बसन्तपुरमा २ करोड लगानीमा मनोरन्जन संरचना थपिंदै, ४० लाखको जीपलाइन सञ्चालनमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ । एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले जीपलाइन नियमित सञ्चालन गरेको हो । सञ्चालनमा आएसंगै जीपलाइनमा चढ्न विशेषगरी युवायुवतीको बढी आकर्षण रहेको कम्पनीले जनाएको छ ।

बुटवलको बमघाटमा रहेको बटम स्टेशनबाट केबलकार चढेर पाल्पाको तिनाउँ गाउपालिका ३ बसन्तपुर आउने पर्यटकलाई साहसिक खेलको आनन्द र मनोरन्जन दिलाउन जीपलाइन सञ्चालन गरेको कम्पनीका इन्जिनियर सनी चौरसियाले बताउनुभयो । केबलकार चढ्न आउने पर्यटक मध्ये दैनिक सरदर ७० जना जीपलाइन चढ्ने गरेका चौरसियाले बताउनु भयो । जीपलाइनमा ६ जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ ।

केबलकारमा आउने आन्तरिक र विदेशी पर्यटकको मनोरन्जनका लागि कम्पनीले थप डेढ करोड बढी लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ, बालउद्यान र सेल्फीजोनलगायतका संरचनाहरु बनाउने प्रकृयामा रहेको इन्जिनियर चौरसियाले बताउनुभयो । आगामी दुई महिनाभित्र यी सबै संरचनाहरु तयार गरी पर्यटकहरु दिनभर भुल्न सकिने वातावरण बनाउने उहाँले बताउनु भयो ।

जीपलाइन चढ्नेहरुले यो खेल निकै रोमाञ्चक र रमाइलो लागेको प्रतिक्रिया दिने गरेका छन् । उनीहरुले केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि बुटवलको चहलपहल र ब्यापारमा केही मात्रामा सुधार भएको बताएका छन् ।

साढे ३ महिनामा ७४ हजार जना चढे केबलकार

केबलकार सञ्चालनमा आएको साढे ३ महिनामा ७४ हजार ५० जना पर्यटकले केबलकार चढेका कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिनुभयो । जसमा ४ हजार ५५ जना भारतीय र १९ जना तेस्रो मुलुकका रहेका छन् ।

जीपलाइन संगै स्काई साइक्लिङ, विद्युतीय पिङ, बालउद्यान पनि तयार भएपछि बसन्तपुर स्वदेशी र विदेशी पर्यटकको आकर्षण र रोजाईको गन्तब्य बन्ने कम्पनीको विश्वास छ । समुद्री सतहबाट १२ सय मिटर उचाईमा रहेको बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कमहुने हुँदा शीतलहुने हिउंदमा तराईमा हुस्सु र जाडो हुँदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलोमा पर्ने छ ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवी मन्दिर र सय वर्ष पुरानो दुर्गा मन्दिर पनि धार्मिक हिसाबले केबलकारको विशिष्ट आकर्षण रहेको छ ।

कामाख्या मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेका कम्पनीले जनाएको छ । कामाख्या देवीको दर्शनले मनोकामना पुरा हुने र जीवनमा आइपर्ने संकटबाट मुक्ति पाइने भएकाले दर्शन गर्न आएको ब्यासाचार्य पण्डित नारायणप्रसाद पोखरेलले बताउनु भयो ।

टप सटेनशमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांचतारे होटेल बनाउने योजना छ ।

केबलकारले प्रत्येक टिकट मुल्यको २ प्रतिशत सेवा शुल्कवापत बुटवल उपमहानगरपालिका र तिनाउँ गाउंपालिकालाई दिंदै आएको छ । २.६ किलोमिटर दुरीको लुम्बिनीप्रदेशकै पहिलो केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । केबलकारले अधिकांश स्थानीयसहित हालकरिब सय जनालाई रोजगारी दिएको छ भने पांचतारे होटेल सञ्चालनमा आउंदा पांच सय बढीले रोजगारी पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?