तानसेनमा व्यापारीको मनपरी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनका केही किराना पसलका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको पाइएको छ । बजार अनुगमन नियमित नहुँदा व्यापारीले बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य मनपरी लिने र म्याद गुज्रिएका खाद्यान्न विक्रि गर्ने गरेका छन् ।
व्यवसायीले आफूखुसी मूल्यवृद्धि गर्दै गुणस्तरहीन सामान बेचिरहेको भए पनि बजारको नियमित अनुगमन नहुँदा आफूहरू मारमा परेको उपभोक्ताले गुनासो गरेका छन् । बजार अनुगमन नै हुँदैन तानसेनका प्रेम अधिकारीले गुनासो गर्दै भन्नुभयो, ‘ नियमित अनुगमन नहुँदा बजारमा व्यापारीको मनपरि चलेको छ ।’ बजार नियमित अनुगमन नहुँदा व्यापारीले म्याद गुज्रेका सामानसमेत बिक्री वितरण गर्ने गरेको उहाँले बतानुभयो । व्यापारीले मिसावट गर्ने, ठगी गर्ने गरेको उपभोक्ताले बताएका छन् । संघीयता कार्यान्वयन भएपछि जनताको घरदैलोमा आएको स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायले नियमित रूपमा बजार अनुगमन नगर्दा उपभोक्ता ठगिने गरेको उनीहरुको गुनासो छ ।

लामो समयपछि तानसेन बजारका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा समेत व्यापारीहरुले उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको पाइएको हो । उनीहरुले म्याद गुज्रीएका, वस्तु विक्री गर्ने गरेको, मूल्य सूची नै नराखी मनपरीमा मूल्य लिने गरेको, तराजु ठिक नभएको, दर्ता भएका पसलहरु पनि लामो समयसम्म नविकरण नभएका, सर्वसाधरण हिड्ने सडकपेटीमा सर–समान राखी व्यापार गरेको, गुणस्तरहीन वस्तुहरु विक्रि गर्ने गरेको भेटिएको छ । यस्तै खाद्य सामग्रीमा वजन कम भएको, पसलहरु दर्ता नभएको, पिय पदार्थ लगायतका सरसमानको एक वर्ष अगाडि नै उपभोग्य मिति सकिएका सरसमान खुलेआम विक्रि भईरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले मनपरी गर्ने सात किराना तथा गल्ला पसलहरुलाई जरिवाना समेत गरेको छ । उनीहरुलाई पहिलो पटक ५ हजारका दरले जरिवाना गरिको अनुगमनमा पुगेकी जिल्ला प्रशासन कार्यालय पाल्पाकी साहयक प्रमुख अधिकारी भक्तिश्वर रानाले बताउनुभयो । उहाँले पहिलो चरणमा केहीलाई सामान्य जरिवाना गरिएको र अन्यलाई सुझाव सहित निर्देशन दिइएको बताउनुभयो । रानाका अनुसार सुझाव अटेर गरे अर्को पटक कडा कारवाही हुने छ । टोलीले तानसेनका मखनटोल, सिल्खानटोल, विशालबजार, टक्सार टोल लगायतका ९ वटा किराना खाद्य तथा गल्ला पसल, डिपार्टमेन्टल स्टोर गरी करीव एकदर्जन पसलहरुको अनुगमन गरेको थियो । अनुगमनमा तानसेन नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मौसमी रूपमा मात्रै गरिने अनुगमनले उपभोक्ताले गुणस्तर र सुपथ मूल्यमा सामग्री नपाउने स्थानीय दीपक अधिकारी बताउँनुहुन्छ । नियमित अनुगमन नहुँदा बजारमा म्याद नाघेका खाद्य वस्तु बिक्री भइरहेको उहाँको भनाइ छ । किराना पसलमा मूल्यसूची नराखी उपभोक्तालाई ठग्ने काम भइरहेको भन्दै उहाँले सबै पसलमा समान मूल्य कायम गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । अनुगमन गर्ने निकायले भने आफुहरुले बेला बेलामा अनुगमन गरेको दाबी गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?