हवाई डढेलोमा ११५ जनाको मृत्यु, ८५० बेपत्ता

Read Time = 2 mins

माउई । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलँदा त्यसमा परेर ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ । माउ काउन्टीले मंगलबार जारी गरेको पछिल्लो विवरणानुसार ८५० जना अझै हराइरहेका छन् । खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ ।

आगोको चपेटामा परेका सबै एकतले आवासीय भवनमा खोजी जारी छ । अबको खोजी बहुतले आवासीय र व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताउनुभएको छ । राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले लहाइनाको अग्निप्रभावित क्षेत्रको भ्रमण गरेर पीडितलाई सान्त्वना दिनुभएको छ ।

राष्ट्रपतिले आगोले सखाप पारेका स्थानको पुनर्निर्माणमा संघीय सरकारबाट सबै सहायता उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अग्निपीडित समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी यी पवित्रस्थल र यहाँको परम्पराको सम्मान गर्छौँ र माउईका जनताले निर्माण गर्न चाहेनुरूप पुनर्निर्माण गर्नेछौं ।’

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर निम्तने वन डढेलो टापुराज्य हवाईका लागि अभिशाप बनेको छ । दशकौंपछिको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा यहाँ ६१ जनाको मृत्यु भएको थियो । त्यसको १४ वर्षअघिको सुनामीमा १६० जनाले ज्यान गुमाएका थिए । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?