पारोलाई हराउँदै मच्छिन्द्र दोस्रो चरणमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भुटानको पारो एफसीलाई हराउँदै नेपालको मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा मच्छिन्द्रले भुटानको पारो एफसीलाई तीन-दुर्ईले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा विमल घर्ती मगर, आयुष घलान र ओलावाले आफिजले एक-एक गोल गर्नुभयो ।

दशरथ रंगशालामा खेलको छैटौँ मिनेटमा पारोले काजुओको गोलबाट अग्रता लिएको थियो । जापानी फरवार्डको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउने प्रयास गर्नुभएपछि उहाँको हातमा लाग्दै पोस्टमा प्रवेश गरेको थियो । उक्त गोलको पाँच मिनेटमा नै मच्छिन्द्रका लागि विमलले बराबरी गोल फर्काउनुभयो । १२औँ मिनेटमा आयुष घलानको क्रसमा विमलले हेडरमार्फत् बराबरी गोल फर्काउनुभयो । त्यसको तीन मिनेटमा नै विमलले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासमा आयुषले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाउनुभयो ।

३९औँ मिनेटमा मच्छिन्द्रका लागि ओलावाले आफिजले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । ७१औँ मिनेटमा एभान्स असान्तेले एक गोल फर्काउनुभए पनि त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल मच्छिन्द्रले जित्यो ।

मच्छिन्द्रले अब प्लेअफको दोस्रो चरणमा भारतीय क्लब मोहन बगानको सामना गर्नेछ । उक्त खेल साउन ३१ गते बुधबार कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ । यो खेलको विजेताले समूह चरणमा स्थान बनाउन बंगलादेशको अवाहानी ढाका र माल्दिभ्सको क्लब इगल्सको विजेतासँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?