शीतल कादम्बिनीको ‘सिन्का पाउँरू’ सँग बस्दा

गीता अधिकारी
Read Time = 9 mins

प्रसिद्ध गजलकारका साथै गीतकारका रूपमा आफ्नो उचाइ अग्ल्याउनुभएकी शीतल कादम्बिनीको अर्को शसक्त परिचय बनेको छ उपन्यासकार । विविध विधामा कलाम चलाउने कादम्बिनी पहिलो उपन्यास ‘सिन्का पाउँरू’बाट नै चर्चामा हुनुहुन्छ । उहाँको २०६२ मा ‘सुगन्ध यात्रा’ गजलसङ्ग्रह प्रकाशित छ भने ‘कादम्बिनी’, ‘शीतल’ र ‘निर्झरी’ उहाँका प्रसिद्ध एल्बम रहेका छन् । ‘कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ’, ‘धेरैचोटि मरेँ म त, धेरैचोटि बाँचेँ’, ‘झुमा झुम्कावाली’ जस्ता दर्जनौं लोकप्रिय गीतकी सर्जक कादम्बिनीको पहिलो आख्यान कृति ‘सिन्का पाउँरू’ पाठकमाझ छ ।

नेपाली गजल लेखन र गीत लेखनमा छुट्टै पहिचान बनाउनुभएकी शीतल विधा जुनसुकै होस् अभिव्यक्ति चमत्कारपूर्ण हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । गीत गजल आफ्ना प्रिय विधा भएको बताउनुहुने उहाँ यतिबेला उपन्यासकारका रूपमा चर्चा बटुल्न सफल हुनुभएको छ । गरुङ समुदायको प्रचलित संस्कृतिलाई उजागर गरिएको उपन्यास कृति पाठकमाझ ल्याएर उहाँले चर्चा बटुल्न सफल हुनुभएको हो ।

मौलिक संस्कृतिले धनी जाति भनेर परिचय बोकेको गुरुङ समुदायकै विषयवस्तुलाई उपन्यासको मुख्य कथा बनाएर यसका स्रष्टा कादम्बिनीले प्रस्तुत गर्नुभएको छ उपन्यासमा । उपन्यासले थुप्रै ठाउँमा गुरुङ समुदायको सांस्कृतिक पक्षलाई उतार्ने प्रयास गरिएको छ । उपन्यासले गुरुङ समुदायका सांस्कृतिक आयाम बोकेको छ । र, समग्रमा गुरुङ जाति संस्कृतिमा कति धनी छन् भन्ने उदाहरण पनि देखाइएको छ ।

सरल र सलल बगेको उपन्यास पढन थालेपछि पाठकलाई यो नसकुन्जेल छोडन मन लाग्दैन । पाठकलाई यसले बाँधेर राख्छ । कौतुहलता यसको मुख्य पक्ष रहेको छ । यसमा गुरुङ लवज र ती समुदायको परम्परागत मौलिक भाष्यचेत रहेको छ ।

कृतिमा मुख्य पात्र मौसमीको उपस्थिति सशक्त रूपमा प्रस्तुत गरिएको छ । मौसमीको साहस र सङ्घर्षले पाठकको मन जित्न सफल हुन्छ । ९० सालमा गएको भूकम्पले गोरखा बारपाकको पहाड चर्किन्छ । ९१ सालमा पहिरो खस्दा एकै परिवारका तीन सन्तानको मृत्यु हुन्छ । पहिरो गएको ६ महिनाअघि परिवारका एक सदस्य १३ वर्षीया छोरीको विवाह भइसक्छ । बुबाआमा र एउटा छोरा बाँच्न सफल हुन्छन् । जमिन्दार परिवार चितवन पांगाढेमा बसाइँ सर्छ । १६ वर्षीय छोराको बारपाक माथि लाप्राकी किशोरीसँग विवाह हुन्छ । किशोर बेलायती सेनामा भर्ती हुन्छन् ।

पुख्र्यौली गाउँ गएको बेला बुबाआमाको पुनः पहिरोमा परेर मृत्यु हुन्छ । बुहारीमात्रै रहन्छिन् । छोरा बेलायती सेनामै । उनी एक वर्षपछि फर्कन्छन् । पाँचवटा सन्तान भइसकेकी बुहारीले अरुको गर्भ बोक्छिन् । छोरी जन्माउँछिन् । उनको नाम फूलमाया हुन्छ । आमाले उनलाई बाबाकै घर पठाउँछिन् । सौतेनी आमासँग बस्न नसकी उनी नेपालगञ्ज फुपूको घर जान्छिन् । फुपूले उनको नाम मौसमी राखिदिन्छ । मौसमी मुख्य पात्रको यही सेरोफेरोमा ‘सिन्का पाउँरू’ सलल बगेको छ । यो कृति नेपाली महिलाको त्यो अनुहार पनि हो जो आफ्नो पहिचान खोज्न बाउ र श्रीमान्बाट चिनिनुपर्छ ।

यस कृतिमा गुरुङ समुदायको जन्म, विवाह, बसाइसराइँ, सम्बन्धविच्छेद र मृत्युजस्ता संस्कार प्रस्तुत गरिएको छ । गुरुङ समुदायको सबै खाले संस्कार समेटिएको छ यसमा । सांस्कृतिक पहिचान र अस्तित्वको लागि संघर्ष गरेको कथाले कृति जीवन्त बनेको छ । कृतिमा मातृसत्ता झल्किन्छ । यसमा घटना, पीडा र संघर्ष सत्यको नजिक भएर प्रस्तुत गरिएको छ ।

वास्तविक जीवनमा भन्न नसकिएका कुरालाई लेखकले उपन्यासको माध्यमबाट यसमा बताउन सफल हुनुभएको छ । विषयवस्तु र लेखन दुवै कोणबाट कृति अव्वल रहेको छ । यो उपन्यासले सिंगो मानव जगत् र जीवनलाई नै सम्बोधन गरेको छ । नारीहरूले पढ्दा नारीवादी जस्तो, पुरुषहरूले पढ्दा आफ्नै छवि देख्नेछन् । गुरुङ संस्कृतिमा लेखिएको भए पनि योभित्र सिंगो नेपाली समाज रहेको पाइन्छ ।

सरल र सलल बगेको उपन्यास पढन थालेपछि पाठकलाई यो नसकुन्जेल छोडन मन लाग्दैन । पाठकलाई यसले बाँधेर राख्छ । कौतुहलता यसको मुख्य पक्ष रहेको छ । यसमा गुरुङ लवज र ती समुदायको परम्परागत मौलिक भाष्यचेत रहेको छ । गाउँले परिवेशमा हुर्केको लाहुरे जीवन, यौनहिंसा, पारिवारिक जिम्मेवारीलगायत कथा संरचनालाई नभत्काई होसियारीका पस्किएको छ कृतिमा । बढो कलात्मक ढंगले स्रष्टाले यसमा प्रस्तुत गर्नुभएको छ । श्रीमान् दीपकसँग मौसमी पुगेर अचानक सिन्का पाउँरू (सम्बन्ध बिच्छेद) को कुरा उठाएपछि गाउँका मान्यगण्यहरू भेला हुन्छन् । मुखियाले सिन्का भाँचेर, पाउँरूलाई फुटाएपछि बाटोमाथि र मुनि फालेर सिन्का पाउँरू गराएर यस कृतिको मैजारो गरिएको छ ।

गुरुङ समुदायमा श्रीमान्-श्रीमती सँगै बस्न नसक्ने अवस्था सिर्जना भएमा सम्बन्ध बिच्छेद अर्थात पारपाचुके गर्दा ‘सिन्का पाउँरु’ गर्ने चलन छ । सिन्का पाउँरु गर्दा गाउँका भद्रभलाद्मी तथा केटा र केटी पक्षका सीमित मानिस बसेर छलफलपछि सिन्का भाँच्ने र पाङ्ग्रो फुटाउने कार्य सम्पन्न भएपछि दुवैजनाको सम्बन्ध सकिएर दाजु-बहिनीको सम्बन्धमा रहने वाचा गराइन्छ ।

४९९ रुपैयाँ मूल्य रहेको यो उपन्यास यात्रा पब्लिसिङ हाउसले प्रकाशन गरेको हो । नेपाली गीत गजल लेखनमा सशक्त नारी हस्ताक्षरकका रूपमा रहनुभएकी शीतल कादम्बिनीले आख्यान लेखनमा पनि त्यतिकै शसक्त रूपमा आफ्नो उपस्थिति जनाउनुभएको छ यस उपन्यासमार्फत । स्रष्टा शीतल कादम्बिनीलाई यस विशेष कृतिका लागि हार्दिक बधाई तथा शुभकामना । स्रष्टा कादम्बिनीको कलमले अझ नयाँ-नयाँ कृति जन्माओस् त्यसको हामीले रस्वादन गर्न पाइराखौं यही गीता कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?