सर्लाही । मधेश प्रदेशमा तीन दिनदेखि गर्मी पुनः अत्याधिक बढ्दा जनजीवन प्रभावित हुन थालेको छ ।
यस क्षेत्रमा आज पनि मौसम धाम्मधुम्म भई हपक्क गर्मी छ । साउन चौंथो सातातिर दुई दिन पर्याप्त वर्षा हुँदा यस क्षेत्रमा गर्मी निकै कम भएको थियो । पानी पर्न रोकिएपछि फेरि हपक्क गर्मी हुन थालेपछि जनजीवन कष्टकर बन्न थालेको हो ।
गर्मी छल्न स्थानीय शितल छहारी र पङ्खामा बसिरहन बाध्य भएका छन् । मजदुर तथा किसानलाई चर्को घाम र हपक्क गर्मीले बढी मार परेको छ । गर्मी छल्न यहाँका बालबालिका नजिकको पोखरी, नहर, जरुवा लगायतका जलाशयमा पौडी खेल्न पुग्ने गरेका छन् । यही गर्मीमा विद्युत् अनियमित हुँदा स्थानीय थप मारमा परेका छन् ।
सर्लाही जिल्लाको गोडैता नगरपालिका–११, का रामविनय रायले अत्यधिक गर्मीको बेला विद्युत् कटौति भइरहने समस्याले हैरान भएको गुनासो गर्नुभयो । लालबन्दी, बरहथवा र मलङ्गवा तीनवटै वितरण केन्द्रमा विद्युत् अनयिमित हुँदा गर्मीले आजित भएका सर्वसाधारण थप मारमा परेका हुन् । साँझ खाना खाने समय र राति सुत्ने बेला बत्ती कटौति हुने गरेको गुनासो स्थानीयले गरेका छन् ।
गएराति र गएको साँझपख पनि जिल्लाभर विद्युत् कटौति भएको थियो । चर्को घाम र गर्मीले गर्दा पङ्खाको सहाराबिना बस्न सक्ने अवस्था नरहेको लालबन्दी नगरपालिक–७, बजारका व्यापारी नवीन पन्तले बताउनुभयो । पानी पर्न रोकिएर चर्को घाम लाग्न थालेपछि भर्खरै धान रोपेका किसान निराश बनेका छन् । पर्याप्त वर्षा हुँदा यहाँ आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रका अधिकांश किसानले साउन मध्यपछि भएपनि रोपाइँ गरेका छन् । तत्काल खडेरी गए भर्खरै रोपिएको तथा रोपेर हरियो फिर्न लागेको धानबाली प्रभावित हुने किसानको चिन्ता छ । त्यस्तै, गर्मी बढ्दा जिल्लामा डेङ्गु, आँखा पाक्ने तथा गर्मीजन्य अन्य रोगको सङ्क्रमण बढेको चिकित्सकले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच