पुस्तक : नेपाली संस्कृतिमाथि गहन चिन्तन

हिमालय टाइम्स
Read Time = 10 mins

✍️ सत्यराज जोशी

प्राध्यापक डा.अरुण गुप्तोद्वारा लिखित पुस्तक ‘संस्कृति चिन्तन’ बजारमा आएको छ । उक्त कृतिले नेपाली संस्कृतिका बहुआयामिक पक्षहरू माथि भावनात्मक चिन्तन गरेको छ । कृतिले नायक खलनायक, देवी बिमर्श, पात्र-विमर्श तथा विश्वविद्यालय र शहर जस्ता विषयमाथि गहन चिन्तन गरेको छ । नायक-खलनायक शीर्षकअन्तर्गतको संकलनमा संगृहीत निम्बन्धमा मिथकीय खलनायक पारिजातद्वारा लिखित साहित्यिक कृति शिरीषको फूलमा रहको खलनायक पात्र सुयोगलाई बहुआयामिक खलनायकको रूपमा व्याख्या गरिएको छ ।

सुयोगमा ‘मिथकीयात, विषाक्त, सिपालु कथावाचक, झुटो, इमानदारी जस्ता गुण–अवगुण बोकेको छ ।’ सुयोगको चारित्रिक विशेषता सकारात्मक तथा नकारात्मक पक्षहरूले भरिएको छ । यस्ता पात्रहरूको निर्माण नेपाली नाटकमा तथा सिनेमामा देखिनु पर्दछ भन्ने तर्क निबन्धकारले प्रस्टयाउनु भएको छ । त्यसैगरी पात्रको सकारात्मक तथा नकारात्मक चरित्रले दर्शकलाई समाजमा हुनेगरेका रहस्यमय व्यावहारप्रति सचेत हुन जागृत गराउँछ ।

यस संग्रहको किसिम-किसिमका युवा शीर्षक अनर्गत ग्रामीण र सहरी दुवैथरी युवामाथि केन्द्रित रही चिन्तन गरिएको छ । काठमाडौं या देशका मुख्य सहर बाहिरबाट त्रिभुवन विश्वविद्यालयमा पढ्न आउने युवा पढाइमा भन्दा राजनीतिमा बढी सक्रिय रहेका छन् । ती विद्यार्थीहरूको लागि राजनीति नै सबैभन्दा ठूलो प्राथमिकता छ भने उनीहरूका लागि पढाइ, खेलकुद, कला तथा साहित्य जस्ता विषय प्राथमिकतामा पर्दैन भन्ने तर्क राखिएको छ ।

त्यसैगरी शहरीया युवा विद्यार्थीहरू माथिको चिन्तनमा लेखकले सहर केन्द्रित युवाहरू अत्यन्त स्मार्ट रहेको र उनीहरूसँग धैर्य पनि रहेकोे तर्क गरेका छन् । यो युवा मध्यवर्गीय युवा हो । यी युवाहरू पैसा तिरेर प्राइभेट कलेजमा पढिरहेको कुरा उल्लेख गरिएको छ तर यी युवा समूहलाई देशको बारेमा चासो छैन । उनीहरू आफ्नै संसारमा मस्त रहेका छन् । यो युवा समूहका धेरैजसो युवाहरू विदेश गइरहेका छन् । अर्थात “नेपाल त अन्यत्र जानका लागि तयारी गर्ने स्थल बनेको छ । त्यसैगरी गाउँबाट शहर आएको युवाका लागि देश राजनीतिक अभ्यास गर्ने स्थल बनेको तर्क निबन्धकारको रहेको छ ।

यस संग्रहको किसिम-किसिमका युवा शीर्षक अनर्गत ग्रामीण र सहरी दुवैथरी युवामाथि केन्द्रित रही चिन्तन गरिएको छ । काठमाडौं या देशका मुख्य सहर बाहिरबाट त्रिभुवन विश्वविद्यालयमा पढ्न आउने युवा पढाइमा भन्दा राजनीतिमा बढी सक्रिय रहेका छन् ।

त्यसैगरी नेपाली युवामा व्यावसायिकताको कमी रहेको तर्क निबन्धकारको रहेको छ । नेपालको तुलनामा भारत चीनका युवाहरूमा व्यावसायिकता अत्यन्त बढी रहेको कुरा पनि निबन्धमा उल्लेख गरिएको छ । जुन कुरा बढो माननीय छ । युवा विषयमाथिको चिन्तनकै क्रममा निबन्धकारले नेपाली युवामा पठन संस्कृतिको कमी हुँदै गएको कुरा उल्लेख गरेका छन् । एक प्रसंगमा निबन्धकारले ‘विश्वविद्यालयमा पढनका लागि तयारी गर्ने संस्कृति खोइ त ?’ भन्ने विचार बढो सजीव तवरले प्रस्तुत गरेका छन ।

त्यसैगरी आजको डिजिटल युगले गर्दा युवाहरू प्रकृतिवाट टाढिँदै गएको कुरालाई निबन्धकारले आफूले देखेको सजीव उदाहरणमार्फत प्रस्ट्याएका छन् । जस्तो ‘एक पटक एक जना सहरी युवा मसँग मेरो गाउँ घुम्न गएको थियो । उसले प्रेममा भुलिरहेको कुखुराको जोडीलाई ढुङ्गाले हिर्कायो ‘किन हिर्काएको ?’ भनेर मैले सोधेँ । उसले एकअर्कालाई टोकिरहेको कुखुरालाई भगाउन’ भन्ने उत्तर दियो ।’ यसरी युवा पुस्ता प्रकृतिबाट कति टाढा हुँदै गएका छन् भन्ने विषयलाई चर्चा गरेका छन् ।

त्यसैगरी ‘देवीको विरोधाभास’ शीर्षकको निबन्धले त देवीको एक रूपमा देखिने बहुस्वरूप माथि चिन्तन गर्न प्रेरित गरेको छ । जस्तो ‘हेर्दा डरलाग्दा देखिने देवीका हातमा पनि पुस्तक भने देखिन्छ । यो सम्मिश्रण तथा विरोधाभास निकै रोचक छ ।’ यी विरोधाभासपूर्ण देवीका रूपहरूमा समाजले निर्माण गरेको असल र खराब वा अनुहारको मानकलाई चुनौती दिएको देखिन्छ । एक प्रसंगमा निबन्धकारले आफ्नो विचार तार्किक तवरले प्रस्तुत गरेका छन् । जस्तै ‘सारसजस्तो अनुहार हुँदैमा पनि विद्याकी देवी हुन्, सुँगुर जस्तो अनुहार भए पनि संरक्षण गर्ने सामथ्र्य राख्नु’ नै रूप एक कार्य अनेक भन्ने तथ्यलाई प्रष्ट पार्दछ ।

यसर्थ निबन्धकारले देवीको रूपमा देखिने वास्तविक जीवन्त स्वरूपहरू प्रस्तुत गरेका छन् । यी देवीका बहुरूपले बोक्ने बुहुआयामिक पक्षहरूले मानिसको सौन्दर्य उसको रूपमा नभएर उसले जीवनको विभिन्न चरणमा प्रस्तुत गर्ने व्ययहारहरूले उसको सौन्दर्य झल्काउँ छ भन्ने भाव प्रस्टयाएको देखिन्छ । त्यसैगरी निबन्धमा काठमाडौं जस्तो सांस्कृतिक सहरको वास्तविक आदर्श दिन प्रतिदिन हराउँदै गएको भाव पनि निबन्धकारले किलिष्ट भाषामा परेका छन् । जस्तो नेपाली सहरहरूको संरचना बनाउँदा ‘ग्रीन एजेण्डा’ जस्ता विषयलाई सोचिएन फलस्वरूप हेर्दा पार्क, प्लेग्राउन्ड, रिक्रियसन सेन्टरहरू, पब्लिक स्पेसहरू खासै देखिँदैन, कंक्रिटको जंगलमात्र देखिन्छ ‘सहर’ भन्ने तर्क निबन्धकारको रहेको छ ।

यो पुस्तकमा संग्रहित निबन्धहरूले नेपाली संस्कृतिका विविध पक्षमाथि गहन चिन्तन गरिएको र ती चिन्तनहरूमा समाधान पनि खुलाएकाले निबन्धहरूको सौन्दर्य अझ झल्किएको देखिन्छ । जस्तो नेपाली विश्वविद्यालयहरूमा, अनुसन्धान अलपत्र पारेको विषयमाथि निबन्धकारले गहिरो चिन्तन गरेका छन् । त्यो चिन्तनमा विश्वका विकसित राज्यहरूले अनुसन्धान संस्कृति कस्तो अपनाएका छन् र त्यो संस्कृतिबाट नेपाली विश्वविद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले सिक्नुपर्ने’ अनुसन्धान केन्द्रित सीपका बारे उदाहरणसहित प्रष्टाइएको देखिन्छ ।

समग्रमा यी निबन्धहरूले नेपाली समाजको कला, साहित्य, दर्शन, नेपाली मौलिक मान्यता, पात्र विमर्श तथा विश्वविद्यालय र सहरहरूले बोक्दै आएका मान्य र ती मान्यतामा भएको सौन्दयहरूप्रतिको गहिरो माया र ती संस्कृतिमा सुधार गर्नुपर्ने विषयप्रति प्रत्येक निबन्धहरू प्रभावकारी रूपमा बोलेको देखिन्छ । निबन्ध समान्य मानिसले सिधै बुझ्न भने गाहो देखिन्छ । निबन्धमा प्रस्तुत गरिएका उदाहरण, पात्र विशेषका प्रसंग र नेपाली, बंगाली, चिनियाँ सांस्कृतिका बहुआयामले समान्य पाठकलाई बुझ्न कठिन हुन सक्छ ।

तर, देवीका, मूर्ति, युवक लक्षित चिन्तकले पाठकलाई दार्शनिक भाव दिन्छ भने युवा सहर विश्वविद्यालय लक्षित चिन्तनले हाम्रो भूमिका व्यक्ति, राज्य र संस्कृति निर्माणमा कस्तो हुनुपर्छ भन्ने भाव जगाउँदछ । समग्रमा निबन्धले व्यक्ति, समाज र राज्यले परिभाषित गरेको सांस्कृतिक परिभाषालाई पुनःचिन्तन गर्न प्रेरित गरेको छ र व्यक्तिको संस्कृतिप्रतिको बुझाइलार्ई व्यापक पार्न व्यक्तिलाई उद्देलित गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?