हराउँछन् तर भेटिदैनन् महिला तथा बालबालिका, बैतडीमा दुई वर्षको अवधिमा ८२ जना बेपत्ता

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा दुई वर्षको अवधीमा ८२ जना महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७८/०७९ र ०७९/०८० मा ८२ जना महिला तथा बालबालिकाहरु हराएका हुन् । हराउनेमा सबै भन्दा धेरै महिलाहरु रहेका छन् ।

जिल्लामा आर्थिक बर्ष २०७९/०८० मा ७२ महिला, २१ बालिका र १० बालक हराएकाले आफन्तले खोजी कार्यका लागि भन्दै प्रहरीलाई खबर गरेका थिए । ति मध्ये ३९ महिला, ९ बालिका र एक बालक नभेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

यस्तै आर्थिक बर्ष २०७८/०७९ मा ४० महिला, २६ बालिका, १२ बालक हराएको भन्दै आफन्तहरुले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ती मध्ये १७ जना महिला, बालक ६ र बालिका १० जना भेटिएका छैनन् । उनीहरुको खोजी कार्य जारी नै रहेकोे प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

खुल्ला सिमानाका कारणले गर्दा पनि जिल्लामा महिला तथा बालबालिकाहरु हराउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले रोजगारीका लागि घरबाट भागेर भारत जाने र उतै काम गरिरहेको हुनाले नभेटिने गरेको बताउनुभयो । बैतडी भारतसंग सीमा जोडिएको जिल्ला भएकाले झुलाघाट नाकामा चेकजाँचमा कडाइ गर्ने गरेको उहाँको भनाई छ । भारत जान लागेकाहरुको रोकेर पनि झुलाघाट नाकाबाट उद्धार गरेको शाहीले बताउनुभयो ।

हराएपछि खोजीकार्यका लागि प्रहरीमा उजुरी दिने र फेला परेपछि खबर नगर्ने गरेको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?