खुल्ला चिडियाखाना ‘हाइकिङ’सँग जोडिँदै

रासस
Read Time = 8 mins

गण्डकी । सात तालको बगैँचा सहर लेखनाथमा रहेको खुल्ला चिडियाखाना (पचभैया प्राणि उद्यान केन्द्र)लाई हाइकिङमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ ।

स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ विगत तीन वर्षयता पोखरा र आसपासका विभिन्न पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले चिडियाखाना रहेको पचभैयादेखि रुपा गाउँपालिकाको हात्तीमैता भ्यू टावरसम्म एकदिने हाइकिङ स्थलका रुपमा अघि बढाउन खोजेको हो ।

क्लबले हाइकिङमार्फत खुल्ला चिडियाखानालाई जोड्ने लक्ष्यका साथ आफ्नै ३६औं शृङ्खला उक्त क्षेत्रमा सम्पन्न गरिसकेको संयोजक कृष्ण रानाभाटले जानकारी दिनुभयो ।

प्रत्येक महिनाको अन्तिम शनिबार गर्दै आइएको हाइकिङको पछिल्लो शृङ्खला पचभैयास्थित खुल्ला चिडियाखाना हुँदै रुपा गाउँपालिकाको हात्तीमैतासम्म पुगी सम्पन्न गरिएको थियो । यो स्थल एकदिने हाइकिङका लागि उपयुक्त गन्तव्य रहेको उहाँले बताउनुभयो । पचभैयाबाट सुरु हुने हाइकिङ रुपाताल, झोलुङ्गे, भङ्गरा, जनकुना, रुपाकोट रिपोर्ट हुँदै हात्तीमैता भ्यू टावरमा पुग्न करिब तीन घण्टा लाग्छ ।

“हाइकिङमा आउने पर्यटकले खुल्ला चिडियाखानाको अवलोकन गर्दै आफ्नो यात्रा सुरु गर्नेछन्”, हाइकिङका क्रममा अन्नपूर्ण, धवलागिरि लगायतका हिम शृङ्खला, मनोरम पहाडी दृश्य एवम् लेखनाथका रुपा, बेगनाससहित पोखराको फेवाताललगायतलाई एकसाथ नियाल्दै हिँड्न पाइनु यहाँको विशेषता हो”, उहाँले भन्नुभयो । हाइकिङ सुरु हुनेस्थल खुला चिडियाखाना यहाँको महत्वपूर्ण दर्शनीय स्थल रहेको संयोजक रानाभाटको भनाइ छ ।

बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साबिक लेखनाथ नगरपालिकाका वडा नं ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर खुल्ला चिडियाखनाका रुपमा पोखरा प्राणि उद्यान केन्द्र निर्माण गरिएको पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष एवम् पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो ।

चिडियाखाना निर्माणका लागि स्थानीयवासीको चाहना र युनाइटेड क्लबको सहयोगमा यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको थियो । चिडियाखानाको व्यवस्थापनलगायतका विषयमा केही समय युनाइटेड क्लब र स्थानीयवासीबीच विवाद भए पनि उक्त विवाद समाधान भइसकेको छ । युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याउँदै आएको छ ।

चिडियाखानामा सर्वसाधारणलाई अवलोकनका लागि जालीको डोम निर्माण गरी जनावर र पक्षीहरू खुल्ला छाडिएको छ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनाका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावर कक्ष बनाउने दीर्घकालीन लक्ष्यसमेत राखिएको छ ।

चिडियाखाना परिसर एवम् रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छ ।

पोखराबाट जम्मा २५ किमी टाढा रहेको यस चिडियाखानालाई गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको पचभैया सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष मोहनबहादुर घिमिरेले बताउनुभयो । यसअघि २०३४/३५ सालतिर यस क्षेत्रमा जङ्गल ध्वस्त बन्दै गएको अवस्थालाई दृष्टिगत गरी स्थानीयवासीले तत्कालीन समयदेखि नै यसको संरक्षण सुरु गरेका थिए । संरक्षण थालिएको झन्डै ४५ वर्षपछि खुल्ला चिडियाखानाका रुपमा केन्द्र सञ्चालनमा आउनुले आफूहरू गौरवान्वित बनेको उहाँले बताउनुभयो ।

चिडियाखानामा हाल विभिन्न २१ प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी राखिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । यहाँ आउने पर्यटकले चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । चिडियाखाना सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिसकिएको छ । अवलोकनका लागि सर्वसाधारणलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।

चिडियाखानाको डिभिजन वन कार्यालयबाट व्यवस्थापन हुँदै आएको कार्यालय प्रमुख केदार बरालले जानकारी दिनुभयो । अघिल्लो वर्षमा चिडियाखानका लागि भौतिक पूर्वाधारतर्फ ४० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिँदै उहाँले अन्य व्यवस्थापनतर्फ १८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको बताउनुभयो । त्यहाँ राखिएका पशुपन्छीको आहाराका लागि १४ लाख ६० हजार रुपैयाँ विनियोजन भएको उहाँले बताउनुभयो । चिडियाखानाको व्यवस्थापनका लागि चारजना कर्मचारी खटाइएको बरालले बताउनुभयो ।

पचभैयाबाट रुपाकोट हात्तीमैतासम्म एकदिने हाइकिङका लागि उपयुक्त रहेको ध्रुवतारा युवा क्लबका अध्यक्ष त्रिविक्रम केसी बताउनुहुन्छ । हाइकिङमार्फत हात्तीमैतासम्म आउने पर्यटकलाई लक्षित गरी हात्तीमैता भ्यू टावर रिसोर्ट सञ्चालनमा आइसकेको छ । “हामी पचभैयाको चिडियाखानादेखि हात्तीमैतासम्मको हाइकिङ मार्गलाई प्रवर्द्धन गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “छोटो दूरीको हाइकिङका क्रममा चिडियाखानामा विभिन्न वन्यजन्तुको अवलोनसँगै हिमाल, पहाड, तालतलैया आदिको एकसाथ हेर्न पाउने यहाँको विशिष्टता प्रचारप्रसारको पर्खाइमा छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?