सरकारको भ्रष्टाचारबिरोधी कदमले जनतामा नयाँ आशाको सञ्चार गराएको छ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टचारबिरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामहरुले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरुले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताउनुभएको हो ।

आईतवार काठमाडाैँमा आयोजित स्वर्गीय माधवप्रसाद मरहट्ठाको स्मृतिमा लेखिएको पुस्तक ‘माधव सर’को लोकार्पण कार्यक्रममा बोल्दै उहाँले ७ महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरुले इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारको भ्रष्टाचार बिरोधी अभियानमा दृढतापूर्वक साथ दिएको भन्दै आम नागरिकप्रति आभार पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार बदलिएको व्यवस्था अनुसार जनताको दैनिक जीवन र अवस्था पनि बदल्न सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ यात्रातर्फ अगाडि बढ्ने जमर्को गरिरहेको छ । र, यस्तो सन्दर्भमा सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जेजति मेहनत भएको छ । जे जति प्रयासहरु भएको छ । यसबाट जे जति उपलब्धिहरु हासिल हुँदैछन । त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ । पछिल्लो समय भ्रष्टाचारका बिरुद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरु गरिएका छन् । यसले जनतामा नयाँ आशाको रक्तसञ्चार गरेको छ । नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदैछ । यस सन्दर्भमा सरकारको भ्रष्टाचार बिरोधी अभियानमा दृढताका साथ सहयोग र ऐक्यवद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा आभार पनि व्यक्त गर्न चाहन्छु । र, माधव मरहट्ठा जस्ता बहुआयामिक व्यक्तित्वका धनीको प्रेरणा पनि यस सन्दर्भमा महत्वपूर्ण रहेको कुरा म प्रष्टसँग यहाँ राख्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको समेत दोहो-याउनु भयो । त्यस अवसरमा उहाँले मरहट्ठाले माओवादी जनयुद्धको बिजारोपण, घोषणा, विकास र त्यसको शान्तिपूर्ण रुपान्तरणमा खेल्नुभएको भुमिकाको प्रशंशा गर्नुभएको थियो ।

उहाँले मरहट्ठालाई नेपालको कम्युनिष्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताहरुका पनि गुरुको रुपमा चित्रण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?