पेशी सरेसँगै सन्दीप एसिया कप खेल्न जाने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान जानुहुने भएको छ । आइतबारका लागि तय भएको उहाँको सुनुवाइ स्थगित भएपछि उहाँको पाकिस्तान यात्रा तय भएको हो । उहाँ सोमबार पाकिस्तान प्रस्थान गर्नुहुनेछ । आइतबार हेर्न नभ्याइने भएपछि अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ ।

एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते खेल्दैछ । सन्दीपले अर्को पेशीमा उपस्थित हुनुपर्ने भएकाले भारत र पाकिस्तानविरुद्धको खेल खेल्न पाउनुहुनेछ । आइतबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५औँ नम्बरमा भएको मुद्दा हेर्न नभ्याइने भनी आदेश दिएको थियो ।

एसिया कपका लागि नेपाली टोली यसअघि नै पाकिस्तान पुगिसकेको छ । एसिया कपको समूह ‘ए’मा नेपाल, पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । नेपाली टोली बुधबार पाकिस्तान पुगेको थियो ।

पाकिस्तान हाल विश्वको नम्बर वान ओडिआई राष्ट्र हो । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक कुनै पनि वरीयता शीर्ष टोलीसँग खेल्न लागेको हो । पाकिस्तानले शनिबार अफगानिस्तानलाई तेस्रो ओडिआई खेलमा ५९ रनले हराउँदै तीन खेलको सिरिज क्लिनस्विप गर्दै शीर्षस्थानमा उक्लिएको थियो । नेपालले भदौ १८ मा भारतसँग खेल्नेछ । भारत विश्व ओडिआई वरीयतामा तेस्रो स्थानमा छ । नेपाल आइसिसीको ओडिआई विश्व वरीयतामा १५औँ स्थानमा छ ।

यसअघि नेपालले वरीयताको हिसाबमा सबैभन्दा ठूलो टोली वेष्टइण्डिजसँग दुई महिनाअघि जिम्बाबेमा खेलेको थियो । आइसिसी विश्व ओडिआई वरीयतामा त्यस समय वेष्टइण्डिज १०औँ र नेपाल १४औँ स्थानमा थिए । ११औँ स्थानमा रहेको जिम्बाबेसँग पनि खेलेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?