भारतको बिरोध गर्नु नेपालको राष्ट्रवाद होइन : सांसद केसी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको बिरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनुभएको छ ।

बुधवार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले बि.सं. २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र काँग्रेसको बिरोध गर्नु हो भन्ने भाष्य बनेको बताउनु भयो । अहिले पनि कहिलेकाहीँ भारतको बिरोध गर्नु नै नेपालको राष्ट्रवाद हो भनि सम्झिने गरिएको भन्दै त्यो गलत भएको बताउनु भयो ।

उहाँले कुनै राष्ट्रको बिरोधमा नभई आफ्नो राष्ट्रको पक्षमा उभिनुपर्ने बताउनु भयो । उहाँले नेपाल–भारत बीचको सम्बन्धलाई अझै सशक्त र मजबुत बनाउनुपर्ने बताउनु भयो । उहाँले भारतीय स्वतन्त्रता संग्रामले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अद्वितिय योगदान दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘खासगरेर १७ सालपछिको एउटा परिस्थिति यसरी जन्मियो तत्कालिन पञ्चायती व्यवस्थाको बिरोधमा सशस्त्र संघर्षदेखि विभिन्न प्रकारका संघर्षका निम्ति भारतीय क्षेत्रलाई आधार बनाएर हाम्रो नेता सुवर्ण समशेर लगायत बसेको स्थितिमा तत्कालिन परिवेश के भयो भने नेपालको राष्ट्रवाद भनेको नै भारत बिरोधवाद र काँग्रेस बिरोधवादको रुपमा जन्मियो । त्यसकारण हामी कहिलेकाहीँ भारत बिरोधवाद नै नेपालको राष्ट्रवाद हो कि भनेर सम्झन्छौँ त्यो होइन । संसारमा कुनैपनि राष्ट्रको बिरोध होइन आफ्नो समर्थनमा हरेक राष्ट्र उभिन्छ । हरेक राष्ट्रको राष्ट्रिय अस्तित्वको निम्ति पहिलो उसको चासो हुन्छ । छिमेकी भन्दा । हुनत भारतीय नीति अहिले छिमेकी पहिलो भन्ने छ । त्यो दृष्टिकोणले अहिले जुनखालको परिवेशहरु निर्माण भएको छ, त्यसलाई अझ सशक्त, मजबुत कसरी बनाउन सक्छौँ ? र भारतीय स्वतन्त्रता संग्रामले नेपालको प्रजातान्त्रिक आन्दोलनमा दिएका अद्वितिय योगदानहरु त मैले अघि नै पनि बताए । र भारतीय स्वतन्त्रता संग्रामको निम्ति नेपालीहरुले योगदान दिएको कुरा पनि भनेँ । त्यतिमात्र त्यसले गरेन । विश्वव्यापी रुपबाट अहिंसा र सत्यको शक्ति कति छ ? ब्रिटिस साम्राज्य जहाँ कहिल्यै सूर्य अस्ताउँदैन भनिन्थ्यो, त्यो साम्राज्यलाई हराउन सक्ने शक्ति हुन्छ भन्ने अहिंसाको सन्देश अहिंसात्मक ढंगले, नैतिक बलले पनि हामी विजय प्राप्त गर्नसक्छौँ भन्ने सत्यको सन्देशको पनि यो संग्राम प्रेरणाको रुपमा हामी लिनसक्छौँ ।’

उहाँले नेपाल–भारत बिचको सम्बन्ध राजनीतिक बन्धनले मात्रै बाँधिएको नभई धर्म, संस्कार, संस्कृति, परम्परा र आपसी मान्यताहरुबाट एक अर्कामा जोडिएको बताउनु भयो । उहाँले दुई देशका बीचमा देखिएका समस्याहरुलाई पारस्परिक आत्मविश्वासका साथ सहअस्तित्व र सहसम्मानको बाटोबाट हल गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?