लम्पी स्किन रोग नियन्त्रणका लागि विभिन्न माग र सुझावसहित प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । लम्पी स्किन रोग नियन्त्रणका लागि विभिन्न माग र सुझावसहित  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र पठाइएको छ ।

नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन जिल्ला कार्य समिति सिन्धुलीले आइतबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल मार्फत ज्ञापन-पत्र पठाएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसनका क्षेत्रीय सदस्य नवराज थापाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन-पत्र बुझाउनु भएको थियो ।

उक्त पत्रमा पशुमा लम्पि स्किन रोग भयावह बन्दै गएकोले महामारीको अवस्थालाई मध्यनजर गर्दै सङ्कटकाल घोषणा गर्नुका साथै रोग नियन्त्रणको लागि ठोस योजनासहित आवश्यक औषधी तथा खोपको व्यवस्था गर्न माग गरिएको छ ।

ज्ञापन-पत्रमा भनिएको छ, ‘लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी पशु चिकित्सक र प्राविधिकहरू सशक्त रूपमा परिचालन गर्न, लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी प्रयोग हुने औषधीहरूको बजारमा अभाव रहेकोले आवश्यक औषधीहरूको उपलब्ध गराउन, बिमा गरिएको पशुहरूको बिमा बापतको क्षतिपूर्ति उपलब्ध गराउन, लम्पी स्किन रोगबाट मृत्यु भएका पशुहरू र प्रत्यक्ष रूपमा प्रभावित भएको कृषक÷ व्यवसायीहरूलाई राहतको कार्यक्रम ल्याउन माग गर्दछौँ ।’

देशभरि महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि तिनै तहका सरकारले गरिरहेको कार्य पर्याप्त नभएको पत्रमा उल्लेख छ । पत्रमा उल्लेख भएका कुरालाई सम्बोधन नगरिए बिरोधका कार्यक्रमहरू संचालन गर्न बाध्य हुने भनिएको छ ।

देदभर यस रोगबाट ११ लाख पशुहरू सङ्क्रमित भएको छन् भने ५० हजारभन्दा बढी पशुहरूको मृत्यु भइसकेको जनाइएको छ । पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन सिन्धुलीका अध्यक्ष नम्रराज अधिकारीले लम्पी स्किनले पशुमा दुध उत्पादनमा ८० प्रतिशतसम्म कमी आउने, गर्भ तुहिने, प्रजननमा समस्या आउने, मृत्यु हुने जस्ता कारणले कृषकहरूले ठूलो आर्थिक क्षति व्यर्होनु परिरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?