१५७ किलो लागूऔषध गाँजासहित सात जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । प्रहरीले १५७ किलो लागूऔषध गाँजासहित सात जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले आइतबार बेलुकी जितपुरसिमरा उपमहानरपालिका वडा नम्बर २२ अमलेखगजंस्थित जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

गाँजा ओसार पसारमा प्रयोग भएका तीन वटा सवारी र चार जना भारतीयसहित सात जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

बा ११ च ४९९२ नम्बरको स्कायिपोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ वर्षीय रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको पाइएको छ । स्कापियोमा ६ पोकामा १५७ केजी लागूऔषध गाँजासहित उनी पक्राउ परेका हुन् ।

यस्तै सो गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ९ का ३० वर्षीय मुकेश लामा, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२२ अमलेखगजंका ३३ वर्षीय बुद्ध पाख्रिन रहेका छन् । उनीहरू पनि पक्राउ परेका छन् ।

यसैगरी गाँजा लिन आएको बिआर ०५ जि ८६५६ नम्बरको भारतीय पिकअप एक र विआर ०५ एजेड ८९६१ नम्बरको भारतीय पल्सर मोटरसाइकलसहित चार जना भारतीय नागरिकसमेत पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत मोतिहारीका २६ वर्षीय अलि अहमद भाट, २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार र ३५ वर्षीय जागिरदिन मियाँ रहेका छन् ।
पक्राउ परेका उपर आगूऔधष सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

बारा प्रहरीले पछिल्लो समय लागु औषधविरुद्ध सक्रियता बढाएको छ । जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्षमा मात्रै १ हजार ७ सय केजी गाँजा बरामद गरिएको  बोगटीले जानकारी दिनुभयो ।

-इन्दीप कोइराला

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?