले पनि त्यो सकारात्मक हो । चिनियाँ सरकारबाट जहिले पनि यस्ता भेटघाटहरु भएको छ । जहिले पनि नेपाललाई प्राथमिकतामा नै राख्नु भएको छ । त्यसको हामी स्वागत गर्छौ भन्नु भयो । र, मूलतः खासगरी अव नेपाल सरकार र चीन सरकार, नेपाल र चीनबीचको सम्बन्धमा चाँहीलाई अझ बलियो बनाएर कसरी अगाडि जान सकिन्छ भन्ने कुरामा विषयमा कुराकानी भयो । त्यसैले यसलाई त्यही रुपमा बुझ्नु पर्छ । अध्यक्ष प्रधानमन्त्री भएका बेला भएका नेपाल–चीन सम्बन्धबारे पनि केही कुरा भए ।’

श्रीलंकाको भ्रमण पूरागरी गत आईतबार नेपाल आउनु भएका नेता युआनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने अर्चुअल संवाद गर्नु भएको थियो । इटली भ्रमणमा रहनु भएका प्रधानमन्त्री दाहालसँग उहाँको भर्चुअल संवाद भएको थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो ।

त्यसैगरी नेता युआनले कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी केन्द्रका पदाधिकारी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलगायतसँग भेट गरी दुई मुलुकबीचको सम्बन्धबारे चासोपूर्वक छलफल गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?