सभामुखबाट संसद बैठक हाइज्याक भयाे : सभापति लामिछाने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताउनुभएको छ ।

सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताउनुभएको हो ।

उहाँले संसद बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरुलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको बताउनु भयो ।

उहाँले संसद बैठकको यसप्रकारको क्रियाकलापको रास्वपाले घोर भत्र्सना गर्ने बताउनु भयो । सभामुखले संसदको नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै उहाँले कसको लागि र किन त्यस्तो गरिएको हो भनि प्रश्न गर्नुभयो । उहाँले सभामुखमाथि शंकाको घेरा देखिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी घोर भत्र्सना गर्न चाहान्छौँ । यसरी मिलिजुली संसदलाई बन्दी बनाए जसरी बोल्न चाहेका मान्छेहरुलाई बोल्न दिने, आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि अनि जर्बजस्त अब बन्द गर । ल गर तिमीहरु भनेर एउटा कुनै कोठाभित्र कसैले बसेर प्लान गरेर अब तँ यो गर्नु, तँ यो गर्नु, तैले यसो गर्नु, उसो गर्नु म यसो गर्दिन्छु भनेर भनिएको कुराको गन्ध आयो । सदनमा त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले हामी यसको घोर बिरोध गर्न चाहन्छौँ । सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय यो जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो । सदनलाई हाइज्याक गरियो । अनायासै सत्ता पक्षका सांसद बोल्नुभयो । त्यसपछि प्रमुख प्रतिपक्षतिर आयो । प्रमुख प्रतिपक्ष दलका सांसदहरुले बोल्दाबोल्दै अर्को प्रक्रियामा प्रवेश गर्नुभयो । बोल्न सिध्याउनु नि भएको छैन उहाँले । संसद हाइज्याक गरियो । संसद हाइज्याक गर्न पाइँदैन । त्यो सम्मान राख्न सक्नुपर्छ । दल छोडेर सदन छिरिसकेपछि, सम्मानित कुर्सिमा बसिसकेपछि दलको बन्न पाइँदैन । व्यवहारले पनि पाइँदैन । क्रियाकलापले पनि पाइँदैन । भित्रि रुपमा, बाहिरी रुपमा पनि पाइँदैन । यसले लोकतन्त्रको मुल्य र मान्यतामाथि ठूलो कुठाराघात हुन्छ । ठूलो ठेस लाग्छ । यो क्रियाकलापले पदिय गरिमा, स्वतन्त्रताको पर्याय बन्नुपर्ने त्यो ठाउँमा शंकाको ठूलो एउटा घेरा देखिएको छ । अत्यन्तै धेरै शंका गर्नुपर्ने घेरा देखिएको छ ।’

सभापति लामिछानेले आफू आजको संसद बैठकमा विशेष कुरा बोल्ने महत्वपूर्ण तयारी साथ आएको भएपनि बोल्न नपाएको बताउनु भयो । उहाँले योजनावद्ध रुपमा प्रमुख प्रतिपक्ष दलले बोलिसकेपछि अरु प्रतिपक्षको पनि आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजिएको बताउनु भयो ।

त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आकस्मिक समयमा दुई जना सांसदलाई मात्रै बोल्न दिएर संसदमा अरुको उपस्थिति छैन भन्नेजस्तो नजिर बसाएको बताउनु भयो । उहाँले संसद दुई पार्टीको कब्जामा परेको बताउनु भयो ।

उहाँले सशक्त जनमत लिएर आएका नयाँ पार्टीहरुको अस्तित्व स्वीकार नगरिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?