सुदूरपश्चिम ११ द्वारा पटेला स्मार्टलाई खेल सामग्री सहयोग

हिमालय टाइम्स
Read Time = 6 mins

धनगढी । सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ । पटेलास्थित फुटबल मैदानमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पटेला स्मार्टलाई खेल सामग्री सहयोग गरेको हो । सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका अनुसार पटेला स्मार्ट क्लबलाई ११ वटा बल, ४५ जर्सी सेट, ३० टिसर्ट, २६ क्याप, कोन, मार्करसहितको खेल सामग्री सहयोग गरिएको हो । सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीलाई सहयोग स्वरूप खेल सामग्री हस्तान्तरण गर्नुभयो ।

धनगढीको ग्रामीण इलाकामा रहेका २५ जना पुरुष र १५ जना महिला फुटबलरलाई छनोट गरी पटेला स्मार्ट क्लबमा प्रशिक्षण गराउने उद्देश्यका साथ सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले खेल सामग्री सहयोग गरेको हो । यसका साथै दुवै क्लबबीच दुई वर्षको रणनीतिक सम्झौतासमेत भएको छ । क्लबको आन्तरिक व्यवस्थापन पटेला स्मार्ट आफैँले हेर्ने तथा पटेलालाई आवश्यक पर्ने प्रशिक्षकसहितको खेल सामग्री सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले सहयोग गर्ने विषयमा सम्झौता भएको हो ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पटेला स्मार्ट क्लबमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउने छ । पटेलालाई आवश्यक पर्ने प्रशिक्षकसहितको सामग्री सुदूरपश्चिम ११ ले सहयोग गर्नेछ ।

सुदूपश्चिम ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीलाई राम्रो प्रशिक्षण दिने उद्देश्यले पटेला स्मार्ट क्लबसँग सहकार्य गरेको बताउनुभयो । उहाँले दुईवर्षे सम्झौताबाट ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीहरूले नियमित प्रशिक्षण पाउने र उत्कृष्ट खेलाडीले सुदूरपश्चिम ११ स्पोटर््स क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अवसर पाउने बताउनुभयो ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब पश्चिम नेपालको प्रतिष्ठित क्लबका रूपमा रहेको छ । जसले हरेक वर्ष देशकै सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालका प्रतिष्ठित फुटबल प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै सुप ११ ले सहभागिता जनाउँदै आएको छ । साथै एन्फाको सी डिभिजन छनोट कार्यक्रममा समेत खेल्दै आएको छ ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले जिल्ला फुटबल संघले यस्ता कार्य गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताउनुभयो । ‘हामीले सहयोग गर्नुपर्ने स्थिति आउनुपर्ने होइन । यस्ता ठाउँमा जिल्ला फुटबल संघ पुग्नुपर्ने हो तर फुटवल संघ नपुगेपछि हामीले सहयोग गर्नुपरेको हो ।’ अध्यक्ष हमालले भन्नुभयो, ‘शहर केन्द्रितमात्रै भएर फुटबलका खेलाडी उत्पादन हुँदैनन् । गाउँ–गाउँमा फुटबलका खेलाडी उत्पादन गरे देशको फुटबल भविष्य बन्छ । त्यसकारण हामीले पटेलाका खेलाडीलाई सहयोग पुगोस् भनेर बल, ड्रेसलगायतका सामग्री सहयोग गरेका हौँ ।’

पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीले सुदूरपश्चिम ११ सँगको सहकार्यले क्लबको गतिविधि अघि बढाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम ११ सँगको सम्झौता दुई वर्षमात्र नभएर लामो समयका लागि आवश्यक रहेको उल्लेख गर्नुभयो ।

खेल सामग्री हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक फुटबल संघका उपाध्यक्ष राघवेन्द्र कार्की, क्लबका प्रमुख सल्लाहकार पतिराम चौधरी, सुदूरपश्चिम प्रादेशिक फुटबल संघका सदस्य हेमकर्ण रञ्जितकार, कैलाली जिल्ला फुटबल संघका निवर्तमान महासचिव ओम प्याकुरेल, नवोबुद्ध युवा क्लबका अध्यक्ष निरज विष्ट, क्लबका कार्यसमिति सदस्य खडक शाहलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?