समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 8 mins

लुम्बिनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा गठनले मुलुकमा नयाँ संवाद सुरु भएको बताउनुभएको छ । उहाँले परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा बनेको पनि बताउनुभयो ।

समाजवादी मोर्चाले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मोर्चा गठनको अवस्थामा आउँदा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको बताउनुभयो । “मोर्चाभन्दा बाहिर रहेका शक्तिले जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्टाउन खोज्दैछन्”, उहाँले भन्नुभयो, “प्रतिक्रियावादी जातीय द्वन्द्व भड्काउने, जनताले लडेर ल्याएको व्यवस्थालाई भड्काएर बदनाम, अपमानित गर्ने, लडाउने प्रयत्न गर्दैछन् ।”

उहाँले जनयुद्धको नेतृत्व, जनताको बहुदलीय जनवादको नेतृत्व र मधेसमा आन्दोलनको लहर चलाएका शक्ति समाजवादी मोर्चामा एकीकृत भएर नयाँ क्रान्तिको तयारीमा रहेकोसमेत बताउनुभयो । प्रधानमन्त्री दाहालले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको संयोजन समाजवादी मोर्चा भएको बताउनुभयो । “मोर्चामा आबद्ध दलहरुका साझा अनुभव साझा सम्पत्ति हुन”, उहाँले भन्नुभयो, “तिनलाई एकीकृत गर्नुपर्छ, यस्ता विषयलाई गम्भीरता साथ आत्मसात् गर्न अनुरोध गर्दछु ।”

सरकारले सुशासनका पक्षमा काम गर्दा जनतामा केही हुन्छ कि भन्ने उत्साह बढेको छ बताउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागेको र मित्रराष्ट्रसँग पनि गहनरूपले छलफल भइरहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘एमसीसी’मार्फत राखेका अनुचित स्वार्थ पूरा गर्न नसकिने बताउनुभयो । उहाँले एमसीसीमा केही त्यस्ता अनुचित स्वार्थका विषय र सर्त भए नेपाली जनतालाई स्पष्ट पार्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभयो ।

उहाँले नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन नसक्ने बताउँदै संसद्मा १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसीसीको अङ्ग घोषणा गरेर पास गरिएको स्पष्ट पार्नुभयो । “नेपालको भूमिमा नेपालको अधिकार छ । अरुको अधिकार स्वीकार्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “नेपालको कानुनभन्दा अरुको कानुनमाथि हुनुहुँदैन, सत्ता जोगाउन कसैसँग अनुचित सहमति गरिनुहुँदैन ।”

नेकपा एस गठबन्धनलाई बलियो बनाउँदै अध्यक्ष नेपालले संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्नसमेत आग्रह गर्नुभयो । केन्द्रसँगै प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा अध्यक्ष नेपालको जोड थियो । “हामी जहाँ छौँ, त्यहिबाट जनताको पीडा र बेदनालाई सरकार, सदन र सडकबाट उठाउनुपर्छ”, उहाँले भन्नुभयो ।

नेकपा महासचिव नेत्रविक्रम (विप्लव) ले विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको आवश्यकताले मोर्चा गठन भएको स्पष्ट पर्नुभयो । उहाँले समाजवादी मोर्चा कुनै व्यक्तिगत चाहनाबाट नभएर वर्तमानको आवश्यकताले गठन भएको बताउनुभयो । “राजनीतिक उपलब्धि धेरै भए, पुँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा चाहेका उपलब्धि भएनन्”, उहाँले भन्नुभयो, “अब एक्लै हिँडेर त्यो उपलब्धि हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो ।”

महासचिव विप्लवले देशलाई साम्राज्यवादको चङ्गुलबाट मुक्त गराउन मोर्चा गठन भएको बताउँदै भन्नुभयो, “हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो ।”

उहाँले एमसीसी परियोजना कार्यान्वयनमा नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न नदिने बताउनुभयो । “नेपाललाई निःस्वार्थ सहयोग गर्न चाहने कसैको पनि हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिँदैन”, उहाँले भन्नुभयो, “समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।”

जनता समाजवादीका केन्द्रीय कार्यकारी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवले वर्तमान सरकारलाई नेपाली जनताले आशा र विश्वासका साथ हेरेको बताउँदै जनताको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले देशको गरिबी, अशिक्षा, बेरोजगारीजस्ता तमामखाले समस्याको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा सरकार अघि बढे जनतालाई वास्तविक न्याय मिल्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा ९एस०का नेता प्रवेश हमालले १५ सदस्यीय लुम्बिनी प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा गर्नुभएको थियो । मोर्चामा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, नेकपा (एस) कातर्फबाट सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र निर्मल सुवेदी, जनता समाजवादीबाट नवीनकुमार सुरुवात, मनिकर कार्की र अशोक यादव र नेपाल कम्युनिष्ट पार्टीबाट वसन्त श्रेष्ठ, नारायण सि र सम्झाना सि रहनुभएको छ ।

रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?