मैनालीको ‘विकल समालोचनात्मक अन्वेषण’

सुशीला घिमिरे
Read Time = 7 mins

गोपी मैनाली वर्तमान दिनहरूमा साहित्यमा सक्रिय कमलकर्मीका रूपमा चर्चित नाम हो । नेपाल सकारका पूर्वसचिव मैनाली हाल सेवा निवृत्त हुनुहुन्छ । उहाँजस्ता अन्य धेरै सेवा निवृत्त कर्मचारीहरूको दिनचर्या अन्य विभिन्न प्रकारले बितरहेको हुनसक्छ तर गोपी मैनाली भने साहित्य सिर्जनामै तल्लिन भएर समयको सदुपयोग गरिरहनु भएको छ । उहाँको यस्तो कार्यले नेपाली साहित्यले लाभान्वित हुने सौभाग्य पाएको छ । उहाँले कहिले निबन्ध त कहिले समालोचनामा कलम चलाउने गर्नुभएको छ । पछिल्लो पटक उहाँको साहित्यकार रमेश विकल सम्बन्धमा समालोचनात्मक पुस्तक प्रकाशित भएको छ ‘रमेश विकल समालोचनात्कम अन्वेषण’ शीर्षकमा ।

यो पुस्तक सुरभि साहित्य प्रतिष्ठानले प्रकाशित गरेको छ । यसको सर्वाधिकार प्रकाशकमा रहेको छ भने यो संस्कर यस पुस्तकको प्रथम संस्करण हो । भूमिका खण्डका १२ र पाठ्यखण्डका ३२४ पृष्ठसहित यस पुस्तकमा ३३६ पृष्ठ छन् र यसको मूल्य ७५० रुपैयाँ छ । पुस्तक डिएमआई साइजमा छ । यसको छपाइ स्तरीय छ भने अशुद्धिहरू कतै-कतैमात्र भेटिन्छन् । पुस्तकमा सेतो तौलयुक्त कागजको प्रयोग भएको छ । यसको मुद्रण सूर्योदय छापाखाना हाँडीगाउँ, काठमाडौंमा भएको छ । पुस्तकको लेआउट दीपेन्द्र बस्नेतले गर्नुभएको छ । आवरणमा साहित्यकार स्वर्गीय रमेश विकलको फोटो राखिएको छ ।

नीलो पृष्ठभूमिकमा रातो सर्ट लगाएको उहाँको यो फोटो आकर्षक देखिएको छ । तल पुस्तकको शीर्षक रमेश विकल समालोचनात्मक अन्वेषण र त्यसमुनि समालोचक गोपी मैनालीको नाम दिइएको छ । पृष्ठ आवरणमा गोपी मैनालीको फोटो र उहाँको परिचय दिइएको पाइन्छ । यहाँ उहाँको जन्ममिति, जन्मस्थान, मातापिता, उहाँको शिक्षा र उहाँले लेख्नुभएका कृति, उहाँले पाउनुभएका मानसम्मान र तथा विभूषणहरू बारे उल्लेख गरिएको छ । तल प्रकाशक संस्था सुरभि साहित्य प्रतिष्ठानको लोगोसहित नाम उल्लेख गरिएको छ ।

समालोचनाका विद्यार्थी तथा साहित्यकार र स्वर्गीय रमेश विकल बारे जान्ने जिज्ञासा राख्नेहरूका लागि यो पुस्तक निश्चय सहायक सिद्ध हुनसक्छ । यसैगरी शोधार्थीहरूका लागिसमेत एकै कृतिबाट धेरै कुरा जान्न र सिक्न यस पुस्तकले सहयोग पुर्‍याउन सक्ने कुरा निर्विवाद छ ।

पुस्तकको भूमिका खण्डमा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालको शुभकामनाका केही शब्दहरू, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ र समालोचक मैनालीको आफ्नै कुरा रहेका छन् । यसपछि विषयसूची दिइएको छ । त्यसपछि साहित्यकार रमेश विकल बारेका समालोचनात्मक लेखहरू दिइएको पाइन्छ । विभिन्न १७ वटा शीर्षकमा दिइएका लेख समग्रमा पढिसकेपछि साहित्यकार रमेश विकल बारे धेरै कुरा थाहा पाउन सकिन्छ । यति ठूलो आकारको पुस्तकमा एकजना साहित्यकारको मात्र विषयमा लेखन तथा विश्लेषण गर्नु भनेको विकलबारेमा सामान्यतया समग्र पक्षलाई समेटेर चित्रण गर्नु हो भनेर बुझ्नुपर्ने हुन्छ । यस पुस्तकमा विकलको जीवनी र व्यक्तित्व, उहाँको साहित्यिक यात्राका विभिन्न चरण, उहाँका कथा, उपन्यास, निबन्ध, बालसाहित्य, आत्मकथा नाटकलगायत विधा र क्षेत्रको छुट्टाछुट्टै शीर्षकमा यस पुस्तकमा चर्चा भएको छ ।

त्यसपछि विकलका प्रमुख कृतिहरूको विश्लेषण, समकालीन सर्जकहरूसँगको सम्बन्धको चर्चा । अन्य समालोचकहरूको दृष्टिकोणमा रमेश विकल, रमेश विकलले आफ्ना रचनाहरूमा छनोट गर्ने गरेका पात्रहरू जस्ता कुरा पनि मैनालीले पृथक–पृथक शीर्षकहरूमा चर्चा गर्नुभएको छ । यसैगरी रमेश विकलका साहित्यमा पाइने प्रवृत्तिहरूको विश्लेषण गर्दै मैनालीले विकलको सामाजिक यथार्थवाद, प्रगतिवाद, मनोविज्ञान, स्थानीयता जस्ता कुरालाई देखाउनुभएको छ । रमेश विकलको विचार दर्शन र दृष्टिकोण पनि पुस्तकमा देखाइएको छ ।

अन्त्यमा साहित्यकार रमेश विकलको नेपाली साहित्यमा स्थान निर्धारण पनि उहाँबाट भएको छ । यो निकै महत्वपूर्ण सन्दर्भका रूपमा पुस्तकमा आएको छ । समालोचनाका विद्यार्थी तथा साहित्यकार र स्वर्गीय रमेश विकल बारे जान्ने जिज्ञासा राख्नेका लागि यो पुस्तक निश्चय पनि सहायक सिद्ध हुन सक्छ । यसैगरी शोधार्थीहरूका लागिसमेत एकै कृतिबाट धेरै कुरा जान्न र सिक्न यस पुस्तकले सहयोग पु¥याउन सक्ने कुरा निर्विवाद छ । यस पुस्तकका लागि समालोचक गोपी मैनालीलाई धेरै धेरै बधाई तथा धन्यवाद छ । साथै यस पुस्तकको सफलताको कामना । सधैं साहित्यमा सक्रिय रहिरहनुहुने गोपी मैनालीबाट यस्ता अन्यान्य पुस्तकहरू नेपाली साहित्यमा थपिँदै जाऊन्, उहाँलाई अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?