सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक छैन : गृहमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताउनु भएकाे छ।

कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सुन प्रकरणको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन राज्यको संयन्त्र सक्षम रहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताउनु भयाे ।

राज्यको व्यावसायिक, पेसागत रूपमा दक्ष र जिम्मेवार संरचना तगा संयन्त्रले काम गरिरहेकाले सुन प्रकरणको अनुसन्धान नतिजामा पुग्ने उहाँले बताउनु भयाे ।

मन्त्री श्रेष्ठले यसअघि केपी ओली नेतृत्वको सरकारका पालामा भएको ३३ किलो सुन प्रकरणमा संसदीय समिति बनाइए पनि प्रतिवेदन आउनेबाहेक केही नभएको टिप्पणी गर्नुभयाे ।

‘छानबिन समिति बनाइयो समितिको रिपोर्ट आयो अन्य केही पनि आएन,  न सुन आयो, न सिफारिस कार्यान्वयन भयो। त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ, त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ,’ उहाँले भन्नुभयाे ।

उहाँले यसबारेमा छानबिन समितिको माग गर्दै एमालेले संसद अवरूद्ध गर्नु दुःखद रहेको पनि बताउनु भयाे। सरकारले भ्रष्टाचारविरूद्धको अभियान चलाउँदा विपक्षी दलसहित सबै पक्षबाट साथको आवश्यकता रहेको बताउनु भयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?