संघीय संसदका दुबै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संघीय संसदअन्तर्गतका दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजे बस्नेछ ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै सभामुखले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी गराउनुहुनेछ ।

बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नुहुनेछ ।

शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नुहुनेछ भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइने विषय पनि कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ ।

यता राष्ट्रियसभामा आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची तय भएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?