शिक्षाको लगानी बालुवामा पानी

Read Time = 18 mins

शिक्षामा लगानी किन गर्ने ? यो प्रश्न अप्रासंगिक पनि लाग्न सक्छ । यसभन्दा पहिल्यै अर्को प्रश्न गर्न वाञ्छनीय हुन्छ । शिक्षा के हो ? शिक्षा समाज उपयोगी ज्ञान, सीप, अनुभव, विज्ञता, विशेषज्ञता तथा दूरदर्शिता प्राप्त गर्ने अभ्यासको अमूल्य स्रोत हो । शिक्षा ज्ञान प्राप्तिको आधार हो । मानिसले मानिसका लागि आविष्कार गरेको बेजोड उपलब्धि हो । शिक्षाले व्यक्तिको मन, मस्तिष्क र व्यक्तित्व विकासमा अहं भूमिका खेल्छ । शिक्षाले व्यक्ति स्वयंलाई चिन्न र जान्नमात्रै सक्षम बनाउँदैन उसको पारिवारिक, सामाजिक, राष्ट्रिय साथै अन्तर्राष्ट्रिय भूमिका र कर्तव्यलाई सधैं सम्झाउँछ ।

सचेतना, विवेक, अनुशासन र इमानदारी शिक्षाले दिने अमूल्य उपहारहरू हुन् । शिक्षाले ज्ञान दिन्छ । ज्ञानले व्यक्तिलाई आफ्नो आसपास, समाज, राष्ट्र र विश्व परिस्थितिलाई बुझ्न, जान्न, सकारात्मक परिवर्तन गर्न र समस्याको समाधानका उपाय खोज्न विशेष क्षमतावान बनाउँछ । शिक्षा केबल शैक्षिक विषयहरूको अध्ययन तथा अनुसन्धानमा सीमित नभएर यसले विभिन्न प्रकारको सीप, गुण र दक्षतालाई अभिवृद्धि गर्छ । शिक्षाको माध्यमले व्यक्ति विविध क्षेत्रमा ज्ञानको गहिराइसम्म पुग्छ ।

परिणामस्वरूप ज्ञानी व्यक्तिले दुनियाँको विषयमा जान्ने, बुझ्ने, बुझाउने र वर्तमानलाई सुधार गर्ने अनन्त सम्भावना तथा क्षमता राख्छ । शिक्षाको माध्यमले विभिन्न क्षेत्रमा कुशलता, दक्षता, विशेषज्ञता र योग्यताको विकास गर्छ । परिणामस्वरूप अध्ययन र पेशाका क्षेत्रमा ऊ सफल र सम्मानित हुन्छ । शिक्षा व्यक्ति स्वयं र समाजलाई खुशी, सुखी बनाउने अस्त्र हो । ‘विद्वान् सर्वत्र पुज्यते’ त्यसै भनिएको होइन ।
शिक्षाले व्यक्तिको विचारशक्ति र चिन्तनशक्तिलाई विकसित गर्छ । व्यक्तिलाई आचार्यता, नैतिकता, दायित्वपूर्ण व्यवहार गर्न, इमानदार हुन, नैतिक साथै चारित्रवान हुन प्रेरित गर्छ । सामाजिक सद्भाव, समरसता र सहयोगको भावना अभिवृद्धि गर्न शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षित व्यक्तिमा एकअर्कोसँग समझदारी, आत्मीयता विकसित गर्ने क्षमता हुन्छ । समाजको प्रगति, उन्नति, विकास र समृद्धिमा यथेष्ट शिक्षाले व्यक्तिलाई उपयोगी बनाउँछ ।

समाजका प्रतिशिक्षित व्यक्तिको जिम्मेवारी र दायित्व के ? यो कोणबाट शिक्षा प्रणालीको मूल्यांकन समाजले निरपेक्ष गर्नुपर्छ । शिक्षित व्यक्तिले समाजमा सकारात्मक परिवर्तनको अभियन्ताको रूपमा जिम्मेवारी निर्बाह गर्न यदि सक्दैन भने त्यो शिक्षा प्रणाली किमार्थ सफल मानिँदैन । शिक्षित व्यक्ति आफू सक्षम र योग्य हुँदै गर्दा समाजलाई पनि कसरी सक्षम र समृद्ध बनाउने भन्ने हुट्हुटी ऊभित्र उत्पन्न हुन्छ । समाज उत्थानमा हुट्हुटी उत्पन्न नगर्ने शिक्षालाई के शिक्षा भन्ने ? असल शिक्षा पद्धतिले व्यक्तिलाई स्वयंको प्रगतिमा मात्रै केन्द्रीकृत नगरेर समग्र समाज, देश र विश्वको प्रगतिमा कसरी सहयोगी बन्ने भावनाको अभिवृद्धि गर्छ ।

चेतनासमेतको जागरुक व्यक्ति समाजको मात्रै होइन राष्ट्रकै प्रगति र उन्नतिलाई निमन्त्रणा गर्ने दरिलो सूत्र हो । समग्रमा शिक्षित जनशक्तिले देशमा साधन के-के छन् ? ती साधनलाई विकसित प्रविधिका माध्यमले उच्चतम् परिचालन गर्ने र जनताको जीवनस्तरलाई उच्च पार्ने हैसियत राख्नुपर्छ ।

ज्ञान-सीपलाई साझा गर्न प्रचारप्रसारको दायित्वलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ नै शिक्षित व्यक्तिको वास्तवमा समाज विकासको आधार हो । शिक्षा, स्वास्थ, सामाजिक कल्याण अनुसन्धान, आविष्कार जस्ता अनेकन क्षेत्रहरूमा नेतृत्वदायी भूभिका निर्वाह गर्नुपर्ने दायित्व शिक्षित व्यक्तिको हुन्छ । समाजको धर्म-संस्कृति, सभ्यता, परम्परा, रीतिरिवाज, प्रचलन आदिको संरक्षण र प्रबद्र्धनको दायित्वलाई पूरा गर्ने शक्षित व्यक्तिको आवश्यकता हुन्छ । जीवन र कार्यशैली सम्पूर्ण समाजका लागि अनुकरणीय र उत्प्रेरक काम शिक्षित व्यक्तिबाट असहाय, गरिबहरू, बालबालिका, वृद्धवृद्धाका क्षेत्रसँग यथेष्ट योगदान गर्नुपर्छ । समाजमा शान्ति, सद्भावनाको अभिवृद्धि गर्ने दायित्व र जिम्मेवारीबाट शिक्षित व्यक्ति पन्छियो भने उसले प्राप्त गरेको शिक्षामात्रै होइन उसको समग्र जीवन नै निरर्थक हुन्छ । शिक्षाको मुख्य काम समाजलाई जागरुक बनाउने र चेतना भर्ने हो ।

चेतनासमेतको जागरुक व्यक्ति समाजको मात्रै होइन राष्ट्रकै प्रगति र उन्नतिलाई निमन्त्रणा गर्ने दरिलो सूत्र हो । समग्रमा शिक्षित जनशक्तिले देशमा साधन के-के छन् ? ती साधनलाई विकसित प्रविधिका माध्यमले उच्चतम् परिचालन गर्ने र जनताको जीवनस्तरलाई उच्च पार्ने हैसियत राख्नुपर्छ । व्यक्तिले प्राप्त गरेको शैक्षिक प्रमाणपत्रले मात्रै व्यक्तिलाई शिक्षित भन्न सकिँदैन । व्यक्तिले प्राप्त गरेको शिक्षाले समाजले के पायो ? शिक्षामा योजनाबद्ध लगानीको सुरुवात भएको पनि अब पौने शताब्दी नाघ्यो । के अहिलेसम्मको लगानीको प्रतिफल मूल्यांकन र त्यसको विश्लेषण गर्ने काम हामीले गरेका छौं ? लगानी र प्रतिफलको लेखाजोखा नै नगरिकन गरिने लगानीलाई अब दुरुपयोग किन नभन्ने ? शिक्षाको राष्ट्रिय नीति हुन्छ । त्यस नीतिको पक्षमा भन्दा कतै विपक्षमा त हामीले लगानी गरेका छैनौं ? देशलाई आत्मनिर्भर बनाउन भएको शिक्षाको लगानीले हामीलाई परनिर्भर बनाएको तीतो सत्यलाई जिम्मेवारहरूले कहिले आत्मसात गर्ने ? हाम्रो शिक्षा के हाम्रा साधनस्रोतको उच्चतम परिचालन गर्न र जनताको जीवनस्तरलाई उकास्न सहयोगी प्रमाणित भएको छ ? किमार्थ छैन ।

त्यसैले हाम्रो शिक्षा प्रणाली देश र नागरिकको भरोसा नभएर धोखा भएको छ । हामीले स्कुल र कलेजमा गरेको लगानीबाट उत्पादित जनशक्ति कति देशभित्र कार्यरत छन् ? गरिबको गाँस काटेर लिएको करबाट भएको लगानीले युरोप, अमेरिका, अष्ट्रेलिया र जापानजस्ता देशहरूले सित्तैमा जनशक्ति पाएका छन् । हामी हाम्रो दुर्लभ मुद्रा विदेशीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा किन लगानी गर्दैछौं ? अहिले कक्षा एघार र बाह्रमा पढ्ने विद्यार्थीलाई तिमीहरूले किन पढेको भनेर सोध्यो भने उनीहरूको सोझो उत्तर हुन्छ अमेरिका, अष्ट्रेलिया र युरोप जान पढेको भनेर । म मेरो देशको विकास गर्छु । देशमै रोजगारीको सम्भावना खोज्छु । रोजगारी वृद्धि गर्ने उपाय खोज्छु भन्ने जनशक्ति उत्पादन शिक्षाले गरेन भने यस्तो अर्राष्ट्रिय चिन्तन र दृष्टिकोण बोकेको शिक्षामा भएको लगानीलाई किन दुरुपयोग नभन्ने ? त्यसपछि विश्वविद्यालयमा पढ्नेहरू सबैजसो पढ्दा-पढ्दै विदेशिन कसरी सकिन्छ र पाइन्छ भन्ने सोचले ग्रसित छन् । राम्रो शैक्षिक योग्यता हुनेहरूमध्ये अधिकांश विदेशिन्छन् । युरोप, अमेरिका र अष्ट्रेलिया जानेहरू त फर्कँदैनन् । उतै बसोवास गर्न घर किन्नलाई यहाँको पैत्रिक सम्पत्तिसमेत विदेशिने रोगप्रति सरकार किन नियन्त्रण गर्दैन ? उल्टै विदेशिन प्रोत्साहित गर्छ ?

राजनीतिज्ञहरूको पनि उनीहरूलाई विदेशिन उत्प्रेरित गर्ने स्वार्थ छ । देशमा योग्य र जागरुक युवा सबै देशभित्रै बसे भने यहाँको राजनीतिक, सामाजिक विकृतिहरूका विरुद्ध जबर्जस्त आवाज उठ्छ । त्यस आवाजले उनीहरूलाई निश्चितरूपमा राजनीतिबाट विस्थापितमात्रै गर्दैन कि भ्रष्टाचारको अभियोगमा जेल पनि हाल्न सक्छ । उनीहरूले विगतमा गरेको भ्रष्टाचारको र अनियमितताको छानविनको सुरुवात हुने बित्तिकै जेल जानुपर्छ । त्यस सम्भावनालाई पन्छाउन राजनीतिज्ञहरू जनशक्ति विदेश पठाउन सहजकर्ताको भूमिका खेल्छन् । अर्को आश्चर्य के छ भने छोराछोरी विदेशी नागरिक हुँदा यता बाबुआमा हर्ष मनाउँछन् । राजनेताहरू आफ्नै छोरा विदेशी नागरिक बन्दा गर्व गर्छन् । यस्तो अर्राष्ट्रिय सोच हुनेहरूलाई राजनीति र विकासको जिम्मा दिने हाम्रो सोचप्रति जति धिक्कार्दा पनि कम हुन्छ ।

हामीले सित्तैमा नागरिक मात्रै निर्यात गरेका छैनौ माया, अपनत्व निर्यात गरेर देशलाई कंगाल र तिनका अभिभावकलाई बुढेसकालमा असहाय बनाएका छौं । देशलाई कंगाल र अधिकांश अभिभावकलाई बेसाहारा बनाउने दुर्भाग्य आफैंले किन निम्ता गर्दैछौं ?

यहाँको अव्यवस्थाको दबाब र विदेशको सुव्यवस्थाको प्रभावले होनहारमध्येका अधिकांश जनशक्ति विदेशतिर भासिएका छन् । यो परिस्थिति देशको सुदूर भविष्यका लागि दुर्भाग्य हो । यो दुर्भाग्यलाई सौभाग्य ठान्ने वर्तमान राजनीतिका हस्तीहरूको नेतृत्व देशमा जति रहन्छ त्यति नै उनीहरूले होनहार युवालाई विदेशिन उत्प्रेरित गर्छन् । युवालाई विदेश जान उत्प्रेरित गर्ने मुख्य कारण अनियमितता र भ्रष्टाचार हुन् । भ्रष्टाचार र अनियमिततालाई राजनीतिको मुख्य गन्तव्य ठान्ने अहिले दृश्यमा देखिएका राजनीति कर्मीहरूलाई राजनीतिबाट विस्थापित गर्ने र नैतिकता, चरित्र, सदाचार, जनताप्रति आस्था विश्वास र समर्पण भएको नेतृत्वलाई स्थापित गर्नु नै समस्याको समाधान हुनसक्छ । हामीले धेरैपटक राजनीतिक पद्धतिलाई फेर्‍यौं तर प्रवृत्ति फेर्न सकेनौं । त्यसैले देशको अवस्था पनि फेरिएन ।

शिक्षाले इमानदार, चरित्रवान र राष्ट्रवादी राजनेता उत्पादन गर्न सकेन । इमानदार, देशभक्त प्रशासक, शिक्षक, प्राध्यापक, न्यायाधीश, व्यापारी, उद्योगपति उत्पादन गर्न सकेन । यसकै परिणाम र परिणति हो देशमा मडारिएको भ्रष्टाचार, नातावाद, अराजकता, विधिविहीनता र भद्रगोल । यस्तो भएपछि देश कसरी बन्छ ? सबैलाई अनुशासित, नैतिवान, चरित्रवान इमानदार, जिम्मेवार बनाउने मुख्य सूत्र नागरिकले पाउने शिक्षा हो । वर्तमान शिक्षा प्रणालीमा गीता र पुराणहरू समावेश नहुनु नै कमजोरीका कारण हुन् ? गीता, भागवत, पुराणहरू पाठ्यक्रममा समावेश गर्दामात्रै देशको राजनीति र प्रशासनिक व्यवस्थालाई लयमा फर्काउन सकिन्छ । विकृतिको कारण हाम्रो चरित्र, नैतिकता र इमानदारीको स्खलनप्रति बेवास्ता गर्ने शिक्षा प्रणाली हो ।

गर्भधारणदेखि १२ कक्षा पास गर्दा देशले पालनपोषण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरेको लगानीका प्रतिमूर्ति सधैंका लागि पलायन हुनु भनेको शिक्षामा मात्रै होइन तिनीहरूलाई गरेको पालनपोषण, स्वास्थ्य शिक्षा आदिको लगानी देशका लागि बालुवामा पानी भएन ? नेपालजस्तो गरिब देशले अमीर देशहरूका लागि सित्तैमा सदाका लागि पलायन हुने जनशक्ति किन उत्पादन गर्ने ? हामीले सित्तैमा नागरिकमात्रै निर्यात गरेका छैनौं माया, अपनत्व निर्यात गरेर देशलाई कंगाल र तिनका अभिभावकलाई बुढेसकालमा असहाय बनाएका छौं । देशलाई कंगाल र अधिकांश अभिभावकलाई बेसाहारा बनाउने दुर्भाग्य आफैंले किन निम्ता गर्दैछौं ? यस विषयमा पुनर्विचार कहिले हुने ? जहाँ राजनीति बिग्रन्छ त्यहाँ सबैकुरा बिग्रन्छ भन्ने कुराको प्रमाण हो विद्यार्थी विदेश पलायन हुने अवस्था । के हामीले शिक्षामा पुनर्विचार गर्नुपर्दैन ?

हाम्रा विश्वविद्यालयमै अध्ययन हुने विषयमा विदेश पढ्न जाने अनुमति किन दिने ? यदि हाम्रो विश्वविद्यालयहरूको पढ्नपाठन गुणस्तरीय छैन भने गुणस्तरीय बनाउन लगानी गरौं । विदेश अध्ययनका नाममा हुने लगानी नभएर देशका लागि घाटा हो । यीमध्ये प्रायः विद्यार्थीले नेपाली नागरिकता समेत त्याग्छन् । त्यतिमात्र होइन पछि नेपालमा उनीहरूको अंश भागमा पर्ने सम्पत्तिसमेत बाहिरिने गर्छ । नागरिकलाई सक्षम बनाउनुभनेको राज्य सक्षम हुनु हो तर हाम्रो शिक्षाले बिनालगानी विकसित देशहरूले जनशक्ति उपयोग गर्न पाउने विषयले हामीले हाम्रै खुट्टामा बञ्चरो हानेको विषयमा हामी कहिलेसम्म चेतनाशून्य बन्ने ? विदेशिनेलाई दिएको शिक्षालगायत अन्य खर्च देशका लागि बालुवामा पानी भएको छ । अब यसलाई किन नरोक्ने ?

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गोविन्द विनोदी
गोविन्द विनोदी
2023-08-09 4:19 pm

लेख समसामयिक छ । यसले देशको शेैक्षिक दुरवस्थाको शल्यक्रिया गरेको छ । धन्यवाद लेखक प्रा देवीभक्त सर । धन्यवाद हिमालय टाइम्स !!!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?