दोस्रो चरणको आन्दोलनको तयारीमा निर्माण व्यवसायी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको धर्नापछि पहिलो चरणको आन्दोलन सम्पन्न भएको महासंघले जनाएको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तथा माओवादी केन्द्रका नेता राजन दाहालले महासंघका जायज माग पूरा गराउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्माण उद्योगमा धेरै समस्या रहेको स्वीकार गर्दै उहाँले सरकार तथा व्यवसायीको सहकार्यमा त्यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बाँनियाले निर्माण उद्योग समस्याग्रस्त भएका कारण मुलुकको अर्थतन्त्रमै गम्भीर समस्या देखिएको भन्दै निर्माण व्यवसायीका जायज माग राज्यले तत्काल पूरा गर्नुपर्ने बताउनुभयो । सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले निर्माण व्यवसायीका माग पूरा नगरेर सरकारले अर्कमण्यता देखाएको बताउनुभयो । सोही दिन महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा पनि धर्ना दिएको थियो ।

उक्त धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद तथा महासंघका मानार्थ सदस्य जीपछिरिङ लामाले राज्यले काम लगाएपछि कुनै पनि हालतमा व्यवसायीको रकम भुक्तानी गर्नुपर्ने बताउनुभयो । सांसद तथा महासंघका अर्का मानार्थ सदस्य पूर्णबहादुर तामाङले व्यवसायीका जायज माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । प्रदेश सभासद प्रदीप कटवालले पनि महासंघका मागप्रति ऐक्यबद्धता जनाउनुभयो ।

महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीको आन्दोलनलाई बेवास्ता गरेमा आन्दोलनलाई अझै सशक्त बनाइने बताउनुभयोे । धर्नामा सहभागी निर्माण व्यवसायीले विभिन्न निकायमा काम गरेबापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बिमा निर्देशिका २०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर लगायतका नारा लगाएका थिए ।

अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजना एवं काबुबाहिरका निर्माण कार्य सुविस्ताका आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बंैक ग्यारेण्टी जफतलगायतका कारबाही रोकिनुपर्ने, बिमा प्रिमियम दरमा भएको वृद्धि खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धि कर(भ्याट) कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने लगायत मागसहित निर्माण व्यवसायी आन्दोलनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?